एनपीएलमा काठमान्डु गाेर्खाजले आज कर्णाली याक्सविरुद्धकाे खेलमा डेविड वार्नरलाई मैदान उतार्ने सम्भावना छ । याे दिनकाे पहिलाे खेल हाे, जुन मध्यान्ह साढे १२ बजे हुनेछ ।
काठमाडौँ — विश्व क्रिकेटका ब्याटिङ हस्ती डेभिड वार्नर काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग खेल्नका लागि नेपाल आइपुगेका छन् ।
अस्ट्रेलियाका स्टार ब्याटर वार्नरलाई काठमान्डु गोर्खाजका पदाधिकारीले त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । गाेर्खाजले आज कर्णाली याक्सविरुद्धकाे खेलमा वार्नरलाई मैदान उतार्ने सम्भावना छ । आजकाे याे पहिलाे खेल हाे, जुन मध्यान्ह साढे १२ बजे हुनेछ ।
काठमान्डु गोर्खाजले यस सिजनकाे पहिलाे खेल गुमाइसकेकाे छ । जनकपुर बाेल्ट्ससँगकाे खेल ८ विकेटले गुमाएकाे थियाे ।
एनपीएल खेल्न आउने विदेशी खेलाडीमध्ये वार्नर अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन् । अस्ट्रेलियाले २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा २०२१ मा टी–२० विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए ।
सन् २०२१ को टी–२० विश्वकपमा उनी ‘प्लेयर अफ द सिरिज’ चुनिएका थिए । साथै उनले अस्ट्रेलियाबाट २०२१–२३ को विश्व टेस्ट च्याम्पियनसिप पनि जितेका थिए ।
वार्नरले अस्ट्रेलियाबाट १ सय १२ टेस्ट, १ सय ६१ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय १० टी–२० अन्तर्राष्ट्रिय खेल्दै ४९ शतकसहित झन्डै १९ हजार अन्तर्राष्ट्रिय रन बनाएका छन् । उनले १४२ माथिको स्ट्राइक रेटमा ३ हजार २ सय ७७ रन बनाएका थिए । उनको नाममा ८ हजार ७ सय ८६ टेस्ट र ६ हजार ९ सय ३२ रन एकदिवसीय अन्तर्राष्ट्रिय रहेको छ ।
वार्नरले पछिल्लो पटक अस्ट्रेलियाबाट सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका थिए । उनले २०१९ मा पाकिस्तानविरुद्ध एडिलेडमा अविजित ३ सय ३५ रन बनाएका थिए ।
अस्ट्रेलियाली खेलाडीहरूको टेस्ट क्रिकेटमा यो दोस्रो उच्च स्कोर हो । ३९ वर्षे वार्नरले आफूलाई विश्वकै उत्कृष्ट ओपनरका रूपमा स्थापित गरेका थिए । उनले सबै खाले टी–२० मा ४ सय ३९ खेल खेल्दै १४० भन्दा बढीको स्ट्राइक रेटमा १४ हजारभन्दा बढी रन बनाएका छन् ।
इन्डियन प्रिमियर लिगमा उनलाई तत्कालीन दिल्ली डेयरडेभिल्सले सन् २००९ मा लिएको थियो । उनी २०१३ सम्म दिल्लीमै रहे । २०१४ मा सनराइजर्स हैदराबाद लागेका उनी २०१५ मा कप्तान बने । सन् २०१६ मा उनले सनराइजर्स हैदराबादलाई आईपीएल च्याम्पियन बनाएका थिए । उनले आईपीएलका सात सिजनमा ५ सयभन्दा बढी रन बनाए ।
सन् २०१५, २०१७ र २०१९ मा उनी आईपीएलका सर्वाधिक रनकर्ता थिए । उनले सनराइजर्स हैदराबादबाट २०२१ सम्म आईपीएल खेले । २०२२ मा वार्नरलाई पुनः दिल्ली क्यापिटल्सले लिएको थियो । तस्बिरहरु : काठमान्डु गाेर्खाज