Trending
Prev Story
Next Story

‘पाँच पाण्डव’को गीतलाई लिएर किन तातिरहेको छ सामाजिक सञ्जाल ?

Ekantipur •
November 02, 2026 • 10:32 AM
1
1 reads 0 reactions

फिल्म निर्देशक वसन्त निरौलाका अनुसार गीतमा देखाइएको पात्र महाभारतको द्रौपदी होइन । उनी भन्छन्- ‘फिल्म नहेरीकन, ट्रेलर र साना-साना क्लिपका भरमा विवाद निकालेर बहिष्कारको अभियान चलाउनु गलत हो ।'

‘पाँच पाण्डव’को गीतलाई लिएर किन तातिरहेको छ सामाजिक सञ्जाल ?

फिल्म निर्देशक वसन्त निरौलाका अनुसार गीतमा देखाइएको पात्र महाभारतको द्रौपदी होइन । उनी भन्छन्- ‘फिल्म नहेरीकन, ट्रेलर र साना-साना क्लिपका भरमा विवाद निकालेर बहिष्कारको अभियान चलाउनु गलत हो ।'

काठमाडौँ — शुक्रबार रिलिज हुँदै छ, फिल्म 'पाँच पाण्डव' । तर, फिल्मको गीत ‘राजा चाहिया छ’मा कलाकार इभा गिरीको आइटम डान्स सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसबारे बहस तातेको छ ।

फिल्मको पोस्टर र ट्रेलर आएपछि कथा महाभारतका पात्रहरूमाथि आधारित भएको अनुमान गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पक्ष-विपक्षमा बाँडिएका छन् । आफूलाई धार्मिक अभियन्ताका रूपमा चिनाउने कन्टेन्ट क्रिएटर वेदिका केसीले फेसबुकमा लेखेकी छन्, 'सनातन धर्ममाथिको अर्को मजाक र प्रहार अब सहनीय छैन । हाम्रो आस्था र धर्मको अपमान स्वीकार्य छैन ।’

उनले भिडियोमार्फत पनि ‘द्रौपदी’को चरित्र नकारात्मक रूपमा चित्रण गरिएको भनेर आपत्ति जनाएकी छन् । सामाजिक सञ्जालमा धार्मिक अभियन्तालगायत विभिन्न प्रयोगकर्ताले निर्माण टिमलाई गाली गर्दै फिल्म बहिष्कारको चेतावनी दिइरहेका छन् । कतिपयले त कलाकार तथा निर्देशकलाई दुर्व्यवहार गर्दै हिंसात्मक भाषासमेत प्रयोग गरेका छन् ।

‘ट्रेलर हेर्दा सुरुमा उहाँहरूलाई गेरुवस्त्रमा पाँच पाण्डव र द्रौपदीजस्तो गरेर देखाइयो । पछि बार डान्समा आउँदा चाहिँ यो कुरा मलाई पटक्कै चित्त बुझेन,' कान्तिपुरसँग कुरा गर्दै वेदिकाले भनिन्, 'सुरुमा गेरुवस्त्र लगाएको महिलालाई पछि गएर बार डान्सर जसरी देखाउनु मात्रै हाम्रो आपत्तिको विषय हो ।’

यो फिल्म महाभारतकै कथा हो भन्ने भ्रम पालिएको छ । फिल्ममा देखिएको पात्र महाभारतकै द्रौपदी नहुन पनि सक्छ । - वसन्त निरौला , फिल्म निर्देशक फिल्म निर्देशक वसन्त निरौला भने फिल्म नै नहेरी लगाइएका आरोप र बहिष्कारका ट्रेन्डले आफूहरू अन्यायमा परेको दुखेसो गर्छन् । ‘चलचित्र रिलिज नहुँदै वा पूरा नहेरीकन, ट्रेलर र साना-साना क्लिपका भरमा कन्ट्रोभर्सी निकालेर बहिष्कारको अभियान चलाउनु गलत हो,' उनले भने, 'फिल्मको यथार्थ नै नबुझी अनुमानकै भरमा विरोध गर्नु उचित होइन ।’

बुद्धिजीवी र विभिन्न समुदायका नाममा यस्तो किसिमको नकारात्मक ट्रेन्ड चलाउनु गलत रहेको उनले बताए । ‘चलचित्र हेरिसकेपछि आलोचना गर्ने छुट सबैसँग हुन्छ, तर सिनेमा नै नहेरी यस्तो अभियान चलाउनु आश्चर्यजनक र गलत छ,’ उनले भने ।

