भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर अजयकुमार यादवको परिवार करिब दुई महिनादेखि उनको पर्खाइमा छ । बुबाको बाटो हेर्दै साढे चार वर्षीय छोरा सोध्छन्, ‘दशमीयोमे पापा घर किया नइँ एलै?’ उता डीएनए परीक्षणको रिपोर्ट नआउँदा परिवार अन्योलमा छ ।
राजविराज — चाडपर्वले गाउँभरि उत्सवको माहोल छ । तर सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियाका हरिनारायण यादवको दैलो भने उजाड र सुनसान छ । गत भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका ३५ वर्षीय छोराको चिन्ताले यादव दम्पती अझैसम्म निदाउन सकेका छैनन् । बुढेसकालको सहारा छोरा घर फर्किने आसमा उनीहरू बाटो कुरेरै दिन बिताइरहेका छन् ।
‘दिउँसो त जसोतसो मन बुझाउँछौं पनि तर रात परेपछि यो छाती झन् भक्कानिएर आउँछ,’ बेपत्ता इन्जिनियर अजयकुमार यादवका बुबा हरिनारायणले गहभरि आँसु पार्दै भने, ‘राति ओछ्यानमा निदाउन लाग्दा छोराको अनुहार आँखैअगाडि आइहाल्छ ।’ अजयकै मुस्कुराइरहेको अनुहार आँखाको वरिपरि घुमिरहँदा रातभरि आँसु झार्दै रात काट्नुपर्ने बाध्यता छ यादव दम्पतीको ।
उनीहरूको घरमा दसैंको टीका त परै जाओस्, मिठोमसिनो पकाउन राम्ररी चुलो पनि बलेको छैन । यादव दम्पतीलाई यो पीडाभन्दा पनि अजयका साढे चार वर्षीय बालक यशराजले सोधिरहने प्रश्नले अझ बढी पिरोलिरहेको छ । बेपत्ता भएका अजयका जेठो छोरा टोलाएर बाटो हेर्दै सोध्ने गर्छन् – ‘दादी (हजुरआमा) ! दशमीयोमे पापा घर किया नइँ एलै?’ (दसैंमा पनि बुबा किन घर आउनुभएन?)
बालकको यो प्रश्न सुन्नासाथ हरिनारायण दम्पतीका आँखा रसाउँछन् । उनीहरू निरुत्तरित हुन्छन् । नातिको जिज्ञासा मौनतामा परिवर्तन हुन्छ । यशराजलाई उनका बुबा भोटेकोशीको बाढीमा परेर बेपत्ता भएकोबारे पत्तो छैन । उनी त केवल हरेक चाडपर्वमा नयाँ लुगा र मिठाई बोकेर घर आउने, बुबाआमासँग स्थानीय मन्दिरमा पूजाआजा गर्न जाने आफ्ना बुबाको पर्खाइमा छन् । ‘छोरा बेपत्ता रहेको विषय नातिलाई बुझाउने आँट नै भएन,’ हरिनारायणले सुनाए, ‘बिदा नपाएर बुबा घर नआएको भनी सम्झाउँदै दिन बिताइरहेका छौं ।’
चार वर्षअघि भित्र्याइएकी बुहारी सुरेखाको अवस्था हेरेर पनि उनीहरू बेचैन छन् । पूर्वशिक्षक हरिनारायणले पेसाबाट अवकाश पाएपछि पारिवारिक जिम्मेवारीसमेत मुक्त भइसकेको ठाने पनि जेठो छोरा नै बेपत्ता भएपछि अबोध नातिहरूको भरणपोषण र शिक्षादीक्षाको जिम्मेवारी थपिएको बताउँछन् । यशराज (नाति)को अनुहार हेर्दै भन्छन्, ‘अब त यिनीहरूका लागि भए पनि बाँच्नुपर्छ ।’
बेपत्ता परिवारले सरकारको अनुभूति गर्न नपाउँदा पनि हरिनारायणलाई चित्त दुखेको छ । ‘सरकार हाम्रो लागि होइन र? हामीलाई राहत चाहिएको छैन तर असह्य पीडा पर्दा पनि सान्त्वना दिनसम्मै कोही नआएको दुखेसो छ,’ उनले थपे, ‘भोटको बेला खुट्टै ढोग्ने जनप्रतिनिधिहरूले पनि हाम्रो लागि १० मिनेटसम्मको समय नदिँदा मन भक्कानिन्छ ।’ उनले अन्य बेपत्ता परिवारमा भइरहेको छाक टार्ने समस्यामा सरकारले आफ्नो उपस्थितिको अनुभूति गराउन नसकेकोप्रति चिन्ता व्यक्त गरे । ‘हाम्रै जिल्लामा धेरैजसो बेपत्ता परिवारलाई छाक टार्नै हम्मेहम्मे छ,’ उनले भने, ‘तर स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्मले वास्ता गरेको छैन । आखिर, कसका लागि सरकार हो?’
