Trending
Prev Story
Next Story

विचार | लोकतन्त्रमा विरोध प्रदर्शन : नियन्त्रण होइन, सहजीकरण

Ekantipur •
November 01, 2026 • 11:01 AM
1
1 reads 0 reactions

सडक आन्दोलनका क्रममा आधुनिक प्रहरीको प्राथमिकता ‘भीडलाई कसरी तितरबितर पार्ने’ होइन, ‘प्रदर्शनलाई कसरी सुरक्षित र शान्तिपूर्ण बनाउने’ हुनुपर्छ।

विचार | लोकतन्त्रमा विरोध प्रदर्शन : नियन्त्रण होइन, सहजीकरण

सडक आन्दोलनका क्रममा आधुनिक प्रहरीको प्राथमिकता ‘भीडलाई कसरी तितरबितर पार्ने’ होइन, ‘प्रदर्शनलाई कसरी सुरक्षित र शान्तिपूर्ण बनाउने’ हुनुपर्छ।

सामाजिक सञ्जालमा सरकारी प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध गत वर्ष भदौ २३ मा भएको जेन–जी प्रदर्शन सुरुमा शान्तिपूर्ण थियो । माइतीघर मण्डलबाट नयाँ बानेश्वर गएका प्रदर्शनकारी संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गरेको प्रयास असफल भयो । त्यस क्रममा बल प्रयोग गरिँदा १९ जनाले ज्यान गुमाए । भोलिपल्ट देशका विभिन्न भागमा सार्वजनिक तथा निजी सम्पत्ति, व्यावसायिक प्रतिष्ठान र ऐतिहासिक धरोहरमा तोडफोड तथा आगजनी भयो । सुरक्षाकर्मीलाई हिंसा गरियो र केही प्रहरी कार्यालयबाट हतियार समेत लुटिए ।

यी घटनाले सार्वजनिक सुरक्षामा गम्भीर चुनौती देखाउनुका साथै सरकारले नागरिकको कानुनसम्मत प्रदर्शन व्यवस्थापनसम्बन्धी परम्परागत सोच र लोकतान्त्रिक प्रहरी कार्यशैलीबीचको खाडल उजागर गरेको छ ।

लोकतन्त्रमा सरकारका निर्णय वा कामकारबाहीप्रति असहमति जनाउँदै शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिनु नागरिकको मौलिक अधिकार हो, राज्यले दिएको सुविधा होइन । तर यही अधिकारका नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने वा अरूको जीवन जोखिममा पार्ने छुट कसैलाई हुँदैन । राज्यको चुनौती विरोध रोक्नु होइन, शान्तिपूर्ण प्रदर्शनको अधिकार संरक्षण गर्दै त्यसको आडमा हुने हिंसा र आपराधिक गतिविधि रोक्नु हो । प्रदर्शनलाई खतराका रूपमा होइन, नागरिक असन्तोष व्यक्त गर्ने र ठूलो संकट टार्न मद्दत गर्ने लोकतान्त्रिक माध्यमका रूपमा बुझ्नुपर्छ ।

नेपालको प्रदर्शन व्यवस्थापन अझै ‘भीड नियन्त्रण’को परम्परागत सोचबाट मुक्त हुन सकेको छैन । नेपालको प्रदर्शन व्यवस्थापन अझै ‘भीड नियन्त्रण’को परम्परागत सोचबाट मुक्त हुन सकेको छैन । सडकमा उपस्थित सबैलाई एउटै समूहका रूपमा हेर्ने, जोखिमको वस्तुनिष्ठ मूल्यांकन नगरी बल प्रयोगमा निर्भर हुने र शान्तिपूर्ण प्रदर्शनकारी तथा हिंसा भड्काउने तत्वबीच भिन्नता नछुट्याउने प्रवृत्तिले प्रहरी–नागरिक विश्वास कमजोर बनाएको छ । आधुनिक प्रहरीको प्राथमिकता ‘भीडलाई कसरी तितरबितर पार्ने’ होइन, ‘प्रदर्शनलाई कसरी सुरक्षित र शान्तिपूर्ण बनाउने’ हुनुपर्छ ।

विगतमा कैलालीको टीकापुर, बालकुमारी, तीनकुने र जेन–जी आन्दोलनका घटनाले प्रदर्शन व्यवस्थापनमा राज्यको तयारी र जवाफदेहीबारे गम्भीर प्रश्न उठाएका छन् । पछिल्लो समय सुनसरी र सिरहामा देखिएका साम्प्रदायिक तनावले पनि समयमै संवाद, सूचना र समन्वय गर्न नसक्दा सार्वजनिक सुरक्षा कति जोखिममा पर्न सक्छ भन्ने देखाएको छ ।

