२०५९ सालको बाढीले पुल बगाएपछि जोखिममा खोला तर्दै आएका राक्सिराङ-३ र ५ का बासिन्दालाई पुलले राहत हुनेछ।
हेटौंडा — मकवानपुरको राक्सिराङस्थित चाक्ले खोलामा २०५९ सालको बाढीले झोलुङ्गे पुल बगाएको २४ वर्षपछि नयाँ पुल बन्ने भएको छ । राक्सिराङ गाउँपालिका–३ र ५ बोटबारी र सरिखेत जोड्ने २१५ मिटर लामो पुल निर्माण सुरु भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने स्थानीयको बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
२०५९ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि मकवानपुरको राक्सिराङ गाउँपालिका–३ र ५ का बासिन्दाले चाक्ले खोला वारपार गर्न जोखिम मोल्दै आएका छन् । पुल नहुँदा वर्षायाममा खोला तर्नुपर्ने बाध्यता छ । यही क्रममा बर्सेनि दुई–तीन जनाले खोलाले बगाएर ज्यान गुमाउने गरेका छन् ।
दुई दशकभन्दा लामो समयदेखि पुलको प्रतीक्षामा रहेका स्थानीयका लागि अब भने आवागमन सहज हुने आशा पलाएको छ । बोटबारी–सरिखेतस्थित चाक्ले खोलामा २१५ मिटर लामो झोलुङ्गे पुल शिलान्यास भएको हो ।
२०५९ सालको बाढीले चाक्ले खोलामा रहेको झोलुङ्गे पुल बगाएयता बोटबारी र सरिखेतका बासिन्दाले जोखिम मोलेरै खोला वारपार गर्दै आएका थिए । लामो समयदेखि पुलको अभावमा आवागमनमा सास्ती खेप्दै आएका स्थानीयको समस्या समाधान गर्ने उद्देश्यले सोमबार पुलको शिलान्यास गरिएको हो ।
बागमती प्रदेश सरकारको ३ करोड २३ लाख रुपैयाँ बजेटमा निर्माण हुन लागेको पुलको पूर्वसामाजिक विकासमन्त्री एवं प्रदेशसभा सदस्य कुमारी मोक्तानले एक समारोहबीच शिलान्यास गरिन् ।
पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका तीन हजारभन्दा बढी बासिन्दा प्रत्यक्ष लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ गाउँपालिकामा बढी जनघनत्व भएका वडामध्ये ३ र ५ हुन् । यी दुई वडाका बासिन्दाले लामो समयदेखि चाक्ले खोला वारपार गर्न कठिनाइ भोग्दै आएका छन् ।
पुल बनेपछि स्थानीयको आवागमन सहज र सुरक्षित हुने तथा वर्षायाममा खोला बढ्दा भोग्नुपर्ने जोखिम र सास्ती अन्त्य हुने अपेक्षा गरिएको अध्यक्ष मल्लले बताए । ‘आगामी वैशाखभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइनेछ,’ उनले भने ।
चाक्ले खोलाको झोलुङ्गे पुल २०५९ सालको बाढीले बगाएपछि वर्षौंदेखि आवतजावतमा कठिनाइ भोग्दै आएको स्थानीयवासी भीमबहादुर लामाले बताए । ‘प्रदेश सरकारले हाम्रो समस्या देखेर झोलुङ्गे पुल बनाउन लागेकोमा खुसी लागेको छ,’ उनले भने । पुल नहुँदा स्थानीयलाई दैनिक आवतजावतका साथै शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक कामका लागि समेत समस्या हुँदै आएको थियो ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।