सेनेगलको डकारमा भइरहेको युथ ओलम्पिक खेलकुदमा नेपाली उसु खेलाडी रश्मी तामाडले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेकी छन् ।
काठमाडौँ — सेनेगलको डकारमा भइरहेको युथ ओलम्पिक खेलकुदमा नेपाली उसु खेलाडी रश्मी तामाडले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेकी छन् ।
महिला थाउलुको छानछ्वान कम्बाइन्डमा साेमबार प्रतिस्पर्धा गरेकी रश्मी गुन्सुमा ११ औं स्थानमा रहिन् । उनीभन्दा पछाडि गाबोनकी एक खेलाडी थिइन् । उनले गुन्सुमा ७.०२६ अंक जोड्दै ११ औं स्थान हासिल गरेकी हुन् । इजिप्टकी सान्दोस सोन्बलले ९.१५३ अंक र भारतकी चानु राजकुमारीले ८.८७६ अंक जोडेर पहिलो दुई स्थानमा रहेका छन् । अब उनले चानक्वान इभेन्टमा प्रतिस्पर्धा गर्न बाँकी छ ।
पौडीमा आर्या महर्जन र अभिव प्रधानले सोमबार प्रतिस्पर्धा गर्नेछन् । दुवैको खेल १०० मिटर फ्रिस्टाइलमा रहेको छ ।
यस युथ ओलम्पिकमा नेपालका चार खेलाडीले भाग लिएका छन् । अर्को एक खेलाडीमा जुडोका शुभनन तिमिल्सिना रहेका छन् । उनले १०० केजीमुनि तौल समूहका माडगास्करका ब्रायन एन्टोनियोसँग अन्तिम १६ को चरणमा प्रतिस्पर्धा गर्नेछन् ।