उनका अनुसार गीतमा देखाइएको पात्र महाभारतको द्रौपदी होइन । ‘यो फिल्म महाभारतकै कथा हो भन्ने भ्रम पालिएको छ । फिल्ममा देखिएको पात्र महाभारतकै द्रौपदी नहुन पनि सक्छ । त्यो कथाको कुनै क्यासिनो तथा डान्स बारमा काम गर्ने पात्रको कुरा गरिएको हुन सक्छ । उसलाई फिल्मको अर्को पात्रले द्रौपदी देखेको पनि हुन सक्छ,' निर्देशक निरौलाले कान्तिपुरसँग भने, 'डान्स बारमा काम गर्नेहरूको पेसालाई पनि गलत दृष्टिकोणले हेर्नु अर्को अन्यायपूर्ण काम हो । आफ्नो दृष्टिकोणबाट मात्र सोचेर त्यसलाई वास्तविक महाभारतसँग जोड्नु उपयुक्त हुँदैन ।’

फिल्मको पोस्टर रिलिज हुँदा कलाकार जितु नेपाललाई भीमको रूपमा चित्रण गरिएको भन्दै सामाजिक सञ्जालमा मजाक उडाइएको थियो । पछि निर्माण टिमले ट्रेलरमै जितुले निर्वाह गरेको भीमसेनको चरित्र महाभारतको भीम होइन भन्ने कुरा प्रस्ट्याउनुपरेको थियो ।

हलमा पुग्नुअगावै फिल्म बहिष्कारको ट्रेन्ड चल्नु गलत भएको बताउँछन्, चलचित्र जाँच पास समितिका विज्ञ सदस्य मनोज पण्डित । ‘सिनेमा गलत अभिप्रायको छ भने त्यसको सबैभन्दा ठूलो निर्णयकर्ता दर्शकहरू हुन्,' उनले भने, 'कसैले सामाजिक सञ्जालमा कुनै फिल्मलाई बहिष्कार गरौं वा सर्जकमाथि भौतिक आक्रमण गरौं भनी उत्तेजना फैलाउँछ भने त्यो राम्रो होइन ।'

फिल्म हलमा पुग्नुअघि राज्यको निकाय चलचित्र जाँच पास समितिले परीक्षण गर्छ । उनका अनुसार नेपालको जाँच पास समिति सिर्जनाको अधिकार संरक्षण गर्ने पक्षमा उन्मुख छ । ‘सर्जकले बनाएको सिनेमा दर्शकमाझ पुग्नका लागि निश्चित वर्गीकरण गरेर पुर्‍याउनुपर्छ र सिनेमा बनाउने मान्छेको प्रदर्शन गर्ने अधिकारलाई पनि संरक्षण गर्नुपर्छ,' उनले भने, 'जाँच पास समितिको स्पष्ट मान्यता के हो भने, सर्जकले बनाएको चिज सम्बन्धित निश्चित वर्गका दर्शकमाझ पुग्नुपर्छ । विरोध गर्नेले पनि प्रश्न उठाउन पाउनुपर्छ तर सिनेमा नै नहेरीकन बहिष्कार गर्ने वा हलमा जान नदिने प्रवृत्तिलाई बढावा दिनु जायज हुँदैन ।’

विरोध गर्नेले पनि प्रश्न उठाउन पाउनुपर्छ तर सिनेमा नै नहेरीकन बहिष्कार गर्ने वा हलमा जान नदिने प्रवृत्तिलाई बढावा दिनु जायज हुँदैन । - मनोज पण्डित , चलचित्र जाँच पास समितिका विज्ञ सदस्य यसअघि पनि कतिपय फिल्म हलमा आउनुअगावै बहिष्कार ट्रेन्ड नचलेका होइनन् । गत वैशाखमा रिलिज भएको ‘लालीबजार’ आउँदा पनि बादी समुदायलाई गलत रूपमा प्रस्तुत गरिएको भन्दै फिल्म नहेरीकन बहिष्कारको ट्रेन्ड चलाइएको थियो । यो फिल्मले त मुद्दा नै खेप्नुपरेको थियो ।

