जिल्ला छनोटमा उत्कृष्ट बन्ने खेलाडीले प्रदेश हुँदै सुर्खेतमा हुने १०औँ राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमबाट प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
डडेल्धुरा — १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुराका खेलाडी जिल्ला छनोटको प्रतिस्पर्धामा उत्रिएका छन्। विभिन्न १७ खेल विधामा ४३५ खेलाडीले नाम दर्ता गराएपछि शनिबारदेखि जिल्ला छनोट प्रतियोगिता सुरु भएको हो।
अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा प्रतिनिधिसभा सदस्य एवं महिला तथा सामाजिक मामिला समितिकी सभापति आकृति अवस्थीले प्रतियोगिताको उद्घाटन गरिन्। आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली तयार पार्न जिल्ला छनोट सुरु गरिएको हो।
जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीका अनुसार दर्ता भएका ४३५ खेलाडीमध्ये २४८ जना प्रदेशस्तरीय छनोटमा सहभागी हुनेछन्। भलिबल, खोखो, ह्यान्डबल, क्रिकेट, टेबलटेनिस, तेक्वान्दो, कराँते, बास्केटबल, उसु, कबड्डी, बुद्धिचाल, एथलेटिक्स, फुटबल, बक्सिङ, आईटीएफ तेक्वान्दो, बुदोकैदो फुलकन्ट्याक्ट कराँते र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ।
जिल्ला छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले प्रदेशस्तरीय प्रतिस्पर्धामा डडेल्धुराको प्रतिनिधित्व गर्नेछन्। प्रदेशबाट छनोट हुने खेलाडीले राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको टोलीबाट प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य अवस्थीले खेलकुदमा महिला सहभागिता बढाउनुका साथै खेल पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने बताइन्। खेलाडीको मिहिनेत र आत्मबलले मात्रै पदक सम्भव नहुने उल्लेख गर्दै उनले त्यसका लागि राज्यको लगानी र आवश्यक पूर्वाधार पनि उत्तिकै महत्त्वपूर्ण हुने बताइन्।
जिल्ला खेलकुद समितिका अध्यक्ष जगतबहादुर ऐरले छनोट प्रतियोगितालाई जिल्लाका प्रतिभावान् खेलाडी पहिचान गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। छनोट प्रक्रिया निष्पक्ष हुने उल्लेख गर्दै उनले जिल्ला छनोटमा स्वर्ण पदक जित्ने खेलाडीलाई व्यक्तिगत रूपमा १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरे। जिल्लामा खेलकुद पूर्वाधारको अभाव रहेको भन्दै उनले यसको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग आग्रह गरे।
जिल्ला क्रिकेट संघका अध्यक्ष बासु जोशीले जिल्लामा खेलकुद विकासका लागि राज्यको प्राथमिकता नपुगेको बताए। पटक–पटक प्रधानमन्त्री र अहिले मुख्यमन्त्रीसमेत डडेल्धुराबाट भए पनि खेलकुद पूर्वाधारमा अपेक्षित प्रगति हुन नसकेको उनको भनाइ थियो। प्रशिक्षकको अभाव र खेलाडीले आफ्नै खर्चमा खेल जीवन अघि बढाउनुपर्ने अवस्थाले प्रतिभा पलायन हुने जोखिम रहेको उनले बताए।
प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले खेलाडीलाई अनुशासन, आत्मविश्वास र निरन्तर अभ्यासमा ध्यान दिन आग्रह गरे। छनोट प्रक्रिया निष्पक्ष हुनुपर्ने बताउँदै उनले त्यसको निगरानीमा आफूले चासो दिने उल्लेख गरे।