Trending
Prev Story
Next Story

लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी

Ekantipur •
October 01, 2026 • 07:03 AM
1
1 reads 0 reactions

बाढीले सर्वस्व बगाएका त्रिशूली नदी किनारका बासिन्दा अहिले लेदोमुनि पुरिएका पारिवारिक पुराना तस्बिर, पुर्ख्यौली चिनो, पसलका सरसामानलगायत खोज्दै पुनर्जीवनको संघर्षमा जुटेका छन्।

लेदोले पुरेको बस्तीमा जिउने आधारको खोजी

बाढीले सर्वस्व बगाएका त्रिशूली नदी किनारका बासिन्दा अहिले लेदोमुनि पुरिएका पारिवारिक पुराना तस्बिर, पुर्ख्यौली चिनो, पसलका सरसामानलगायत खोज्दै पुनर्जीवनको संघर्षमा जुटेका छन्।

नुवाकोट — बेत्रावतीबाट देवीघाट फर्कंदा बाटोमै पर्ने ढुंगे बजारमा गत बिहीबार झमझम पानी परिरहेको थियो । नरेश डंगोल र उनकी श्रीमती गमबुट लगाएर, आधा खोलिएको सटरभित्र गैंती, बेल्चा र कुटोले धमाधम लेदो, गेग्रान र बालुवा पन्छाउँदै थिए । करिब दुई सातायता उनीहरू नियमित आफ्नो घर र

फेन्सी पसलभित्र जम्मा भएको लेदोको थुप्रो हटाउन खटिएका छन् । बाढीले हानेर पसलको फलामे सटर दोब्रिएको र बांगिएको छ, घरको तेस्रो तलासम्म लेदो थुप्रिएको छ ।

डंगोल दम्पतीको एक दशकको मिहिनेत र २५/३० लाख रुपैयाँ बराबरको लगानी १० भदौको बाढीले एकाएक हिलोमा पुरिदियो । लेदो खोतल्दै जाँदा नरेशले एउटा हिलाम्मे ‘साइड ब्याग’ फेला पारे । पसलमा बेच्न राखेका कपडा, नङपालिसका बट्टा, पोतेका झुत्ता उनीहरूले उत्खनन गरिरहेका छन् ।

‘आफ्नो पसिना र लगानी परेको एउटा सानो सामान भेटिँदा पनि मनलाई ठूलो सान्त्वना मिल्दो रहेछ,’ हिलाम्मे ब्याग एक हातले तुर्लुङ्ग झुन्ड्याउँदै नरेशले भने, ‘अब यसलाई धोएर, सुकाएर राख्छौं । सुकायो भने पछि काम लाग्छ कि भनेर साँचिरहेका छौं । कामै नलागे पनि फ्याल्न माया लाग्छ ।’

वर्षौंको मिहिनेत र लगानी परेका सामान भएकाले केही भेटिन्छ कि भन्ने आशाले खनिरहेको डंगोलले बताए । ६ आनामा बनेको आफ्नै घरमा फेन्सी पसल चलाउँदै आएका उनी जीवनभरको लगानी डुबे पनि परिवारका नौ जना सदस्य सुरक्षित रहेकामा बढी आभारी छन् ।

‘व्यवसाय भनेको फेरि गरौंला, अहिलेलाई पहिलो प्राथमिकता परिवारको सुरक्षित बास हो,’ उनले भने, ‘सरकारले सहुलियत ऋण दियो भने बूढाबूढी मिलेर फेरि व्यवसाय सुरु गर्छौं । सरकारले केही गर्छ भन्ने आशा र भरोसा छ ।’

डंगोलको घर र पसल रहेको ढुंगे बजार पहिले काठमाडौं–रसुवा आउजाउ गर्नेहरूको सधैं घुइँचो र चहलपहल देखिने व्यापारिक केन्द्र थियो । त्यहाँ लहरै बहुतले घरहरू, होटल, फेन्सी कपडा पसल, मोबाइल तथा औषधि पसल, फलफूल र जुस पसल, बैंकका शाखा, ठूला किराना तथा होलसेल पसलहरू प्रशस्तै थिए । घरका पहिलो र दोस्रो तलामा पसल तथा गोदाम राख्ने र माथिल्ला तलाहरूमा परिवारहरू बस्ने वा भाडामा लगाउने गरिन्थ्यो । १० भदौमा बाढी पसेपछि यो बजारको नामोनिसान मेटिएको छ ।

बाढीले हानेको छाप र लेदोले भरिएको घरको भुइँ तलामा रोजिता पाण्डे टर्च बालेर केही खोज्दै थिइन् । आफ्ना बडाससुराबुबा कोतबहादुर पाण्डेको पालादेखि चल्दै आएको ‘पाण्डे किराना होलसेल’ पसलको इतिहास र प्रतिष्ठा जोगाउने अभिलाषा उनको देखिन्थ्यो ।