फिल्मका निर्माता तथा कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँ फेसबुकमा आउने लाइक र कमेन्टका आधारमा अदालत वा कानुन प्रभावित हुन नहुने बताउँछन् । ‘यसको आधिकारिक निकाय चलचित्र जाँच पास समिति छ । फिल्म सेन्सर भइसकेपछि 'यो कुरा ठिक छ' भनेर पास गरिदिएपछि सम्बन्धित निकायले त्यसको जिम्मा लिनुपर्छ । नत्र 'हाम्रो धर्म र संस्कृतिमा खलल पुग्यो' भन्ने हल्लाको भरमा मात्रै यस्ता कुरालाई प्रश्रय दिनु हुँदैन,’ बानियाँले भने ।

उनका अनुसार अहिले मान्छेहरू आफ्नो मुद्दा वा एजेन्डा हाइलाइट गर्न चाहन्छन् । त्यसका लागि अवसर छोप्ने प्रवृत्ति बढेको छ । ‘यस्ता फिल्म वा विषयमा विवाद झिक्यो भने बढी प्रचार पाइन्छ र आफ्नो स्वार्थ पूरा हुन्छ भनेर कसैको व्यापार, व्यवसाय र नियमसंगत काममाथि अनावश्यक प्रहार गर्नु गलत हो,’ बानियाँले भने । भोलिका दिनमा यो प्रवृत्ति अझ बढ्दै जाने चिन्ता उनको छ । ‘यदि कसैको जाति, पेसा, व्यवसाय वा थर देखाउँदा नै फिल्ममा प्रतिबन्ध लाग्ने हो भने भविष्यमा सिर्जनात्मक काम गर्नै गाह्रो हुन्छ र केवल काल्पनिक कथामा मात्र सीमित हुनुपर्ने अवस्था आउनेछ,’ उनले भने ।

२०८० मा फिल्म ‘एक भागवत् एक गीता’लाई नामकै आधारमा पनि धार्मिक अभियन्ता तथा संगठनहरूले अंकुश लगाउन खोजेका थिए । जबकि फिल्म सेन्सर बोर्डबाटै पास भइसकेको थियो । फिल्मको सुरुवाती नाम ‘एक भागवत् गीता’ राखिएको थियो । रिलिज नजिक पुग्दासम्म निर्माण टिमले विभिन्न धम्की र विरोध खेप्नुपरेपछि नाम नै परिवर्तन गर्न बाध्य भएको थियो ।

फिल्म निर्माता गणेशदेव पाण्डे अतिवादी वा धार्मिक तथा जातीय संघसंस्थाका केही व्यक्ति आफ्नो समूहको प्रभाव र वर्चस्व जमाउन वा चर्चा कमाउनका लागि यस्ता विवाद झिक्ने गरेको बताउँछन् । ‘उनीहरू आफ्नो धर्म र जातप्रति एकदम सचेत छौं भन्दै समाजमा भ्रम फैलाउँछन् र कसैको सिर्जनात्मक स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्छन्,’ उनले भने, ‘कसैलाई पनि अर्काको सिर्जनात्मक अधिकार वा स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने र आफ्नो विचार जबरजस्ती लाद्ने अधिकार छैन । यदि कसैलाई फिल्म वा कला मन पर्दैन भने नहेर्न सकिन्छ, तर त्यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाऊ भन्न हुँदैन ।’

फिल्म निर्माता थमन भण्डारी फिल्मलाई नाम वा कथाका आधारमा रोक्न नमिल्ने बताउँछन् । ‘कथा त इन्सपायर्ड हुन्छन् । कतिपय रामायणबाट हुन सक्छन्, कतिपय महाभारतबाट । त्यसमाथि हाम्रै नाम पनि त भगवान्‌का नामबाट प्रेरित छन् । त्यसकारण नामकै आधारमा फिल्म हेर्नुअघि बहिष्कार गर्नु ठिक होइन,’ उनले भने ।

समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो । आज …

#फिल्म #गीत
Compare →
Hamro Patro News
1w ago
'सारथी'को प्रेमिल गीत 'मयाली' सार्वजनिक

'सारथी'को प्रेमिल गीत 'मयाली' सार्वजनिक

फिल्म 'सारथी'को गीत 'मयाली' सार्वजनिक भएको छ। निर्माणपक्षले म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र रचना रिमालको स्व...

#फिल्म #गीत
Compare →
Nagarik News
3d ago
सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

सामाजिक सञ्जालमा ज्ञानेन्द्र शाही र आशिका तामाङबीच ‘दोहोरी’

ठेलागाडा व्यापारीमाथि दुर्व्यवहार गरिएको एक पुरानो भिडियोलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ।

#सञ्जाल
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611