आन्तरिक राजस्व कार्यालयको अनुगमनमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका धेरै व्यवसाय दर्ता तथा बिलबिजकबिनै सञ्चालन भएको भेटिएको छ।
बागलुङ — बागलुङसहित चार जिल्लामा धेरैजसो व्यवसाय अझै करको दायराबाहिर छन्। कतिपयले व्यवसाय दर्ता नै नगरी सञ्चालन गरिरहेका छन् भने दर्ता भएका व्यवसायले समेत वर्षौंदेखि बिलबिजक जारी नगरी कारोबार गर्ने गरेको आन्तरिक राजस्व कार्यालयको अनुगमनमा भेटिएको छ। यसले राज्यको राजस्व गुमिरहेको छ भने व्यवसायीले वास्तविक कारोबार लुकाएर कर छल्ने गरेका छन्।
करको दायरा फराकिलो बनाउने सरकारी नीतिका बाबजुद धेरै व्यवसाय र कारोबार अझै करको दायराबाहिर छन्। बिलबिना कारोबार गर्दा राज्यलाई राजस्व नोक्सानी हुने र व्यवसायीले भने गैरकानुनी रुपमा सम्पत्ति कमाउने अवस्था बनेको आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले बताए। ‘धेरै पसलहरू अझै करको दायरामा आएका छैनन्, तोकेको कर पनि तिर्दैनन्,’ उनले भने, ‘राज्य बलियो बनाउन खोज्दा व्यापारीहरू धनी बनिरहेका छन्।’ कार्यालयले छड्के अनुगमन गर्दा व्यवसाय दर्ता नगरी सञ्चालन गरेको, दर्ता भएका व्यवसायले बिलबिजक जारी नगरेको र राजस्व छली गरेको भेटिएको उनले बताए।
वर्षौंदेखि कपाल काट्ने व्यवसाय गर्दै आएका नाइहरूले समेत पसल दर्ता गरेका छैनन्। दर्ता नगरेकाले उनीहरूले स्थायी लेखा नम्बर (प्यान) समेत लिएका छैनन्। वर्षेनि लाखौं रुपैयाँ कमाइ गर्ने यस्ता पसलले राज्यलाई तिर्नुपर्ने सामान्य करसमेत नतिरेको कार्यालयको भनाइ छ। फेन्सी, जुत्ता र कस्मेटिक पसलले महँगा सामग्री बिक्री गरे पनि बिल नकाट्ने गरेको अनुगमनमा भेटिएको हो।
‘दैनिक लाखौं कारोबार भइरहेको छ, बिल खोज्दा चार–पाँच वर्षदेखि काटेका छैनन्,’ सिलवालले भने, ‘गैरजिम्मेवारीको पनि पराकाष्ठा देखिएको छ।’ यस्तो कारोबार गर्ने व्यवसायीलाई पहिलो चरणमा चेतावनी, दोस्रो चरणमा सामान्य कारबाही र तेस्रो चरणमा पटकैपिच्छे जरिवानासहित व्यवसाय बन्द गराउन सक्नेसम्मको कारबाही हुने उनले बताए।
उपभोक्ताले पनि बिल नमाग्ने भएकाले व्यवसायीले बेथिति बढाएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए। ‘करोडौंको कारोबार बिलबिजकबिनै चलाउन खोज्नु नै राज्यलाई छल्नु हो,’ श्रेष्ठले भने, ‘उनीहरूलाई ठाउँको ठाउँ कारबाही गर्नुपर्छ।’ कारोबारका आधारमा कर तिर्न पाउने सुविधाको समेत व्यवसायीले दुरुपयोग गरिरहेको उनले बताए। राजस्व छली गर्नु राज्यविरुद्धको अपराध भएको सिलवालको भनाइ छ।
छली भएको करलाई राजस्वको दायरामा ल्याउन सके अहिलेको तुलनामा उल्लेख्य रकम बढाउन सकिने कार्यालयको अध्ययन छ। ‘उपभोक्ता सचेत भइदिएको खण्डमा पनि राज्यले धेरै राजस्व बढाउन सक्छ,’ सिलवालले भने, ‘एउटै सामानको दुईदेखि पाँच हजार रुपैयाँसम्म पर्ने भए पनि फेन्सी व्यवसायीले बिल नकाट्ने कारणले राजस्वमा ठूलो क्षति भएको हो।’ करोड रुपैयाँ कमाइ गरेर दुई लाख रुपैयाँको कारोबार देखाउँदै कर तिर्ने प्रवृत्तिले राजस्व छली भइरहेको उनको भनाइ छ।
उद्योग वाणिज्य संघ, सञ्चारमाध्यम र आम नागरिकले उपभोक्तालाई बिल लिएर मात्र सामान खरिद गर्न प्रोत्साहित गर्नुपर्ने सिलवाल बताउँछन्। बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङमा समेत व्यवसाय दर्ता नगरी सञ्चालन गर्ने प्रवृत्ति रहेको उनले बताए।
ठूला व्यवसायी मात्र दर्ता गरेर सञ्चालनमा रहेको र मध्यम तथा साना व्यवसायीले भने महँगी बढाए पनि कर नतिर्ने गरेको कार्यालयको अनुगमनमा भेटिएको छ। ठूला व्यवसायीले समेत कारोबार कम देखाउन अर्को फर्म दर्ता गरी प्यान बिल जारी गर्ने गरेको कार्यालयको भनाइ छ। कर सप्ताह, करसम्बन्धी सचेतना र उपभोक्ता सचेतना अभियानलगायत कार्यक्रममार्फत आम नागरिकलाई बुझाउने प्रयास भइरहे पनि अपेक्षित सुधार हुन नसकेको सिलवालले बताए।
कार्यालयको तथ्यांकअनुसार बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा ७० हजार ३ सय ११ जनाले व्यक्तिगत प्यान नम्बर लिएका छन्। व्यावसायिक प्यान नम्बर लिने ३१ हजार ८ सय १५ छन्। मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता हुने २ हजार ४ सय १५, अन्तःशुल्क प्रमाणपत्र लिने २ हजार १ सय २६ र भुक्तानीको स्रोतमा कर कट्टी गर्ने प्रयोजनका लागि प्यान नम्बर लिने १ हजार ४ सय ३२ जना छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय बागलुङले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने लक्ष्यको ९५ प्रतिशत संकलन गरेको छ। कार्यालयले तीन महिनामा २८ करोड ७८ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा २७ करोड ३४ लाख ७६ हजार रुपैयाँ संकलन गरेको हो।
आयकरतर्फ १३ करोड ७२ लाख २४ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकामा असोजसम्म १५ करोड ७४ लाख ६३ हजार रुपैयाँ संकलन भएको छ। यो लक्ष्यको ११४ दशमलव ७५ प्रतिशत हो। अन्य शीर्षकमा पनि उल्लेख्य राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।