गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पूर्वाधारबिनै एमबीबीएसलगायत चिकित्सा शिक्षाका लागि तोकिएको सिट खारेज गर्नुपर्ने लगायत माग राखी डा. गोविन्द केसी इलाममा अनशनरत थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
काठमाडौँ — इलाममा २५ औं अनशन थालेका प्राध्यापक डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा भर्ना गरिएको छ ।
इलामको नारायणस्थान मन्दिर परिसरमा बिहीबारदेखि अनशन थालेका उनलाई उपचारका लागि इलाम अस्पताल भर्ना गरिएको थियो । अस्पतालले थप उपचारका लागि सिफारिस गरेपछि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।
केसीका सहयोगी पवन थापाले शिक्षण अस्पतालमा उपचार सुरु भएको बताए । 'इलाम अस्पतालमा नै सास फेर्न गाह्रो भएपछि उहाँलाई अक्सिजन दिइएको थियो,' उनले भने, 'स्वास्थ्य अवस्था नाजुक भएका कारण श्वासप्रश्वासमा कठिनाइ भएको र चिकित्सकको सल्लाहअनुसार सुविधासम्पन्न अस्पतालमा ल्याइएको हो ।'
सरकारसँग ६ बुँदे माग राख्दै केसीले अनशन थालेका थिए । गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पूर्वाधारबिनै एमबीबीएसलगायत चिकित्सा शिक्षाका लागि तोकिएको सिट खारेज गर्नुपर्ने उनको माग छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गर्नुपर्ने, उनीहरूको स्वार्थको द्वन्द्वमाथि छानबिन गर्नुपर्ने र गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्नेलगायतका माग उनले अघि सारेका छन् ।
जीवनरक्षा गर्न चिकित्सक संघको आग्रह
अनशन थालेको पाँचौं दिनमा स्वास्थ्य जटिलता देखिएपछि नेपाल चिकित्सक संघले डा. केसीको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आमरण अनशनमा रहेका उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै संघले सरकारको ध्यानाकर्षण गराएको छ । माग तत्काल सम्बोधन गर्न वार्ता गरी उनको जीवनरक्षाका लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरिएको छ । शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वास्थ्य परीक्षणमा समेत कठिनाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको संघले जनाएको छ । उनको स्वास्थ्य अवस्था थप जटिल हुन नदिन आवश्यक उपचार र स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन संघले सरकारसँग माग गरेको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा यस क्षेत्रमा सुशासन कायम गर्न लामो समयदेखि आवाज उठाउँदै आएका केसीको जीवनरक्षाका लागि सरकारले गम्भीर पहल गर्नुपर्ने संघको भनाइ छ ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा केसीले उठाएका जायज माग तत्काल सम्बोधन गर्न उनीसँग अविलम्ब वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरिएको छ ।
सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।