जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर लिपपोत गर्नका लागि रातो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा चार महिला घाइते भएका छन्।
जाजरकोट — जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर लिपपोत गर्नका लागि रातो माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा चार महिला घाइते भएका छन्।
बुधबार बिहान करिब ७ बजेर ५ मिनेटमा माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार महिला घाइते भएका हुन्।
घाइते हुनेमा ३० वर्षीया नविना वली, ३० वर्षीया रमिता सार्की, १७ वर्षीया पूजा सार्की र १६ वर्षीया हिमाली सार्की रहेका छन्।
ढिस्को खस्दा नविना वलीको दायाँ हात, दायाँ खुट्टा र कम्मरमा चोट लागेको छ। रमिता सार्कीको दायाँ खुट्टामा, पूजा सार्कीको बायाँ खुट्टा र कम्मरमा तथा हिमाली सार्कीको कम्मर र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। चारै जनाको अवस्था मध्यम रहेको छ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा सात जना प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरूको तत्काल उद्धार गरेको थियो।
घाइते चारै जनालाई उपचारका लागि नलगाड नगर अस्पताल दल्लीमा पुर्याइएको छ। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।