सामान्यतया प्रत्येक १० वर्षमा गरिने यो सर्वेक्षण किन महत्त्वपूर्ण छ ? यो सर्वेक्षणबारे बुझ्नुपर्ने कुराहरू के हुन् ?
काठमाडौँ — सरकारले आम नागरिकमा भिटामिन ‘ए’, आइरन, फोलिक एसिड र आयोडिनलगायत शरीरलाई आवश्यक थुप्रै सूक्ष्म पोषक तत्त्वको अवस्था तथा रक्तअल्पताको स्थिति मूल्यांकन गर्न आगामी मंसिरमा देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण गर्दै छ । सामान्यतया प्रत्येक १० वर्षमा गरिने यो सर्वेक्षण किन महत्त्वपूर्ण छ ? यो सर्वेक्षणबारे बुझ्नुपर्ने कुराहरू के हुन् ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।
१. देशव्यापी सूक्ष्म पोषक तत्त्व सर्वेक्षण कहिले र किन गरिँदै छ ?
सर्वसाधारणमा भिटामिन ‘ए’, आइरन, फोलिक एसिड र आयोडिनलगायत शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्त्वको अवस्था तथा रक्तअल्पताको स्थिति मूल्यांकन गर्न आगामी मंसिरमा यो सर्वेक्षण गरिँदै छ । यस्तो सर्वेक्षण सामान्यतया प्रत्येक १० वर्षमा गरिन्छ । १७–१८ कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सकिएको ६ हप्तापछि अध्ययन सुरु हुनेछ । यसअघि भिटामिन ‘ए’ खुवाउँदा यसको कमीको वास्तविक अवस्था पत्ता लगाउन कठिन हुने भन्दै अधिकारीहरूले नियमित अभियान फागुनसम्म स्थगित गर्ने योजना बनाएका थिए । तर विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघीय बालकोषलगायतका विज्ञ सम्मिलित समूहको बैठकले अभियान सम्पन्न भएको ६ हप्तापछि अध्ययन गर्न सकिने सुझाव दियो । यो सर्वेक्षणबाट तयार पारिने प्रतिवेदनले राष्ट्रिय पोषण नीतिलाई पुनरावलोकन र परिमार्जन गर्न सहयोग गर्ने पोषण शाखा प्रमुख लीलाविक्रम थापाले बताए ।
२. यसअघि यस्तो सर्वेक्षण कहिले गरिएको थियो ?
यसअघि सन् २०१६ मा अमेरिकी सरकारको आर्थिक सहयोगमा यस्तो सर्वेक्षण गरिएको थियो । त्यसबेला खानेपानी, सरसफाइ, बालबालिकाको खानपान अभ्यास, खानाको विविधता, आइरनको पूरक सेवन, रक्तअल्पता, आइरन तथा जिंकको कमी, नुनको उपभोग र आयोडिनको अवस्थालगायत विषयको अध्ययन गरिएको थियो ।
३. सर्वेक्षण किन ढिलो भयो र अहिले कसरी सम्भव भयो ?
यस पटकको सर्वेक्षण गत वैशाखमै सुरु गर्ने योजना भए पनि बजेट अभावका कारण अनिश्चितकालका लागि रोकिएको थियो । अधिकारीहरूका अनुसार यसको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले नेपालसहित विश्वभरका सहायता कार्यक्रम स्थगन गर्नु हो । नेपालस्थित अमेरिकी दूतावासको पहलमा अमेरिकी सरकारले अध्ययनका लागि युनिसेफलाई ३५ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ । सर्वेक्षणका लागि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले प्राविधिक सहयोग दिनेछ ।
४. यो सर्वेक्षण र नुनमा आयोडिनको मात्राबीच के सम्बन्ध छ ?
स्वास्थ्य अधिकारीहरूका अनुसार सर्वेक्षणको नतिजाका आधारमा सबै बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रमलाई निरन्तरता दिने वा नदिने, नुनमा आयोडिनको मात्रा समायोजन गर्ने, लक्षित समूहमा सूक्ष्म पोषक तत्त्व मिसाइएको खाना वितरण गर्नेलगायत विद्यमान पोषण नीतिमा परिवर्तन गर्न सकिनेछ । त्यसैले यो सर्वेक्षणले नुनमा आयोडिनको मात्रा परिवर्तन गर्न सघाउनेछ । नुनमा आयोडिनको मात्रा घटाउने वा नघटाउने निर्णय पनि सर्वेक्षणको प्रतिवेदन आएपछि मात्रै गरिने अधिकारीहरूले बताएका छन् । किनकि सन् २०१६ को राष्ट्रिय सूक्ष्म पोषक तत्त्व अवस्थासम्बन्धी सर्वेक्षणलगायत अध्ययनले नेपालीले अत्यधिक आयोडिन सेवन गर्ने गरेको देखाएका छन् ।
५. यो सर्वेक्षणबारे सरकारी अधिकारीहरूको भनाइ के छ ?
परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार सर्वसाधारणको पोषण अवस्थासँग सम्बन्धित धेरै विषय अध्ययन गरिने भएकाले यो सर्वेक्षण निकै महत्त्वपूर्ण छ । थापाले भने, ‘प्रतिवेदनले नेपालको राष्ट्रिय पोषण नीतिलाई पुनरावलोकन र परिमार्जन गर्न सहयोग गर्नेछ ।’ स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. श्यामराज उप्रेतीका अनुसार यो प्रतिवेदनले विद्यमान पोषण नीतिमा परिवर्तन गर्न सुझाव दिन सक्छ । उनले भने, ‘अध्ययनको विश्वसनीयता सुनिश्चित गर्न सम्बन्धित क्षेत्रका विज्ञबाट अनुगमन हुनुपर्छ । अध्ययनमा ठूलो स्रोत–साधन आवश्यक पर्ने भएकाले यसका निष्कर्षले विद्यमान नीतिलाई मार्गनिर्देश गर्न सक्नेछ ।’
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।