Trending
Prev Story
Next Story

५ प्रश्नोत्तरमा इनम सापकोटा : प्रधानमन्त्री सचिवालयदेखि सर्वोच्चसम्म पुगेको 'पहुँच'

Ekantipur •
November 04, 2026 • 06:32 AM
1
1 reads 0 reactions

इनम प्रकरणलाई कसरी बुझ्ने? उनको पक्राउपछि सार्वजनिक भएका विवरणहरूले कस्ता बहस निम्त्याएका छन्?

५ प्रश्नोत्तरमा इनम सापकोटा : प्रधानमन्त्री सचिवालयदेखि सर्वोच्चसम्म पुगेको 'पहुँच'

इनम प्रकरणलाई कसरी बुझ्ने? उनको पक्राउपछि सार्वजनिक भएका विवरणहरूले कस्ता बहस निम्त्याएका छन्?

तुफान न्यौपाने , मातृका दाहाल , गौरव पोखरेल

काठमाडौँ — इनम सापकोटा पक्राउपछि न्यायिक वृत्त मात्रै तरङ्गित छैन। उनको पहुँच र सम्पर्कको लहरोबारे सार्वजनिक विवरणहरूले सुरक्षा निकायदेखि सत्तासीन र प्रतिपक्षी दलहरूसम्म शंकाको घेरामा तानिएका छन्। इनम प्रकरणलाई कसरी बुझ्ने? उनको पक्राउपछि सार्वजनिक भएका विवरणहरूले कस्ता बहस निम्त्याएका छन्? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ।

१. इनम सापकोटा को हुन् र उनको पक्राउले कस्ता विवादहरु सुरु गरेको छ ?

सार्वजनिक वृत्तमा खासै परिचित नरहेका ३१ वर्षीय सापकोटा औपचारिक सरकारी पदमा थिएनन्। तैपनि प्रधानमन्त्रीको सचिवालय, प्रहरी नेतृत्व, सशस्त्र प्रहरीका उच्च अधिकारी र सर्वोच्च अदालतका न्यायाधीशसँग उनको सम्पर्क देखिएपछि राज्यका शक्तिशाली संस्थाहरू एकैपटक विवादमा तानिए। यी सम्बन्ध उनले केका लागि प्रयोग गर्थे, उनी स्वतन्त्र रूपमा काम गर्थे कि अरू कसैका लागि बिचौलिया थिए भन्ने प्रश्न उठेका छन्। यसले महाभियोगको सम्भावनालाई राजनीतिक बहसमा ल्याएको छ र सत्तारूढ रास्वपालाई पनि अप्ठ्यारोमा पारेको छ।

२. प्रकरण कहाँबाट सुरु भयो र सापकोटा कसरी पक्राउ परे?

यसको जरो ११ असोजको मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट टेकुस्थित प्रहरी कार्यालय लगिएको घटनासँग जोडिन्छ। प्रहरीले उनलाई सुरक्षाका कारण ल्याइएको र पक्राउ नगरिएको दाबी गरेको थियो, अनि अर्को दिन छाडिएको थियो। जबराको ह्वाट्सएप हेर्दा सापकोटासँग नियमित सम्पर्क भेटिएको थियो। १४ असोजमा दिल्ली जान लाग्दा सापकोटा त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइए। अध्यागमन अभिलेखअनुसार पक्राउ पर्नुअघिका ५३ दिनमा उनले चारपटक विदेश यात्रा गरेका थिए। पछि अनुसन्धान विदेशी विनिमय, बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्म विस्तार गरियो।

३. प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि कस्ता प्रश्न उठेका छन्?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले सापकोटाले प्रधानमन्त्रीको नाम दुरुपयोग गरेको बताएका छन्। सापकोटाको गिरफ्तारीको केही दिनपछि कान्तिपुरसँगको कुराकानीमा प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) ले सापकोटाले प्रधानमन्त्रीको नाम प्रयोग गरेर विभिन्न काम र कारोबार अघि बढाउने गरेको आफूहरूले थाहा पाएको बताएका थिए । ‘प्रधानमन्त्री र सचिवालयको नाम दुरुपयोग गरिरहेको थाहा पाएपछि मैले उसलाई मलाई चिन्छौ भनेर सोधेको थिएँ,’ बेनले भनेका थिए, ‘हामी एउटै स्कुल लिटिल एन्जल्समा पढेको बताएर ऊ नजिकिन खोजेको थियो ।’

प्रश्न यतिमै मात्र छैन् । विमानस्थलबाट नियन्त्रणमा  लिएपछि सापकोटाको मोबाइल फोन कसको पहुँचमा पुग्यो भन्ने पनि छ ।  उच्च स्रोतका अनुसार १४ असोजको साँझ त्यो फोन सचिवालय निकटका व्यक्तिहरूले लिएर १६ असोज बिहान मात्र प्रहरीलाई बुझाएका थिए। यस अवधिमा फोनमा कसको पहुँच थियो भन्ने प्रहरीले स्पष्ट पारेको छैन।

४. सुरक्षा निकायसँग उनको सम्पर्क कस्तो देखियो?

