विद्यालयभित्र र बाहिर जीवनोपयोगी तथा अन्य सीपबारे पढ्ने/सुन्ने अवसर पाएका विद्यार्थीले त्यो सीप तिखार्ने उपयुक्त समय विद्यालयले दिने गरेका छोटा–लामा बिदा नै हो।
शिक्षण कर्ममा केही गर्ने हुटहुटीले मैले दुई दशकअघि पूर्वप्राथमिक विद्यालय स्थापना गरेर काम गर्दै आएकी छु । विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न र शनिबारे बिदालाई उत्पादनशील बनाउन एलकेजी तथा यूकेजीका विद्यार्थीलाई चित्रकथाका पुस्तक दिन थालेको धेरै भयो । यसपालि भने दसैं, तिहार र छठको एकमहिने बिदामा गृहकार्यस्वरूप विद्यार्थीलाई अभिभावकको रोहबरमा फूलकोपी, ब्रोकाउली र बन्दाकोपीको बिरुवा हुर्काउने जिम्मेवारी दियौं । चित्रकथाका पुस्तक पनि बाँड्यौं ।
यसअघि पनि वार्षिक परीक्षा सकिएपछि हुने पन्ध्रदिने बिदामा खुर्सानीको बिरुवा दिएका थियौं । कतिपय अभिभावकले हुर्किरहेका बिरुवा र फल लागेपछिको श्रव्यदृश्य सामग्री बेलाबेला सामाजिक सञ्जालमार्फत पठाउँछन् । घरमा लगिएका चित्रकथाका पुस्तक बालबालिकालाई पढ्न र पढाउन अभिभावकहरूले सहजीकरण गर्दै आएका छन् ।
बिरुवा रोप्ने र हुर्काउने कुराबाट विद्यार्थीमा नयाँ सीप अंकुराउँछ । विद्यार्थीलाई रुचि र उमेरअनुसारका पुस्तक नियमित रूपमा दिन सके लामा र छोटा बिदाको सदुपयोग हुने त छँदै छ, उनीहरूमा पठन संस्कृति पनि विकास हुन्छ । जसले उनीहरूको कल्पनाशीलता बढाउँछ, जिज्ञासु बनाएर नयाँ कुरा बुझ्न, खोज्न र सिक्न प्रेरित गर्छ ।
अधिकांश निजी विद्यालयका विद्यार्थीको समय र ऊर्जा कक्षाकार्य र गृहकार्यमै बित्ने गरेको छ । जसका कारण विद्यालयले दिने लामा र छोटा बिदामा नयाँ कुरा सिक्न र जान्न विद्यार्थीको ध्यान जाँदैन । यसबारे विद्यालयहरूले विद्यार्थीलाई खासै मार्गनिर्देशन गर्न सकेको देखिँदैन । अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई बिदाको सदुपयोग कसरी गराउने भन्नेबारे चासो र चिन्ता लिएको पाइँदैन । चाडबाडको लामो बिदामा अधिकांश बालबालिकाको समय आफन्तजन भेटघाट र पारिवारिक घुमघाममै बित्छ । त्यस क्रममा अचेत त डिजिटल स्क्रिन हेरेरै उनीहरूको बिदा सकिन्छ ।
यसपालि अधिकांश विद्यालयको वार्षिक कार्ययोजना बिथोलिए पनि लामा या छोटा बिदा दिइरहेकै छन् । अवश्य पनि बिदाको बेला विद्यार्थीलाई धेरै बोझ बोकाउनु हुँदैन । तर उनीहरूको बिदाको समय उत्पादनशील र फलदायी बनोस् भन्नेमा विद्यालय र अभिभावकले संयुक्त प्रयास गर्नुपर्छ । विद्यालयभित्र र बाहिर विभिन्न सीपबारे पढ्ने/सुन्ने अवसर पाएका विद्यार्थीले त्यो सीप तिखार्ने उपयुक्त समय विद्यालयले दिने गरेका छोटा–लामा बिदा नै हो ।
