भरतपुरको फुर्तिचोकमा कारको ठक्करबाट घाइते भएकी महिलालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चितवन — विद्युतीय कारको ठक्करले शुक्रबार बिहान भरतपुरमा एक पैदलयात्रुको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवका अनुसार शुक्रबार बिहान ९ बजे भरतपुर महानगरपालिका-१६ फुर्तिचोकमा बा प्र ०१-०३४ च ९२२१ नम्बरको कारले पैदल यात्रुहरूलाई ठक्कर दिएको हो ।
ठक्करका कारण गम्भीर घाइते भरतपुर-१५ की ३० वर्षीय पार्वती भुजेलको उपचारका क्रममा भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको डीएसपी यादवले जानकारी दिए । अन्य दुईजना घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना गराउने कार फुर्तिचोकबाट नवीन चोक जाँदै थियो । प्रहरीले कारका चालक फुर्तिचोक बस्ने ३३ वर्षका मनोज पौडेललाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी यादवले बताए ।
रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।