अनुसन्धानकर्ताले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सँगको सन्देश फेला पारेका छन्। उच्च स्रोतका अनुसार सापकोटाले प्रधानमन्त्री र सल्लाहकारसँगको सम्बन्ध प्रयोग गरी एक वर्ष पदावधि थपिदिने आश्वासन दिएका थिए। दाहालले प्रधानमन्त्रीको आवागमनबारे सापकोटालाई जानकारी पठाएको सन्देश पनि भेटिएको छ। त्यसपछि संवेदनशील सूचना चुहाएको र पदीय दायित्व उल्लङ्घन गरेको आधारमा उनलाई पदमुक्त गरियो। प्रहरी अधिकारीलाई बढुवा, सरुवा गराइदिने प्रस्ताव गर्ने र ठेक्का तथा खरिद प्रक्रियामा पनि चासो देखाउने गरेको अनुसन्धानकर्ताले बताएका छन्। एक प्रहरी अधिकारीले उनलाई अमेरिकी दूतावासमा काम गर्ने व्यक्ति ठानेका थिए, तर दूतावासले त्यस्तो व्यक्ति कार्यरत नरहेको स्पष्ट पार्‍यो।

५. न्यायपालिकासँगको सम्बन्ध र अब के हुँदै छ?

न्यायाधीश हरिप्रसाद फुयाँलका अनुसार महाभियोगको चर्चा चलिरहेका बेला सापकोटाले आफूलाई प्रधानमन्त्री निकट बताउँदै महाभियोगको खतरा नरहने आश्वासन दिएका थिए। १७ भदौमा उनले रोहित गुप्ताको मुद्दा खारेज गर्न प्रधानमन्त्रीको चासो रहेको सन्देश पठाएका थिए। तर फुयाँलले साँझ मात्र सन्देश हेरेको र त्यसअघि नै इजलासले गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइसकेको बताएका छन्। उनले आफ्नो आर्थिक कारोबार नभएको र न्यायिक प्रक्रियामा प्रभाव पार्ने सहमति नगरेको दाबी गरेका छन्। प्रधानन्यायाधीश मनोजकुमार शर्माले भने सापकोटासँग कुनै सम्पर्कै नरहेको बताएका छन्। रिपोर्टअनुसार सन्देशहरूले सम्पर्क पुष्टि गर्छन्, तर निर्णयमा प्रभाव परेको प्रमाणित गर्दैनन्। सर्वोच्चको पूर्ण बैठकले संविधान र कानुनअनुसार अनुसन्धान हुनुपर्ने निर्णय गरेको छ भने रास्वपाभित्र महाभियोगबारे मतभेद कायमै छ। अदालतको विश्वसनीयता र न्यायाधीशलाई जवाफदेही बनाउने संवैधानिक प्रक्रिया दाउमा परेको छ।

यस सामाग्रीसँग सम्बन्धित अन्य रिपोर्टिङहरु पढनुहोस :

कसरी लिए इनम सापकोटाले राज्यसत्ताको परीक्षा ?

न्यायाधीशदेखि थुनुवासम्म ‘नेक्सस’ मिलाउने ईनम सापकोटा को हुन् ? के–के गरे ?

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

#इनम #सापकोटा
Compare →
Hamro Patro News
6d ago
‘१८ करोड दिएर पार्टी किनिदिएको हो र ?’ इनम सापकोटाको अडियोबारे देउवाको प्रतिक्रिया

‘१८ करोड दिएर पार्टी किनिदिएको हो र ?’ इनम सापकोटाको अडियोबारे देउवाको प्रतिक्रिया

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा सार्वजनिक भएको दाबीप्रति प्रतिक्रिया जनाएका छन्। उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवा...

#इनम #सापकोटा
Compare →
Onlinekhabar
1w ago
काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

२० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो केही दिनअघि बाहिरियो । प्रहरीको हिरासतमा रहेका व्यक्तिमाथि अनुसन्धान चलिरहेकै अवस्थामा अडियो सार्वजनिक हुनुले प्रहरीको अनुसन्धानमा यसले गम्भीर प्रश्न उठाएको …

#इनम #सापकोटा
Compare →

Related Stories

Politics & Governance
Build #2611