रक्तसमूह मिल्ने व्यक्ति भेटिए पनि गलत बुझाइ, सामाजिक र पारिवारिक धारणाले रगत आपूर्तिमा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाई छ ।
अछाम — तीन महिनाअघि यहाँको ढकारी गाउँपालिकाकी २७ वर्षीया प्रसूतिका लागि जिल्ला अस्पताल पुगिन् । शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने भएपछि स्वास्थ्यकर्मीले तत्काल रगत व्यवस्था गर्न सुझाव दिए ।
शल्यक्रिया गर्नुभन्दा अगाडि रगतको जोहो गर्नुपर्ने चिकित्सकको भनाइ थियो । उनको 'एबी नेगेटिभ' रक्त समूह थियो । तर, अस्पतालमै रगतको व्यवस्था गर्ने भरपर्दो विकल्प थिएन । त्यसैले आफन्त र परिवारका सदस्यको रक्तसमूह परीक्षण गर्न थालियो । त्यस क्रममा उनकी सासुको रक्तसमूहले मेल खायो । स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षणपछि रक्तदान गर्न योग्य रहेको बताए । बुहारीलाई रगत दिनुपर्ने भए पनि उनकी सासु तयार भइनन् । कसैलाई जानकारीसमेत नदिई उनी अस्पतालबाटै घर फर्किइन् ।
रगत दिएपछि शरीर कमजोर हुने र उठबस गर्न नसकिने उनको बुझाइ रहेको स्वास्थ्यकर्मीले बताए । परिवारको दैनिक कामकाज प्रभावित हुने भन्दै उनले रक्तदान गर्न अस्वीकार गरेको ती महिलालाई बताइन् । ‘रगत दिएपछि कमजोर भइन्छ । उठ्न बस्न सकिँदैन । काम गरिखाने मान्छे हो । रगत दिन सक्दिनँ भनेर सासु अस्पतालबाट कसैलाई खबर नगरी घर जानुभयो,’ ती महिलाले भनिन्, ‘सबै ठाउँ खोज्दा पनि रगत भेटिएन । अन्तमा नेपाी सेनाले रगत दिएर गर्भवतीको ज्यान बच्यो ।’ रगतको व्यवस्था हुन नसक्दा शल्यक्रिया गरेर प्रसूति गराउने प्रक्रिया प्रभावित भएको थियो । परिवारका सदस्यबाटै रगत जुट्न नसकेपछि अस्पतालले अन्यत्र रक्तदाता खोज्नुपर्यो । अन्ततः नेपाली सेनाका जवानले रक्तदान गरेपछि उनको उपचार सम्भव भयो ।
रामारोशन गाउँपालिकाकी अर्की महिलाको अनुभव पनि उस्तै छ । चार महिनाअघि गर्भपतनका लागि उनी जिल्ला अस्पताल पुगिन् । स्थानीय जडीबुटी सेवन गरेर १२ साता नाघेको गर्भपतन गराउने प्रयास गर्दा अत्यधिक रक्तस्राव भयो । तत्काल रगत आवश्यक पर्यो । उनको रक्तसमूह 'ए नेगेटिभ' थियो ।
उनीसँगै अस्पताल पुगेका श्रीमान्को रक्तसमूह मिल्यो । तर, श्रीमान् रक्तदान गर्न तयार भएनन् । श्रीमतीले समेत श्रीमान्लाई रगत नदिन आग्रह गरिन् । घरको कमाउने व्यक्ति कमजोर भए परिवार कसले चलाउने भन्ने चिन्ता दुवैमा थियो । अर्कोतर्फ श्रीमतीलाई परपुरुषको रगत दिन नमिल्ने भन्दै श्रीमान्ले नेपाल प्रहरीका एक जवानले रक्तदान गर्न खोज्दा पनि रोकेको ती महिलाको भनाइ छ । ‘घरको कमाउने मान्छेले रगत दिएर कमजोर भयो भने घर कसले सम्हाल्छ भन्ने चिन्ता लाग्यो । रगत दिएपछि कमजोर भइन्छ भन्ने सोचेँ,’ ती महिलाले भनिन्, ‘श्रीमान् कमजोर हुन्छन् भनेर रोकेँ । मेरो श्रीमानले अरू पुरुषको रगत श्रीमतीलाई दिन मिल्दैन भनेर रोक्नुभयो । यही कुरा नमिलेपछि डाक्टरले जोखिम लिन नसक्ने जानकारी गराए । अन्तमा नेपालगन्ज गएर उपचार गरेँ ।’
यी दुई घटना अछाममा रगतको अभावले सिर्जना गरेको समस्याका प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लामा व्यवस्थित रक्तसञ्चार केन्द्र नहुँदा प्रसूति तथा आकस्मिक उपचारका लागि अस्पताल पुग्ने बिरामीले रगत खोज्न आफन्त, चिनजानका व्यक्ति, नेपाली सेना र नेपाल प्रहरीको भर पर्नुपर्ने अवस्था छ । रक्तसमूह मिल्ने व्यक्ति भेटिए पनि रक्तदानबारेको गलत बुझाइ, सामाजिक संकोच र पारिवारिक धारणाका कारण बिरामीले सहजै रगत पाउन नसकेको स्वास्थ्यकर्मीको अनुभव छ ।
