सेनेगलमा पहिलोपटक आयोजित युथ ओलम्पिकको उद्घाटन समारोहमा नेपालसहित २०४ राष्ट्रका टोलीले मार्चपास्ट गरेका थिए।
काठमाडौँ — सेनेगलको डकारमा भएकाे युथ ओलम्पिकको उद्घाटन समारोहमा भएको मार्चपास्टमा नेपालको झण्डा पौडी खेलाडीद्वय आर्या महर्जन र अभिव प्रधानले बोकेका छन्न् । दुवैले हालै सम्पन्न आइची नागोया एसियाली खेलकुदमा भाग लिएका थिए । अफ्रिकी भूमिमा पहिलो पटक ओलम्पिक इभेन्ट आयोजना भइरहेको छ । सेनेगलको डकारमा शनिबार मध्यरात झकिझकाउ कार्यक्रमबीच डकार युथ ओलम्पिकको उद्घाटन समारोह भएको थियो । नेपालसहित २०४ राष्ट्र र युथ शरणार्थी ओलम्पिक टिमले पनि मार्चपास्ट गरेका थिए । डकार युथ ओलम्पिक १३ नोभेम्बरसम्म चल्नेछ । प्रतियोगितामा नेपालले पौडी, उसु र जुडो गरी तीन खेलमा सहभागिता जनाएकाे छ ।
नेपाली टिमको सेफ दी मिसनमा एनओसीका उपमहासचिव रामजीबहादुर श्रेष्ठ छन् । एनओसीका सचिव भीमसिंह गुरुङ अफिसियलको भूमिकामा छन् । नेपाली टोलीमा पौडीतर्फ प्रशिक्षक शंकर कार्की तथा खेलाडी अभिव र आर्या छन् । उसु खेलमा लानम लामाको प्रशिक्षकत्वमा खेलाडी रश्मि तामाङले खेल्नेछन् । जुडोका शुभनन तिमिल्सिना छन् ।
डकार युथ ओलम्पिकमा करीब २ हजार ६ सय ५० युवा खेलाडीको सहभागिता छ । यस युथ ओलम्पिकमा २५ प्रतिस्पर्धात्मक र १० इन्गेजमेन्ट खेल समावेश छन् । डकार युथ ओलम्पिक सेनेगलका तीन सहर डकार, डियामनियाडो र सालीमा खेलाइने छ ।