बाढीमा परी सर्वस्व गुमाएकाहरू पनि पालमुनि रात गुजार्न बाध्य हुनु अत्यन्तै दुःखद् अवस्था हो नै तर देशका विभिन्न जिल्लाबाट रोजगारीका क्रममा रहेका व्यक्तिहरू बेपत्ता हुँदा तिनका परिवार झन् पीडामा रहेको हरिनारायण बताउँछन् । ‘बेपत्ता रहेकाहरूकै कमाइले चुलो बल्ने अवस्थाका धेरै परिवार छन्, उनीहरूका परिवारमा चुलो बल्यो कि बलेन ? खोजी गर्ने दायित्व सरकारको हो कि होइन?’ प्रश्न गर्दै उनी भन्छन्, ‘तीन तहको सरकार छ तर पीडित परिवारसम्म कुनै पनि नपुग्नुले सरकार र जनप्रतिनिधिको जिम्मेवारी र जवाफदेहिता प्रस्ट हुन्छ ।’
हरिनारायणले करिब दुई महिना हुन लाग्दा पनि सरकारले बेपत्ताको खोजी र पहिचानमा ठोस पहल नगरेको गुनासो पोखे । ‘अहिलेसम्म न त सास पाइयो, न त लास नै,’ उनले भक्कानिँदै भने, ‘नातिले बुबा खोज्छ, हामीसँग दिने कुनै जवाफ छैन । सरकारले कम्तीमा खोजी र पहिचान गरिदिए हुन्थ्यो ।’
बाढीपछि उनीहरू अजयको खोजी गर्न नुवाकोटको बट्टारस्थित नं. १ सैन्य तालिम केन्द्रसम्मै पुगेका थिए । आमसञ्चार प्राधिकरण मधेश प्रदेशका पूर्वअध्यक्षसमेत रहेका दाजु श्यामसुन्दर, भाइ जयप्रकाशलगायत इन्जिनियर अजयलाई खोज्न रसुवा पुगेका थिए । तर उनीहरूले चौतर्फी चहार्दा पनि अजयलाई खोज्न सकेनन् । उनको अझैसम्म पनि कुनै पत्तो छैन । अजयको खोजी र पहिचानका लागि हरिनारायणले गत भदौ १९ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुगेर डीएनए परीक्षणका लागि रगतको नमुनासमेत दिए ।
तर रगत दिएको डेढ महिना बितिसक्दा पनि अजयको पहिचान भए/नभएको भनी पीडित परिवारले कुनै खबर पाएका छैनन् । ‘डीएनए परीक्षणको पर्खाइ पनि डेढ महिना भइसक्यो तर अझैसम्म कुनै खबर पाएको छैन,’ उनले भने, ‘यताउता फोन गरेर सोध्दा चित्तबुझ्दो जवाफ पनि पाएको छैन ।’
डीएनए रिपोर्ट पनि नआएका कारण इन्जिनियर अजयको संस्कारसम्बन्धी कुनै कार्य अगाडि बढ्न सकेको छैन । उनीहरू सरकारी निर्णयको पर्खाइमा छन् । बेपत्ता अजयका जेठो छोरा यशराज र कान्छो छोरा सिद्धार्थ ३ वर्षका छन् ।
बेपत्ता अजय उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा प्राविधिक शिक्षकका रूपमा कार्यरत थिए । उनी बेत्रावती बजारमा डेरा लिएर बस्दै आएका थिए । बाढी आएको बेला अजय डेरामै रहेको परिवारजनको भनाइ छ । भोटेकोशीको बाढीमा प्रदेशमै सबैभन्दा बढी सप्तरीबाटै बेपत्ता छन् । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पर्सा ४१, बारा २२, रौतहट २२, सर्लाही २०, महोत्तरी ९, धनुषा ७, सिरहाका १० र सप्तरीका ४८ गरी १६९ जना बेपत्ता छन् ।
विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।