फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले शुक्रबार र शनिबार पानीले प्रभावित गरेकाले अब मेला बुधबारसम्म चल्ने बताए ।
काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ललितपुरको जावलाखेल खेल मैदानमा जारी १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थपिएको छ । १२ कात्तिकदेखि जारी ५ दिने प्रदर्शनीको लागि समय थप गरिएको हो । फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले शुक्रबार र शनिबार पानीले प्रभावित गरेकाले दुई दिन समय थपिएको बताए ।
'पानी परेकाले शुक्रबार र शनिबार बन्द जस्तै भयो । जान सक्ने अवस्था थिएन । त्यसैले दुइ दिन समय थप्यौं,' उनले भने । तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना गरिएको मेलामा ८६ वटा प्रदर्शनी कक्ष छन् । मेलामा गोदावरी फूलका ४५० भन्दा बढी प्रजातिका बिरुवा तथा अन्य मौसमी फूलको प्रदर्शन र बिक्री गरिनेछ ।
गोदावरी फूलका ५ प्रजाति (मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर) बीच प्रतिस्पर्धा गराइने र उत्कृष्टलाई पुरस्कृत गर्ने फ्यानले जनाएको छ । मेलामा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रूपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । नेपालमा पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धि भए पनि आयात अझै उच्च रहेको आयोजकले जनाएको छ ।