धेरैजसो अभिभावक विद्यालयले बालबालिकालाई छोटो या लामो बिदामा गृहकार्य दिनुपर्ने मान्यता राख्छन् । लेख्ने गृहकार्य दिएको छ भने मात्र विद्यार्थीले घरमा पढ्छन् भनेर उनीहरू सुनाउने गर्छन् । यसपालि एक अभिभावकले शिशु कक्षामा पढ्दै गरेका आफ्ना छोरालाई गृहकार्य दिन फोन नै गरेर भन्नुभयो । मैले उहाँलाई पाठ्यपुस्तकको गृहकार्यको बोझ मात्र बोकाउन नहुने भनी सम्झाउने प्रयास गरें । खासमा दशकौंदेखि विद्यालयहरूले विद्यार्थीलाई कक्षाकार्य र गृहकार्य मात्र दिने गरेकाले अभिभावकहरू छोराछोरीलाई बिदामा नयाँ के गराउने र सिकाउने भन्नेमा अलमलिएका हुन् ।
स्कुले जीवनमा विद्यार्थीले किताबी ज्ञानसँगै जीवनोपयोगी र अन्य सीप सिक्नु महत्त्वपूर्ण हुन्छ । यसले उनीहरूको चरित्र निर्माण गर्न सहयोग पुग्छ र भविष्यमा कुन संकाय लिएर उच्च शिक्षा हासिल गर्ने, जीविकोपार्जनका लागि कस्तो सीप सिक्ने भन्नेबारे निर्णय गर्न सक्षम बनाउँछ ।
सन् १९७० को दशकतिर भारतका कतिपय राज्यहरूमा कक्षा सातदेखि दससम्मका विद्यार्थीलाई सिर्जनशील बनाउन र उद्यमसम्बन्धी आधारभूत ज्ञान दिन विद्यालयले साताको तीन दिन पूर्वव्यावसायिक कक्षा चलाउँथ्यो । उक्त सिकाइका क्रममा विद्यार्थीले कागजको फूल, खाम, चक र मैनबत्ती बनाउँथे । खाम र चक विद्यालयमै खपत हुन्थ्यो भने किराना पसल हुने सहपाठीका अभिभावकहरूले फूल र मैनबत्ती किनेर सहयोग गर्थे । ऊबेला बिदाका दिनमा नजिकै घर भएका हामी केही विद्यार्थी मिलेर खाम र फूल बनाएर बेच्थ्यौं र पकेट खर्च जुटाउँथ्यौं ।
भारतीय स्कुलहरूले तिनताका सुरु गरेको यस्तो अभ्यासलाई भारतसहित अधिकांश विकसित मुलुकले निरन्तरता दिइरहेका छन् । हामीले पनि खासगरी किशोरावस्थाका विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन तथा रुचिअनुसारका अतिरिक्त क्रियाकलाप र परियोजना कार्य गराउन जरुरी छ । जसमा हाम्रो वर्तमान शिक्षा चुकेको देखिन्छ । वर्तमान शिक्षाले विद्यार्थीलाई जनशक्तिका रूपमा हुर्काउन र सिकाउन नसकेकाले पनि हाम्रा शिक्षालयहरू शिक्षित बेरोजगार जन्माउने थलो बनिरहेका छन् । हुन त केही समयअघि कतिपय सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु गरिएको समाचार आएको थियो । जसको प्रभावकारी र निरन्तर सञ्चालन आवश्यक छ ।
खासमा सानाभन्दा पनि किशोरावस्थाका विद्यार्थीलाई औपचारिक शिक्षासँगै बिदाको सदुपयोग कसरी गर्ने भन्नेबारे अतिरिक्त क्रियाकलापबारे अभिमुखीकरण कार्यक्रम अनिवार्य सञ्चालन गर्न जरुरी छ । अनि मात्र विद्यालयले दिने बिदा उपलब्धिमूलक बन्छ र विद्यार्थीले समयको महत्त्व बुझ्छन् । यसका लागि शिक्षकले मात्र होइन, घरमा अभिभावकहरूले पनि बालबालिकाको रुचि र उमेर अनुसारको जीवनोपयोगी र अन्य सीप सिकाउन अभिप्रेरित गर्नुपर्छ ।
मधु मधु राई शैक्षिक अभियन्ता हुन् । उनी शिक्षा, शैक्षिक वातावरण, सिकाई लगायतका समसामयिक विषयमा लेख्छिन् ।