१६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । शरीरमा सुगर र अक्सिजनको मात्रा घट्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि इलामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
इलाममा २५औँ आमरण अनशनमा रहेका केसीलाई सोमबार काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार उनको स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको छ ।
रोस्याराका अनुसार केसीको शरीरमा सुगरको मात्रा घटेको छ । त्यस्तै, श्वासप्रश्वासमा समस्या देखिएको छ । पेट दुख्ने र पिसाबमा संक्रमणसमेत देखिएको छ । ‘उहाँको सुगरको मात्रा घटेको छ । श्वासप्रश्वासमा समस्या छ । पेट दुख्ने र पिसाबमा पनि संक्रमण देखिएको छ,’ रोस्याराले अनलाइनखबरसँग भने ।
अस्पतालमा भर्ना भएपछि उनको उपचार सुरु गरिएको छ । उनलाई शिक्षण अस्पतालको ५०१ नम्बर क्याबिनमा राखेर उपचार भइरहेको छ ।
अनशनको पाँचौं दिनदेखि नै केसीको स्वास्थ्यमा लगातार जटिलता देखिएको थियो । श्वासप्रश्वासमा कठिनाइ भएपछि आइतबार रातिदेखि नै उनलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि उपचारमा संलग्न चिकित्सकहरूले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरेका थिए ।
यसैबीच, नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ । अनशनका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै संघले माग सम्बोधनका लागि अविलम्ब वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त विज्ञप्ति जारी गर्दै केसीको स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् ।
संघका अनुसार शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य परीक्षणमा समेत कठिनाइ देखिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासनका लागि लामो समयदेखि आवाज उठाउँदै आएका केसीको जीवनरक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने संघको भनाइ छ ।
तर, डा. केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि सरकारले औपचारिक वार्ता सुरू गरेको छैन । पहिला डा. केसीको साथ दिँदै आएका मानिसहरू अहिले मन्त्री देखि सांसद छन् । पछिल्लो पटक उनी ६ महिनामा दुई पटक अनशन बसिसकेका छन् । उनीहरु सत्तामा पुगेपछि पनि माग सम्बोधन नभएको भन्दै आलोचना बढिरहेको छ ।
यता शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले भने अनौपचारिक संवाद भइरहेको दाबी गरेको छ । ‘उहाँ अनशन बसेपछि हामी अनौपचारिक रुपमा संवाद भइरहेको छ,’ सचिवालयका एक सदस्यले भने, ‘छिट्टै नै वार्ता टोली गठन गरेर छलफलमा जान्छौं ।’
गेटामा आवश्यक पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वबारे निष्पक्ष छानबिन गर्नुपर्ने, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर केसी अनशनमा बसेका हुन् ।
यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा देखिएका विकृति अन्त्य तथा गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनको माग छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा पनि सरकारले उनका माग सम्बोधनका लागि वार्ता र समाधानको पहल गर्नुपर्ने आवाज उठेको छ ।