रोल्पा, कात्तिक १९ गते । तिहार नजिकिँदै गर्दा देउसीभैलोमा प्रयोग हुने मादलको माग बढेपछि रोल्पाका मादल व्यवसायीलाई नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइ नभ्याइ भएको छ । सुनील स्मृति गाउँपालिका–१, घोडागाउँका किसन सुनार र हरि सुनार यतिबेला बिहानदेखि साँझ अबेरसम्म मादल बनाउने र मर्मत गर्ने काममा व्यस्त हुनुहुन्छ । सुनील स्मृति गाउँपालिका–२, खुङ्ग्री चतुर्भुजमा ‘माण्डवी आरत तथा मादल उद्योग’ सञ्चालन गर्दै आएका दाजुभाइलाई चाडपर्वको मौसम सुरु भएसँगै कामको चाप बढेको हो ।
अन्य समयमा सुनसान जस्तै रहने उहाँहरूको पसलमा अहिले मादल मर्मत र खरिद गर्न आउने ग्राहकको चहलपहल बढेको छ । रोल्पा, प्युठान र दाङलगायतका जिल्लाबाट देउसीभैलो खेल्न मादल आवश्यक पर्नेहरू मर्मतका लागि आउने गरेका छन् । उहाँहरूले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा मादल बनाउने र मर्मत गर्ने काम गर्दै आउनुभएको छ । किसन सुनारका अनुसार दसैँतिहारको समयमा मादल बनाउने तथा मर्मत गर्ने कामको माग बढी हुने गरेको छ । एउटा मादलको मूल्य १० हजारदेखि ४० हजार रुपियाँसम्म पर्ने गर्छ । माग र अर्डर अनुसार बढी मूल्यका मादलसमेत तयार गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )