सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार दुवै मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।
काठमाडौं — सर्वोच्च अदालतले 'फिक्सर' दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी मुद्दाका फाइल झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नित्यानन्द पाण्डेय को संयुक्त इजलासले बुधबार दुवै मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको हो ।
सर्वोच्चको आदेशअनुसार नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको सुरु प्रमाण मिसिल विशेष अदालत काठमाडौंसँग माग गरिएको छ । त्यस्तै, बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन आदेश दिइएको छ ।
आदेशमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको मिसिल विशेष अदालतबाट र बैंकिङ कसुरसम्बन्धी मुद्दाको मिसिल उच्च अदालत पाटनबाट झिकाई इजलाससमक्ष पेस गर्न भनिएको छ । यसैगरी, सर्वोच्च अदालतमा विचाराधीन अन्य २ निवेदनसँग सम्बन्धित आदेश बदरको मागसमेत मिसिलमा संलग्न गरी हेर्न आदेश दिइएको छ ।
सर्वोच्च अदालतको यो आदेशसँगै दीपक भट्ट प्रतिवादी रहेका दुवै मुद्दाका न्यायिक प्रक्रिया र तल्ला अदालतका निर्णय तथा प्रमाणको अध्ययन गर्ने बाटो खुलेको छ ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।