दाङमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका ६९ हजारभन्दा बढी निवेदन संकलित छन् । पछिल्लो पटक सात परिवारले पुर्जा पाएसँगै जिल्लामा जग्गाधनी पुर्जा प्राप्त गर्ने परिवारको संख्या ३९ पुगेको छ।
दाङ — दाङको लमही नगरपालिका–३ की शारदा दमाईको नाममा एक धुर पनि जग्गा थिएन। ऐलानी जग्गामा घर बनाएर वर्षौंदेखि परिवारसहित बस्दै आए पनि आफ्नो नाममा जग्गा नहुँदा उनलाई सधैं एउटा चिन्ताले सताइरहन्थ्यो– कतै कसैले घरबाट उठाइदिने त होइन ? घर थियो, तर आफ्नै स्वामित्वको प्रमाण थिएन।
लामो प्रतीक्षापछि अहिले शारदाको हातमा जग्गाधनी प्रमाणपुर्जा परेको छ। लालपुर्जा पाएपछि वर्षौंदेखि मनमा गढेको असुरक्षा हटेको छ। आफ्नो बासस्थान सुरक्षित भएको अनुभूतिसँगै अब ढुक्कसँग निदाउन पाउने विश्वास पलाएको छ। ‘लालपुर्जा हातमा आएपछि ढुक्क भयो,’ उनले भनिन्, ‘धेरै भौंतारिनुपर्यो। अब निद्रा पर्ने भयो।’ शारदाजस्तै दाङका अन्य ६ परिवारले पनि वर्षौंदेखिको प्रतीक्षापछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन्। लमही नगरपालिका र गढवा गाउँपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सात भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको हो। पछिल्लो पटक सात परिवारले पुर्जा पाएसँगै जिल्लामा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने परिवारको संख्या ३९ पुगेको छ।
लमही नगरपालिकामा दुई र गढवा गाउँपालिकामा पाँच परिवारले पुर्जा पाएका हुन्। लमही नगरपालिका–३ की शारदा दमाईले साढे ११ धुर र कृष्णा सिजालीले पाँच धुर जग्गाको प्रमाणपुर्जा प्राप्त गरेका छन्।
त्यस्तै, गढवा गाउँपालिका–३ की आशा परियारले १० धुर, चैती चौधरीले १७ धुर, मंगल चौधरीले एक कट्ठा १९ धुर, लक्षमनिया कुमालले एक कट्ठा १७ धुर र लौटन चौधरीले १९ धुर जग्गाको लालपुर्जा पाएका छन्।
जिल्लामा भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने क्रम जारी छ। यसअघि लमही नगरपालिकाका २३ र गढवा गाउँपालिकाका नौ परिवारले प्रमाणपुर्जा पाइसकेका थिए। पछिल्लो पटक सात परिवारले पुर्जा पाएसँगै लमहीका २५ र गढवाका १४ गरी जिल्लामा पुर्जा पाउने परिवारको संख्या ३९ पुगेको हो। यसअघि २०८२ भदाैसम्म दाङमा ६ हजार ४ सय २ भूमिहीन दलित, १० हजार ७ सय ८० भूमिहीन सुकुमवासी र ५२ हजार ३४ अव्यवस्थित बसोबासीसम्बन्धी निवेदन संकलन भएका थिए।