अमृत घामछाँया खेल मैदानमा भएको फाइनलमा मिलनचोकले आयोजक एफसीबीलाई १–० ले पराजित गर्यो।
रामेछाप — उमाकुण्ड गाउँपालिका–७ भुजिमा सम्पन्न २८ औँ भुजि लिग रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि मिलनचोक युवा क्लब (एमवाईसी) प्रीतिले जितेको छ। आइतबार भएको फाइनलमा आयोजक फुटबल क्लब भुजि (एफसीबी)लाई १–० गोल अन्तरले पराजित गर्दै मिलनचोकले उपाधि हात पारेको हो।
अमृत घामछाँया खेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा मिलनचोकका अनिल पाचे मगरले पहिलो हाफको ३८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। त्यसपछि आयोजक टोलीले खेलमा फर्कन निरन्तर प्रयास गरे पनि गोल गर्न सकेन। निर्धारित समयसम्म अग्रता जोगाउँदै मिलनचोकले २८औँ संस्करणको उपाधि आफ्नो नाममा गरेको हो।
उपाधिसँगै विजेता मिलनचोकले एक लाख ४८ हजार आठ सय २८ रुपैयाँ नगद, एक किलो चाँदी र एक तोला सुनको जलप लगाइएको आकर्षक रनिङशिल्ड तथा मेडल प्राप्त गरेको छ। उपविजेता आयोजक फुटबल क्लब भुजिले ७४ हजार आठ सय २८ रुपैयाँ नगदमा चित्त बुझाएको छ।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले आगामी मङ्सिरभित्रै पाँच लाख रुपैयाँ पुरस्कार राशीको फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरे। पालिका र जिल्ला स्तरमा मात्र नभई राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित गाउँपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिएको उनले बताए।
खेलकुदलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यावसायिक महत्त्व बोकेको क्षेत्रका रूपमा गाउँपालिकाले लिएको अध्यक्ष सुनुवारको भनाइ छ। खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान, खेलाडीको क्षमता अभिवृद्धि र उमाकुण्डको पहिचान राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्य रहेको उनले बताए।
नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।