‘हाम्रो जन्म र पहिचान नै यही व्यापारमा भएकाले ससुराबाको पालादेखिको यो काम र थलो छाडेर म अघि बढ्नै सक्दिनँ,’ उनले भग्नावशेषमा उभिएर भनिन्, ‘नुवाकोटमा कृष्णबहादुर पाण्डेको पसल भन्नासाथ सबैले चिन्छन् । उहाँका पालादेखिका पुराना भाँडाकुँडा, उबेलाका घ्याम्पा र गाग्रीहरू थिए । ती भेटिन्छन् कि भनेर खोज्दै छु ।’

रोजिताले हालसम्म केही ग्यास सिलिन्डर, बिस्कुट र चाउचाउका पुरिया, नफुटेका सिसाका केही गिलास मात्र फेला पारेकी छन् । बडाससुराका पालाको तामा/पित्तलका घ्याम्पा र गाग्री भेटिन्छन् कि भनेर खोज्ने र लेदो पन्छाउने काम जारी छ । बाढीले बस्ती नै पूर्ण रूपमा नष्ट पारेपछि उनको परिवार अहिले माथि देउरालीतिर आफन्तकहाँ बसिरहेका छन् ।

‘गोदामको सामान, खाद्यान्न, ग्यास सिलिन्डर र नगद ३० लाख रुपैयाँ गरी हाम्रो त १० करोड रुपैयाँभन्दा बढीको क्षति भयो,’ उनले भनिन्, ‘अब, रोएर/कराएर के गर्नु, ससुराको पालादेखि दुःख गरेर कमाएको सर्वस्व बाढीले लग्यो । ऋणमाथि ऋण थपेर भए पनि शून्यबाट उठ्नुको विकल्प छैन ।’

बाढी प्रभावित नुवाकोट र रसुवाका स्थानीयवासीहरू भग्नावशेषमा आफ्ना बाँकी स्मृति जोगाउन लागिपरेका छन् । घरभित्र पसेको बाक्लो लेदो पन्छाउँदै उनीहरू महत्त्वपूर्ण कागजात, पुराना तस्बिर, पुराना चिनो, अध्ययनका कापी–किताब र जीविकोपार्जनका सरसामान खोजी गरिरहेका छन् । सर्वस्व गुमाएकाहरूका लागि लेदोमुनिबाट भेटिने सानोभन्दा सानो वस्तु पनि आशा, सम्मान र पुनर्जीवनको बलियो आधार बनेको देखिन्छ ।

गत माघमा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको जागिर छाडेर १५ लाख रुपैयाँ लगानी र २३ लाख रुपैयाँ ऋण काढेर ‘रसुवाली भाइको फलफूल तथा जुस पसल’ सुरु गरेकी मैया गजुरेल बाढी आउँदा पसलमै थिइन् । उनका श्रीमान् स्कुटरमा आएर उनलाई हतार–हतार उद्धार गरेर लगेका थिए । त्यसपछि दुवै जना माथि डाँडातिर भागे । ‘साँझपख खोला अलि साम्य भएपछि घुमाउरो बाटो हुँदै हामी केही सामान जोगिएको छ कि भनेर पसल हेर्न आएका थियौं,’ उनी भन्छिन्, ‘तर, केही पनि बाँकी नरहेको देखेर माथिबाटै फर्कियौं ।’

अहिले लेदो पन्छाउँदा सिलभित्रै रहेको एक क्यारेट पानीको बोतल देख्दा उनका आँखा रसाए । सटरको खम्बामा अडेस लागेर, हिलो लतपतिएको र प्लास्टिकले बेरिएको पानीको क्यारेट सुमसुम्याउँदै उनले भनिन्, ‘सर्वस्व गयो, यो एउटाचाहिँ बचेछ ! मलाई त तनावले गर्दा मानसिक बिरामी भइन्छ कि जस्तो भइसकेको छ । तर, अरू मान्छेले परिवारका सदस्य नै गुमाएको देख्दा हामी त बाँचेका छौं नि भन्ने सोचेर मन बुझाउँछु । मान्छे बाँच्यौं, फेरि दुःख गरेर अघि बढौंला भन्ने लागेर नै हिलो पन्छाइरहेकी छु ।’

गेर्खुटारस्थित शुभघाट किनारमा १२/१३ वर्षदेखि बस्दै आएका शंकरसिंह मर्साङ्गी र संगीता मर्साङ्गी दम्पतीले भने बाढीपछि खासै केही जोगाउन सकेनन् । बाढी एक्कासि बस्तीमा पसेपछि भागाभाग मच्चिएको थियो । त्यो विपद्मा आफ्नो खल्तीमा रहेको एउटा मोबाइल फोन र आङमा लगाएको एकजोर पुरानो कपडा मात्रै जोगिएको उनले बताए । ‘मैले लगाइरहेको एक जोर पुरानो लुगा र खल्तीमा परेको यही एउटा मोबाइलबाहेक अरू कुनै चीज जोगाउन सकिनँ,’ शंकरले भने, ‘जोगिएका यी कुरा देख्दा मलाई रित्तो–रित्तो लाग्छ, त्यही दिनको सम्झना आउँछ ।’

