‘गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन’ शीर्षक राखेर आइतबार भ्रामक भिडियो सामाजिक सञ्जालमा राखेका गोविन्द अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गोरखा — गृहमन्त्री सुधन गुरुङविरुद्ध भ्रम फैलाएको आरोपमा कास्की पोखराका ४१ वर्षीय गोविन्द अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा वाईसीएलसँग आबद्ध अधिकारीमाथि शनिबार र आइतबार गृहजिल्ला गोरखामा रहेका गृहमन्त्री गुरुङविरुद्ध भ्रम फैलाउने भिडियो सामाजिक सञ्जालमा राखेको आरोप छ ।
सोमबार कास्कीबाट पक्राउ परेका अधिकारीलाई गोरखा ल्याएर मंगलबार सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरी पाँच दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरेर जिल्लामा नभएको, नदेखिएको अवास्तविक भिडियो फुटेजमा विश्वास नगर्न आग्रह गरेको थियो ।
वाईसीएल कास्कीले प्रेस विज्ञप्ति निकालेर गृह मन्त्रालयको निर्देशनमा अधिकारी पक्राउ गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । सरकारको आलोचना गरेकै आधारमा राजनीतिक आस्थासँग जोडेर धरपकड गरिएकोमा विरोध जनाउँदै वाईसीएलले अधिकारीको निसर्त रिहाई गर्न माग गरेको छ ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।