लगानीकर्ताहरू अहिले होटेल तथा पर्यटन क्षेत्रमा समेत सक्रिय देखिन थालेका छन् । सोमबार सम्पूर्ण कारोबारमा मात्रै १.८९ प्रतिशत हिस्सा रहेको होटेल तथा पर्यटन क्षेत्रको यस्तो हिस्सा मंगलबार बढेको छ ।
काठमाडौं — बजार निश्चित अंकबीच रहेर उतारचढाव भइरहँदा (साइडवेज मुभमेन्टमा रहँदा) लगानीकर्ताहरू रणनीति फेरिरहेका छन् । बजारका कुनै एउटा समूह बढ्न छाडेमा अर्को समूहमा लगानी गर्ने परिपाटी मंगलबार पनि बजारमा देखियो ।
लगानीकर्ताहरू अहिले होटेल तथा पर्यटन क्षेत्रमा सक्रिय देखिन थालेका छन् । सोमबार सम्पूर्ण कारोबारमा मात्रै १.८९ प्रतिशत हिस्सा रहेको होटेल तथा पर्यटन क्षेत्रको यस्तो हिस्सा मंगलबार बढेको छ । सोमबार बजारमा कुल ७ अर्ब रूपैयाँको कारोबार हुँदा होटेल समूहमा १३ करोड रूपैयाँको कारोबार भएको थियो ।
मंगलबार कुल कारोबारमा यस्तो हिस्सा ४.७७ प्रतिशत पुगेको छ । मंगलबार सेयर बजारमा ५ अर्ब ६१ करोड रूपैयाँको सेयर किनबेच हुँदा होटेल समूहका कम्पनीहरूको २६ करोड रूपैयाँको सेयर कारोबार भएको छ । यसले होटेलतर्फ पनि लगानी क्रमशः सर्न थालेको संकेत गरिरहेको छ । ‘यही समूहमा उछाल आउने गरेर लगानीकर्ता सरे भन्न त मिल्दैन तर बजार सुस्त भएको समयमा अहिले यो समूहका कम्पनीमा पनि लगानी बढेको देखिन्छ,’ एक ब्रोकरले भने । बजारमा कहिलेकाहीँ पालैपालो एकपछि अर्को समूह वृद्धिमा देखिने पुरानै प्रवृत्ति रहेकोले पनि अहिले लगानीकर्ताहरूले यो समूहमा लगानी बढाएको हुनसक्ने उनको भनाइ छ ।
होटेल समूहमा रहेका ८ कम्पनीमध्ये ६ कम्पनीको मूल्य उच्चले बढेको छ । सोल्टि, ओरियण्टल र तारा गाउँ रिजेन्सी (हायात) होटेलको सेयर मूल्य मंगलबार १ प्रतिशतभन्दा धेरैले बढेको छ । यी कम्पनीले यो समूह बढाउन मुख्य योगदान दिए । यही समूहको कालिन्चोक दर्शन, सिटी होटेल र चन्द्रागिरी हिल्सको सेयर मूल्य पनि बढेको छ ।
यस समूहका बन्दीपूर केवलकार र होटेल फरेष्ट इनको सेयर मूल्य भने घटेको छ। यी कम्पनीको सेयर मूल्य एक प्रतिशतभन्दा पनि कमले घटेको छ ।