जिल्ला अस्पताल अछाममा १२ वर्षदेखि मेडिकल अफिसरका रूपमा कार्यरत डा. अतुल भारद्वाजले प्रसूति कक्षमा देख्दै आएको समस्या अझै फेरिएको छैन । सामान्य प्रसूति होस् वा शल्यक्रिया गरेर गरिने प्रसूति, जटिल अवस्थामा महिलालाई बचाउन रगतको व्यवस्था गर्नु सबैभन्दा ठूलो चुनौती हुने गरेको उनी बताउँछन् । ‘सबैभन्दा बढी संघर्ष गर्भवती र सुत्केरी महिलालाई बचाउन रगत खोज्न गर्नुपर्छ । ब्लड बैंक छैन । रगत नपाउँदासम्म केस अगाडि बढाउन सकिँदैन,’ डाक्टर भारद्वाजले भने, ‘गर्भवती महिलासँग पुरुष नै आउँदैनन् । एकदम सामान्य रूपमा लिन्छन् । आइहाले पनि रक्तसमूह मिल्यो भनेसमेत दिन मान्दैनन् । यस्ता सयौं केसको सामना गरियो ।’
उनका अनुसार अस्पतालमा बिरामीसँगै आएका आफन्तको रक्तसमूह मिलेपछि रक्तदान गर्न आग्रह गरिन्छ । रगत दिनुपर्ने अवस्था आएपछि कतिपय कुरुवा अनेक बहाना बनाएर अस्पतालबाट बाहिरिने गरेका छन् । रगत दिएपछि शरीर कमजोर हुने, अर्काको रगत आफ्नो शरीरमा हाल्न नहुने र महिलालाई परपुरुषको रगत दिन नमिल्ने जस्ता धारणाले उपचार प्रक्रियामै समस्या निम्त्याउने गरेको उनको अनुभव छ ।
‘धेरैजसो रगत गर्भवती महिलालाई दिनुपर्ने हुन्छ । यहाँ रगत दिँदा आफू कमजोर हुने, दिनै नमिल्ने भन्दै टार्ने र डराउने प्रवृत्ति छ । कुनै बिरामीका कुरुवालाई समूह मिलेर रगत दिनुस् भन्दा अनेक बहाना बनाएर निस्कने गर्छन्,’ उनले भने, ‘अर्काको ब्लड शरीरमा दिन मिल्दैन, ज्यान बचाउनकै लागि दिइहाल्यो भने श्रीमतीले स्वीकार्दिनन् भन्ने धम्की दिने र कमजोर भइन्छ भन्ने मानसिकता अहिले पनि उस्तै छ ।’
उनका अनुसार रगतको अभावमा उपचार प्रभावित हुने अवस्था आउँदा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले तत्काल रक्तदाता खोज्नुपर्ने हुन्छ । आफन्तबाट रगत जुट्न नसके नेपाली सेना र नेपाल प्रहरीलाई सम्पर्क गर्ने गरिएको डाक्टर भारद्वाज बताउँछन् । पछिल्लो समय लाइफलाइन अछाममार्फत पनि रक्तदाता खोज्ने गरिएको छ । यी स्रोतबाट समेत आवश्यक रगत उपलब्ध हुन नसके बिरामीलाई रक्तसञ्चार सेवा भएको अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘सेना, प्रहरी र लाइफलाइनबाट पनि अछाममा रगत पाइएन भने ब्लड बैंक भएको अस्पतालमा रिफर गर्नुपर्छ,’ उनले भने ।
उनका अनुसार अछाममा ब्लड बैंक नहुँदा प्रसूति सेवा लिन आउने महिलाले भोग्नुपरेको सास्ती कहालीलाग्दो छ । यस्तो अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय युवाको पहलमा सञ्चालित लाइफलाइन अछाम बिरामीका लागि सहारा बनिरहेका छन् ।
जिल्लामा व्यवस्थित ब्लड बैंक नहुँदा बिरामीले भोगिरहेको समस्याबीच स्थानीय युवाहरूले प्रविधिको प्रयोगमार्फत रक्तदाता र रगत आवश्यक पर्ने व्यक्तिबीच सम्पर्क स्थापित गर्ने प्रयास गरेका छन् । यही उद्देश्यसहित सुरु गरिएको पहल हो, लाइफलाइन अछाम । लाइफलाइन अछामका अनुसार अछामभित्र ४ सय ४४ भन्दा बढी र अछामबाहिर १ सय ८० भन्दा बढी सक्रिय रक्तदाता आबद्ध छन् । त्यस्तै, १ सय ६३ भन्दा बढीले रक्तदान गरेका छन् ।
मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।