नेपाली पुस्तक बजारमा यस साता कविता, कथा, उपन्यास, मुक्तक र लघुकथासंग्रह सार्वजनिक भएका छन्। यी पुस्तकमा विशेषगरी प्रेम, सामाजिक यथार्थ, वैदेशिक रोजगारी, मानवीय संवेदना, राजनीतिक तथा सांस्कृतिक चेतनाका विषय समेटिएका छन्।
काठमाडौँ — नेपाली पाठकका लागि यो साता बजारमा नयाँनयाँ विधाका पुस्तक आएका छन्। कविता, कथा, उपन्यास, मुक्तक, लघुकथासंग्रह सार्वजनिक भएका छन्। हामीले यीमध्ये उपलब्ध पुस्तकबारे संक्षेपमा जानकारी दिने कोसिस गरेका छौं।
प्रसिद्ध कवि तथा आख्यानकार श्रवण मुकारूङको नयाँ कवितासंग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' यसै साता सार्वजनिक भयो । 'बिसे नगर्चीको बयान' प्रकाशनको १६ वर्षपछि उनले नयाँ कवितासंग्रह ल्याएका हुन्। यस संग्रहमा पछिल्लो डेढ दशकमा लेखिएका कविता समेटिएका छन्। पब्लिकेसन नेपालयले प्रकाशन गरेको संग्रहमा राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनासहितका कविता छन्। यो उनको चौथो कवितासंग्रह हो।
कवि प्रज्वल अधिकारीको पहिलो कवितासंग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ यसै साता सार्वजनिक भयो । ७१ वटा कविता समेटिएको संग्रहमा समकालीन नेपाली कवितामा युवा पुस्ताको संवेदना, सामाजिक यथार्थ, मानवीय अनुभूति र जीवनदर्शन प्रस्तुत छ । पुस्तक बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो।
२१ असोजमा प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक संग्रहबारे बोल्दै टिप्पणीकारहरूले उनका कवितामा न्याय, समता, प्रेम, स्वतन्त्रता, सद्भाव र एकताको तीव्र अभिलाषा देखिएको बताएका थिए ।
महेन्द्र महकको पहिलो कथासंग्रह ‘खदामा’ पनि यही साता नेपाली पाठकमाझ आइपुग्यो। वैदेशिक रोजगारीमा रहेका श्रमजीवी नेपालीको जीवन, पीडा, संघर्ष र आशालाई कथाकारले प्रस्तुत गरेका छन् । विशेषगरी नारी पात्रले भोग्ने उत्पीडन र त्यसबीच देखिने आशावादी स्वर कथामा पाइन्छ। पुस्तक बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो।
२० असोजमा श्रेष्ठ प्रिया ‘पत्थर’ को मुक्तकसंग्रह ‘तलतल’ र हेमन्ती जोशीको कवितासंग्रह ‘अक्षरको आकाश’ एकसाथ विमोचन गरिएको थियो। सुदूरपश्चिमको धनगढीलाई कर्मथलो बनाएर लेखनमा सक्रिय ‘पत्थर’ र जोशी नेपाली मुक्तक, गजल, कविता तथा आख्यानका क्षेत्रमा परिचित नाम हो। दुवै सर्जक नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्य पनि हुन्।
रामनाम थिङको उपन्यास 'प्रेमसागर' र विश्वविजयको 'प्रेमको धागो' पनि बजारमा आएका छन्। 'प्रेमसागर' प्रेम सम्बन्ध र यसकै कारण समाजमा उत्पन्न हुने द्वन्द्वको कथानक छ। 'प्रेमको धागो'का लेखक भने जुम्ल्याहा दाजुभाइ हुन्। उपन्यासमा प्रेमलाई विपरीतलिंगीभन्दा फरक पनि प्रेम भाव गहिरो बन्न सक्छ भन्ने विषय उठान गरिएको छ। प्रेमलाई लेखकले फरक कोणबाट हेर्ने प्रयास गरेका छन्। दुवै उपन्यासलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो।
लघुकथासंग्रह ‘अभियान चिबाखं’ पनि यसै साता बजारमा आएको छ । २० असोजमा सार्वजनिक यो संयुक्त संग्रह हो। यसमा ७८ जना स्रष्टाद्वारा लिखित समसामयिक सन्दर्भका लघुकथा संगृहीत छन् ।
कवि मौन आवाजको कवितासंग्रहले पनि पाठकको स्पर्श पाएको छ। ७१ कविता संगृहीत 'बेनाम नदी बग्ने निर्जन जंगल'भित्र सामाजिक विकृतिको कडा प्रतिरोध छ। अव्यवस्थित रअसन्तुलित समाज र समयको आक्रोश उनका कवितामा छन् ।मौन आवाजका सिर्जनामा प्रतिक्रान्तिको चेतना पनि पाइन्छ।
रूपक अधिकारीको उपन्यास ‘लाटो क्यानभास’, पविन दाहालको ‘रातो अभिलेख’ र युसन बस्नेतको ‘कुमारीत्व’ पनि यसैसाता सार्वजनिक भए । ‘कुमारीत्व’ मा बलात्कार लगायतका सामाजिक घटना र त्यसले निम्त्याउने समस्या तथा प्रभाव छ भने ‘रातो अभिलेख’ सस्पेन्स तथा थ्रिलर शैलीमा लेखिएको पुस्तक हो । ‘लाटो क्यानभास’ मा प्रेम, सम्बन्ध र त्यससँग जोडिएका भावनालाई प्रस्तुत गरिएको छ । पुस्तकलाई न्युरोड पुस्तक पब्लिकेसनले प्रकाशन गरेको हो ।