काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको वास्तविक स्वामित्व कसको हो ? र तिनलाई पुनःस्थापित गर्ने अधिकार कससँग छ ? यिनै प्रश्नको खोजी गर्दै काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय कला प्रदर्शनी सम्पन्न भएको छ ।
‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा आयोजना गरिएको थियो ।
प्रदर्शनीले दक्षिण एसियाली सांस्कृतिक सम्पदाको विस्थापन र पुनःप्राप्तिको विषयलाई कलात्मक अभिव्यक्ति तथा विमर्शको केन्द्रमा राखेको थियो ।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहयोगमा सम्पन्न प्रदर्शनीलाई डा. अर्शिया मन्सुर लोखण्डवालाले क्युरेट गरेकी हुन् ।
प्रदर्शनीमा नेपालका रित्तिएका मन्दिर र त्यहाँबाट हराएका धार्मिक मूर्तिदेखि भारतका विस्थापित कास्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला तथा बंगलादेशका टेराकोटा सम्पदासम्मका विषय समेटिएका थिए । दक्षिण एसियाका विभिन्न मुलुकका सम्पदाले भोगेको विस्थापनको इतिहासलाई एउटै कलात्मक मञ्चमा प्रस्तुत गर्नु प्रदर्शनीको विशेषता थियो ।
विशेषगरी, धार्मिक आस्था र सामुदायिक जीवनसँग अभिन्न रूपमा जोडिएका वस्तुहरू आफ्नो मूल स्थानबाट अलग भएपछि तिनको अर्थसमेत कसरी परिवर्तन हुन्छ भन्ने विषयलाई प्रदर्शनीले उठाएको थियो । कुनै समय पूजा, अनुष्ठान र सांस्कृतिक अभ्यासको हिस्सा रहेका वस्तुहरू संग्रहालयमा पुगेपछि केवल अवलोकनका सामग्रीमा सीमित हुने अवस्थालाई कलाकारहरूले विभिन्न माध्यमबाट अभिव्यक्त गरेका थिए ।
यस क्रममा सम्पदा हराउनुको पछाडि रहेका औपनिवेशिक ज्ञान प्रणाली, अवैध कला तथा पुरातात्त्विक वस्तुको कारोबार र त्यसलाई सम्भव बनाउने संस्थागत संरचनामाथि समेत विमर्श गरिएको थियो । पश्चिमी संग्रहालयहरूले वस्तुको भौतिक स्वामित्वलाई प्राथमिकता दिँदा त्यससँग जोडिएको समुदायको इतिहास, धार्मिक विश्वास र सांस्कृतिक अधिकार ओझेलमा पर्ने गरेको विषय प्रदर्शनीको अर्को महत्वपूर्ण पक्ष थियो ।
प्रदर्शनीमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका कलाकारहरू सहभागी थिए । तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एल.एन. तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिंघेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए ।
सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदाको हराइरहेको इतिहास र तिनको पुनःप्राप्तिको विषय नेपालका लागि विशेष महत्वको रहेको बताइन् । उनका अनुसार यस्ता प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहास र सांस्कृतिक पहिचान आफ्नै दृष्टिकोणबाट बुझ्ने अवसर दिन्छन् । साथै, सम्पदाको पुनःस्थापनाले वर्तमान र भावी पुस्ताका लागि राख्ने अर्थबारे संवाद गर्ने वातावरण पनि तयार गर्छन् ।
क्युरेटर डा. लोखण्डवालाले विश्वभरका संग्रहालयहरूले आफ्ना संग्रहमा रहेका औपनिवेशिक इतिहास र सम्पदाको स्वामित्वबारे पुनर्विचार गर्न थालेको सन्दर्भमा फिर्ताको सवाल महत्वपूर्ण सांस्कृतिक बहस बनेको बताइन् ।
प्रदर्शनीसँगै कलाकार संवाद, कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । यसले कलाकृतिको अवलोकनमा मात्र सीमित नराखी सम्पदा, इतिहास, स्वामित्व र सांस्कृतिक अधिकारका विषयमा प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको थियो ।