Trending
Prev Story
Next Story

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

Ekantipur •
November 12, 2026 • 12:01 PM
1
1 reads 0 reactions

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्।

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्।

धनकुटा — तीन जनाको ज्यान जाने गरी गत कात्तिक ८ गते सप्तकोशी नदीमा मोटरबोट दुर्घटना भएपछि सिम्ले–चतरा जल यातायात बन्द छ। जल यातायात बन्द भएपछि धनकुटाको सहिदभूमि गाउँपालिकाका बासिन्दा वर्षौंदेखि जीर्ण रहेको तमोर नदीमाथिको झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

नदी वारपार गर्ने सहज माध्यम बन्द हुँदा स्थानीयले कमजोर पुलको सहारा लिनुपरेको छ भने बराहक्षेत्र, चतरा र धरान पुग्न डेढ घण्टासम्म घुमाउरो पैदल बाटो हिँड्नुपर्ने अवस्था छ।

सहिदभूमि गाउँपालिका-१ त्रिवेणी र साँगुरीगढी गाउँपालिका-१० ताङकेरा जोड्ने तमोर नदीमाथिको झोलुङ्गे पुल २०२६ सालमा निर्माण गरिएको हो। लामो समयदेखि मर्मतसम्भार नहुँदा पुलका काठ तथा अन्य संरचना जीर्ण बनेका छन्।

कतिपय स्थानमा बाँसका भाटा राखेर स्थानीय आफैँले अस्थायी मर्मत गर्दै आवतजावत गरिरहेका छन्। पुलको अवस्था जोखिमपूर्ण भए पनि अर्को सहज विकल्प नहुँदा बालबालिका, वृद्धवृद्धा, स्थानीय बासिन्दा र तीर्थयात्री यही पुल प्रयोग गर्न बाध्य छन्।

मोटरबोट सञ्चालन हुँदा सिम्लेदेखि त्रिवेणी र खुवालुङ हुँदै बराहक्षेत्रसम्म १५ देखि २० मिनेटमै पुग्न सकिन्थ्यो। जल यातायातले चतरा र धरानसम्मको आवागमनसमेत सहज बनाएको थियो। तर, दुर्घटनापछि मोटरबोट सञ्चालन रोकिँदा स्थानीयले लामो पैदल दूरी तय गर्नुपर्ने र जीर्ण पुलबाट जोखिम मोलेर नदी वारपार गर्नुपर्ने अवस्था आएको छ।

सहिदभूमि–१ त्रिवेणीमा होटल व्यवसाय गर्दै आएका कृष्णकुमार राईका अनुसार पुलको अवस्था वर्षौंदेखि जोखिमपूर्ण छ। स्थानीयले बाँसका भाटा राखेर आवतजावत गर्न मिल्ने बनाउँदै आए पनि स्थायी समाधानका लागि सम्बन्धित निकायले चासो दिएका छैनन्। उनले भने, 'पुलको अवस्था निकै जीर्ण छ। हामीले बाँसका भाटा राखेर जसोतसो आवतजावत गरिरहेका छौँ। पुल मर्मत तथा पुनर्निर्माणका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ भएको छैन।'

स्थानीयका अनुसार संघीयता कार्यान्वयन हुनुअघिदेखि नै पुलको अवस्थाबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन्। संघीयता कार्यान्वयनपछि स्थानीय, प्रदेश र संघीय सरकारसँग समेत मर्मत तथा पुनर्निर्माणका लागि आग्रह गरिएको भए पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन।

मोटरबोट सञ्चालनमा हुँदा स्थानीयको दैनिक आवागमन, व्यापार व्यवसाय, तीर्थयात्रा तथा चतरा र धरानसँगको सम्पर्क सहज थियो। अहिले जल यातायात बन्द भएपछि त्यसको विकल्पमा सुरक्षित आवागमनको व्यवस्था हुन सकेको छैन। नदीको बहाव र पुलको कमजोर संरचनाका बीच जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ। विशेषगरी नियमित रूपमा नदी वारपार गर्नुपर्ने स्थानीय र बराहक्षेत्र दर्शनका लागि आउने तीर्थयात्री बढी प्रभावित भएका छन्।

स्थानीयले जीर्ण पुलको प्राविधिक परीक्षण गरी तत्काल आवश्यक मर्मत गर्न माग गरेका छन्। वर्षौंदेखि स्थानीय आफैँले बाँसका भाटा राखेर जोखिमपूर्ण आवागमन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सुरक्षित पुल निर्माण गर्न उनीहरूको आग्रह छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
9h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल #झोलुङ्गे
Compare →
Hamro Patro News
13h ago
मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुन्दु–सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुगु । मुन्दु गाउँ र सेराको जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पुल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन्...

#पुल #झोलुङ्गे
Compare →
Nagarik News
17h ago
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

#पुल #झोलुङ्गे
Compare →
Bizshala
11h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

World News
Build #2611