कान्तिपुर मिडिया ग्रुपले शुक्रबार होटल रोयल ट्युलिप काठमाडौंमा ‘म्याक्स स्पोर्ट्स समिट २०२६’ आयोजना गर्ने भएको छ ।
काठमाडौँ — रोयल ट्युलिप काठमाडौंमा हुने कार्यक्रममा डेविड वार्नरका साथै स्वदेशी तथा विदेशी खेलाडी सहभागी हुने
कान्तिपुर मिडिया ग्रुपले शुक्रबार होटल रोयल ट्युलिप काठमाडौंमा ‘म्याक्स स्पोर्ट्स समिट २०२६’ आयोजना गर्ने भएको छ । कार्यक्रममा खेलकुद क्षेत्रका नीति निर्माता, प्रशासक, खेलाडी, फ्रेन्चाइज सञ्चालक, लगानीकर्ता र यस उद्योगसँग आबद्ध व्यक्तिबीच नेपाली खेलकुदको भविष्यबारे छलफल हुनेछ । समिटमा विश्वप्रसिद्ध अस्ट्रेलियन खेलाडी डेविड वार्नरका साथै अन्य थुप्रै स्वदेशी तथा विदेशी खेलाडी सहभागी हुँदै छन् ।
एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक रहेको कार्यक्रममा टीसीएम स्पोर्टस् मार्केटिङ प्रालिको सहकार्य छ । कार्यक्रमको एजुकेसन पार्टनरमा नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी र स्टडी अब्रोड पार्टनरमा वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सी तथा स्काइलाइन हायर एजुकेसन अस्ट्रेलिया जोडिएका छन् ।
यो समिटले नेपालको खेलकुद क्षेत्रको बढ्दो महत्त्वलाई उजागर गर्ने लक्ष्य राखेको छ । संस्थागत सुशासन, पूर्वाधार विकास, खेलाडीहरूको हित, निजी क्षेत्रको लगानी र व्यावसायिक लिगको विस्तारजस्ता विषयमा कार्यक्रममा छलफल हुनेछ ।
कार्यक्रममा तीन वटा विषयगत प्यानल छलफल रहनेछन् । पहिलो सत्र नेपाली खेलकुदको आर्थिक भविष्यको आधारमा नेपालीको खेलप्रतिको जोस र लगावलाई दिगो अर्थतन्त्रमा रूपान्तरण गर्न सक्ने लगानी, प्रायोजन, प्रसारण र व्यावसायिक सम्झौताबारे चर्चा हुनेछ । यसमा टीसीएमका सञ्चालक तथा प्रबन्ध निर्देशक लोकेश शर्मा, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, एफसी चितवनका सञ्चालक सचिन ढकाल, गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र विराटनगर किंग्सका सञ्चालक पारस लुनियाको सहभागिता रहनेछ । सञ्चारकर्मी सोमेश बर्माले यो सत्र सञ्चालन गर्नेछन् ।
दोस्रो सत्र ‘कर्नरस्टोन अफ द गेम’ अर्थात् खेलको आधारशिला नामक सत्रमा खेलाडीले तालिम, प्रशिक्षण, मानसिक स्वास्थ्य, आर्थिक दबाब र आफूलाई आवश्यक पर्ने सहयोगबारे अनुभव राख्नेछन् । यसमा राष्ट्रिय खेलाडीहरू क्रिकेटका करण केसी, कबड्डीकी मानमती बिष्ट, भलिबलकी निरुता ठगुन्ना र फुटबलका विक्रम लामा सहभागी हुनेछन् । कान्तिपुर म्याक्स वनका अभिनव जोशीले सत्र सञ्चालन गर्नेछन् ।
खेलकुद सुशासनको खाका नामक तेस्रो सत्रमा खेलकुद क्षेत्रका विभिन्न प्रतिष्ठित व्यक्तिले नीति, जवाफदेहिता, पूर्वाधार र व्यवहारमा असल सुशासन कस्तो हुन्छ भन्नेबारे छलफल गर्नेछन् । यसमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य मोनालिसा खम्बू, मलेसिया क्रिकेटका प्रमुख सञ्चालन अधिकृत विनोद दास, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले विचार राख्नेछन् । कान्तिपुर टेलिभिजनका खेलपत्रकार विनयज्योति सापकोटाले यो सत्र सञ्चालन गर्नेछन् ।
समिटमा ‘वार्नर : द बुल’ शीर्षकमा अस्ट्रेलियाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा हाल काठमाडौं गोर्खाज्का लागि खेलिरहेका डेविड वार्नरसँगको विशेष कुराकानी पनि रहनेछ । कान्तिपुर मिडिया ग्रुपका सम्पादकीय निर्देशक अनुप काफ्लेसँगको कुराकानीमा वार्नरले आफ्नो क्रिकेट यात्रा, फ्रेन्चाइज क्रिकेट र नेपालमा खेलको भविष्यबारे बोल्नेछन् ।