नुमला र वाग्ला पास क्षेत्रबाट उद्धार गरिएका तीन महिला र तीन पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।
सुर्खेत — माथिल्लो डोल्पामा हिमपातका कारण ४ दिनदेखि फसेका ६ भारतीय पर्यटकलाई सोमबार बिहान हेलिकोप्टरबाट सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामा ३ महिला र ३ पुरुष छन् । उनीहरू कात्तिक १४ गतेदेखि नुमला र वाग्ला पास आसपासको क्षेत्रमा सम्पर्कविहीन भएका थिए ।
उनीहरूलाई सकुशल उद्धार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् । उनका अनुसार उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
जिल्ला प्रशासन कार्यालयलाई कात्तिक १४ गते नै पर्यटक हिमपातमा फसेको जानकारी प्राप्त भएको थियो । उद्धारका लागि पहल गरिए पनि प्रतिकूल मौसम र हेलिकोप्टर व्यवस्थापनमा आएको कठिनाइले चार दिनपछि मात्रै उनीहरूको उद्धार सम्भव भएको हो ।
जिल्ला प्रशासनका अनुसार भारतीय पर्यटक आवश्यक प्रशासनिक अनुमति नलिई माथिल्लो डोल्पा पुगेका थिए । उनीहरू डोल्पोबुद्ध गाउँपालिकाको धो क्षेत्रबाट शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालतर्फ फर्कने क्रममा नुमला र वाग्ला पास आसपासमा फसेका थिए ।
जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार त्यस समयमा माथिल्लो डोल्पामा २४४ जना पर्यटक थिए । तीमध्ये १४९ नेपाली, ४४ सार्क राष्ट्रका र ५१ अन्य विदेशी पर्यटक थिए । उद्धार गरिएका ६ भारतीय पर्यटक पनि यही संख्याभित्रका हुन् ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।