Trending
Prev Story
Next Story

छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना

Nagarik News •
November 04, 2026 • 07:39 AM
1
1 reads 0 reactions

गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो छ।

छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित मनकामना मन्दिर नजिकै स्थानीय पर्यटन व्यसायी रामशरण थापाले किराना पसल तथा खाने बस्ने सुविधासहितको होटल चलाउँदै छन्।

हेटौँडाको व्यस्त बजारबाट करिब छ किलोमिटर उत्तरपूर्वमा अवस्थित मनकामना मन्दिर र आसपासको रमणीय परिवेशका कारण पछिल्ला समयमा यहाँको होटेल व्यवसाय फस्टाउँदै गएको छ।

हेटौँडाको बजारको व्यस्तता छल्दै केही समय भए पनि प्रकृतिमा रमाउन सकिने धार्मिक गन्तव्यका रूपमा मनकामना मन्दिरले विशेष आन्तरिक पर्यटकहरू आकर्षित गरिरहेको यहाँका पर्यटन व्यवसायी बताउँछन्।

धार्मिक महत्त्वको मनकामना मन्दिरसँगै यहाँबाट देखिने हेटौँडासहितको दृश्यावलोकनले यो स्थान पछिल्ला वर्षमा राम्रै पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको थापाले बताए।

बजारको धुलोधुवाँबाट मुक्त हुँदै स्वच्छ हावा र वातावरणसँग रमाउँदै छोटो दूरीको हाइकिङका लागि मनकामना क्षेत्र महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास भइरहेको हिमालयन राइडर्स सोसाइटी, हेटौंडाका अध्यक्ष राजु थापामगरले बताए।

“हेटौँडाबाट छोटो दूरीको हाइकिङका लागि मनकामना क्षेत्र यहाँको उपयुक्त गन्तव्य हो”, उनले भने, “हेटौँडाको सानोपोखरा, पिप्लेकुनास्थित रुद्रेश्वर मन्दिरका साथै मक्रान्चुलीबाट समेत मनकामना जाने छुट्टाछुट्टै हाइकिङ मार्गहरू छन्।”

मनकामना मन्दिरले धार्मिक आस्था एवम् पदयात्रा पर्यटनलाई एकआपसमा जोडिरहेको बताउँदै उनले विशेष विदाको दिन तथा बिहान र बेलुका यस क्षेत्रमा हाइकिङ गर्नेहरूको आकर्षण बढिरहेको उनले बताए।

गोरखाको मनकामना मन्दिरको झल्को दिने किसिमको धार्मिक महत्त्वको मनकामना मन्दिरसँगै मन्दिरमा जाने मार्गको मुख्य चोकमा बनाइएको ठेकी पार्क, रमणीय वातावरण आदि यहाँको विशिष्टता रहेको स्थानीयवासी बताउँछन्।

पर्यटकको आगमन लक्षित गरी पछिल्ला समयमा यस क्षेत्रमा पाँच होटेलसँगै चिया तथा खाजा पसलहरू थपिने क्रममा रहेको पर्यटन व्यवसायी थापाले बताए।

मन्दिरका पुजारी कृष्णबहादुर राना मगरका अनुसार यहाँको मन्दिर २०१५ सालमा गोरखाको मनकामना मन्दिरबाट शिला ल्याएर स्थापना गरिएको हो। गोरखाको मनकामना मन्दिरमा जस्तै यहाँ पनि हरेक दिन श्रद्धा भक्तिपूर्वक पूजाआजा गर्ने प्रचलन रहेको उनले बताए।

उनका अनुसार प्रत्येक दिन बिहान ५ बजे खुल्ने मन्दिर बिहानको पूजापछि केही समय बन्द गर्ने गरिन्छ भने दिउँसो पुनः १ बजे खुल्ने गर्दछ। बेलुका ६ बजेसम्म खुल्ने यस मन्दिरमा विशेष गरी शनिबार र अन्य महत्त्वपूर्ण तिथिमिति र पर्वमा दर्शनार्थीहरूको भीड लाग्ने गरेको पुजारी मगरले बताए।

गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो छ। स्थानीयवासीका अनुसार सुरुमा काठको मन्दिर रहेकामा २०३७/ ३८ सालतिर यहाँका गाउँलेले नजिकैको मक्रानचुली गएर इँटा बोकर ल्याई निर्माण गरिएको हो।

मनले चिताएको पुग्ने विश्वासका साथ हेटौँडा र आसपासका क्षेत्रबाट यहाँ दर्शनार्थी आउने गरेको पुजारी मगरको भनाइ छ। क्षेत्रमा हेटौँडा बजारको बुद्धचोकबाट मोटरसाइकल, गाडी वा अन्य स्थानीय यातायातका साधन प्रयोग गरेर सजिलै आउन सकिन्छ।

यसअघि २०७६ सालमा मकवानपुरका ३० पर्यटकीय गन्तव्य पहिचान गरिएको थियो। जिल्लाका १० पालिकाका तीनतीन पर्यटकीयस्थल पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएकामा मकवानपुरगढी गाउँपालिकाका ऐतिहासिक महत्त्व बोकेका मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा समेटिएको थियो।

यहाँको पर्यटकीय सम्भावना उपयोग गर्न पछिल्लो समयमा यहाँका स्थानीय तहसँगै प्रदेश सरकारले पनि चासो देखाएका छन्। मन्दिरको संरक्षणका लागि बागमती प्रदेश सरकारसँगै मकवानपुरगढी गाउँपालिका, वडा कार्यालयले समयसमयमा बजेट विनियोजन गरी पूर्वाधारि विकासमा योगदान पुर्‍याउँदै आएका छन्। यहाँ नजिकै रहेको मकवानपुरगढी रुद्रबाटिका पार्कलाई व्यवस्थित गर्दै पर्यटकको बसाइ लम्ब्याउने प्रयास पनि गरिएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १३:२४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना

छोटो दूरीको पदयात्रासँग जोड्दै हेटौँडाको मनकामना

बागमती – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ४ स्थित मनकामना मन्दिर नजिकै स्थानीय पर्यटन व्यसायी रामशरण थापाले किराना पसल तथा खाने बस्ने सुुविधासहितको होटल सञ्चालन गरिरहेका छन्।

#मनकामना #छोटो #दूरी
Compare →
Onlinekhabar
14h ago
च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

च्यासलदेखि स्वयम्भूसम्म : ओझेलमा परेको किरात राजाको मूर्ति

काठमाडौँ उपत्यकामा मध्यकालको सभ्यता भव्य मन्दिर, कलात्मक टुँडाल र लालदरबारहरूमा स्पष्ट देखिन्छ। यहाँ त्योभन्दा अघिका लिच्छविकालीन मन्दिरहरू (चाँगुनारायण, पशुपति आदि) पनि छन्। इतिहासअनुसार, लिच्छविभन्दा अघि यहाँ किरातको शासन थियो। तर, उनीहरूद्वारा तयार गरिएका कुनै शिलालेख, …

#मन्दिर #यहाँ
Compare →
Arthasansar
5h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#हेटौँडा
Compare →

Related Stories

Science & Climate
Build #2611