शंकरले ठेक्कापट्टामा घर बनाउने काम गर्दै आएका थिए । बाढीले ढलान गर्ने फर्मा र सबै निर्माण सामग्री बगाएको उनले बताए । ‘घरमा पालेका ३५ वटा लोकल र गिरिराज कुखुरा, बचत समूहबाट झिकेर राखेको नगद पैसा, घरका सम्पूर्ण सामान बगे,’ उनले भने, ‘बाढीका कारण मेरो करिब १५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भयो ।’

सर्वस्व गुमे पनि उनले आफूसँगै काम गर्ने १३ जना कामदारको ज्यान जोगिएकामा प्रसन्नता व्यक्त गरे । नेपालगन्ज र सल्यानका ती कामदारलाई उनले गाडी भाडा जुटाएर बाढीपछि घर पठाइदिएको बताए । ‘अहिले कामदार साथीहरूलाई दसैं र तिहार मनाउन दिऊँ, त्यसपछि फेरि काममा बोलाउँछु,’ उनले भने, ‘जोगिएको यही एउटा मोबाइलकै कारण मैले बाढीपछि कामदार साथीहरूसँग सम्पर्क गर्न पाएँ । उहाँहरूलाई गाडी भाडाको व्यवस्था गरेर सुरक्षित घर पठाउन र आफन्तहरूसँग जोडिन सम्भव भयो ।’

काठमाडौंबाट फर्केर सासू–ससुरा र साना बालबालिकाको जिम्मेवारी सम्हालेकी ३८ वर्षीया राधिका अधिकारी भने अध्ययनका कापी–किताब र ससुराको ह्विलचेयर जोगिएकामा खुसी छिन् । नदी नजिकै बास भएकाले अझै पनि रातभर डरैडरमा बस्नुपरेको राधिकाले बताइन् । ‘मेरा लागि २०८० देखि २०८२ सम्मका अनलाइन र भौतिक कक्षाका नोटहरू अमूल्य छन्, एउटै कापीमा वर्षौंको मिहिनेत साँचिएको हुन्छ,’ उनले भनिन्, ‘नोट कापी र ससुराको ह्विलचेयर जोगिँदा धेरै राहत मिलेको छ ।’

स्थानीयको घर सफा गर्न र लेदोमुनि पुरिएका सामान जोगाउन रसुवाको किस्पाङ गाउँपालिका भाल्चेस्थित ‘हाइमाट पब्लिक इंग्लिस स्कुल’ का संस्थापक कमान घलेको नेतृत्वमा २० जना स्वयंसेवकको टोली तीन सातादेखि निरन्तर खटिएको छ । स्विट्जरल्यान्डकी हाइडी विडरकेर र ‘हाइमर फ्यामिली’ को सहयोगमा उनीहरूले नुवाकोटका विभिन्न बजारका घरहरूबाट हिलो पन्छाउने, सुन, तामाका भाँडा, कागजात, ग्यास सिलिन्डर र कारखानाका मेसिनहरू सुरक्षित निकालिदिने काम गरिरहेका छन् । औजार, बुट, पन्जा र खानाको खर्च टोली आफैंले बेहोर्दै आएको छ ।

बाढीपीडित अशोक साहको घर खन्दा लेदोमा पुरिएको सुन फेला परेको सम्झँदै घलेले भने, ‘पीडितको घर सफा गरिदिन र रोइरहेका परिवारका महत्त्वपूर्ण सामान जोगाइदिन हामी जुटेका छौं, अब कम्तीमा एक महिनासम्म निःशुल्क सेवा जारी राख्नेछौं ।’ उनका अनुसार लेदोले पुरिएको बस्तीमा माटो पन्छाउने काम मात्र भइरहेको छैन, त्यहाँका स्थानीयले आफ्ना हराएका पुराना स्मृति, पहिचान र परिश्रम पुनः प्राप्त गर्ने प्रयत्न गरिरहेका छन् ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

आर्या चन्द कान्तिपर मिडिया ग्रुपकी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
4d ago
भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्।

#बाढी #बस्ती
Compare →
Hamro Patro News
4d ago
जोखिममा रसुवाको हाकुबेँसी गाउँ, बस्ती सार्न स्थानीयको माग

जोखिममा रसुवाको हाकुबेँसी गाउँ, बस्ती सार्न स्थानीयको माग

भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी गाउँका १५६ परिवारले बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरे...

#बाढी #बस्ती
Compare →

Related Stories

Education & Youth
Build #2612