यस्ता चुनौती सम्बोधन गर्न संयुक्त राष्ट्रसंघले मानव अधिकार परिषद्को प्रस्ताव ५०/२१ अन्तर्गत सन् २०२४ मा ‘शान्तिपूर्ण विरोध प्रदर्शनका सन्दर्भमा कानुन कार्यान्वयन अधिकारीहरूका लागि नमुना कार्यविधि’ अघि सारेको छ । यसले अन्तर्राष्ट्रिय मानव अधिकार दायित्वलाई प्रहरीको रणनीति, तालिम र मैदानी कार्यविधिमा रूपान्तरण गर्ने व्यावहारिक मार्गदर्शन दिन्छ । यसको मूल मान्यता प्रदर्शनलाई शान्तिपूर्ण मान्दै अघि बढ्ने, केही व्यक्तिको हिंसाका कारण सम्पूर्ण प्रदर्शनलाई हिंसात्मक नठहर्‍याउने र जोखिमअनुसार फरक प्रतिक्रिया दिने हो ।

नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध (आईसीसीपीआर) को पक्षराष्ट्र नेपालका लागि यो कार्यविधि महत्त्वपूर्ण सुधारको आधार बन्न सक्छ । यसले बल प्रयोगका चार आधार— कानुनी आधार, आवश्यकता, समानुपातिकता र सतर्कतालाई जोड दिन्छ । विशेषत: सतर्कताको सिद्धान्तले बल प्रयोगको अवस्था आउनुअघि नै जोखिम पहिचान, संवाद र तनाव न्यूनीकरण गर्न मार्गदर्शन गर्छ ।

यसको अर्थ सुरक्षा संयन्त्र कमजोर बनाउनु होइन, बल प्रयोगलाई व्यावसायिक, आवश्यक र लक्षित बनाउनु हो । सामान्य नाराबाजी, सडक अवरोध, निषेधित क्षेत्रमा प्रवेशको प्रयास र सुरक्षाकर्मी वा अन्य व्यक्तिको जीवनमा आसन्न गम्भीर खतरा एउटै अवस्था होइनन् । त्यसैले शान्तिपूर्ण प्रदर्शनमा सहजीकरण र हिंसात्मक गतिविधिमा संलग्न व्यक्ति लक्षित कानुनी कारबाही प्रदर्शन व्यवस्थापनका आधार हुनुपर्छ ।

प्राणघातक बल प्रयोगको सीमा स्पष्ट हुनुपर्छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिको सामान्य टिप्पणी नं. ३७ ले बन्दुकलाई भीड तितरबितर पार्ने सामान्य साधनका रूपमा प्रयोग गर्न निषेध गरेको छ । जीवन वा गम्भीर चोटको आसन्न जोखिम रोक्न अपरिहार्य अवस्थामा मात्र यसको प्रयोग गर्न सकिन्छ । अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि पूर्वचेतावनी, जोखिम न्यूनीकरण र सुरक्षित रूपमा हट्ने पर्याप्त अवसर सुनिश्चित गर्नुपर्छ ।

प्रहरीलाई उपलब्ध गराइने उपकरणको प्राथमिकता पनि पुनरावलोकन गर्न आवश्यक छ । प्रदर्शन व्यवस्थापनका लागि सैन्य प्रयोजनका हतियारभन्दा सुरक्षित ब्यारिकेड, सुरक्षात्मक पोसाक, हेल्मेट, ढाल र उपयुक्त कम घातक उपकरण आवश्यक हुन्छन् । इन्सास, एसएमजी र एलएमजीजस्ता हतियारलाई भीड व्यवस्थापनको विकल्प बनाउनु उपयुक्त हुँदैन ।

प्रदर्शन सहजीकरण प्रहरीको मात्र जिम्मेवारी होइन । प्रदर्शनअघि आयोजक र प्रहरीबीच मार्ग, सहभागीको अनुमानित संख्या र आकस्मिक अवस्थाबारे समन्वय हुनुपर्छ । आयोजकले स्वयंसेवक वा मार्सल परिचालन गरी अनुशासन कायम गर्न सहयोग गर्नुपर्छ । राज्यले सुरक्षित वातावरण र व्यावसायिक प्रहरी सेवा सुनिश्चित गर्ने, आयोजकले कार्यक्रम शान्तिपूर्ण राख्ने र प्रदर्शनकारीले अरूको अधिकार तथा सार्वजनिक सुरक्षाको सम्मान गर्ने साझा जिम्मेवारी लिनुपर्छ ।

यससँगै कमान्ड र जवाफदेही स्पष्ट हुनुपर्छ । मैदानमा खटिएका प्रहरी मात्र होइन, रणनीति बनाउने र आदेश दिने नेतृत्व पनि जवाफदेह हुनुपर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त परिचालनमा संवाद, नेतृत्व र बल प्रयोगसम्बन्धी निर्णयको जिम्मेवारी पहिल्यै स्पष्ट हुनुपर्छ । बडी क्यामेरा र सीसीटीभी फुटेजको व्यवस्थित प्रयोग तथा स्वतन्त्र छानबिनले प्रहरीलाई निराधार आरोपबाट जोगाउनुका साथै अनुचित कार्यको जवाफदेही सुनिश्चित गर्न मद्दत गर्छ ।

अब हरेक प्रदर्शनपछि मात्र समीक्षा गर्ने र हरेक घटनामा तदर्थ रणनीति अपनाउने परम्परा अन्त्य गर्नुपर्छ । राज्यले शान्तिपूर्ण प्रदर्शन सहजीकरणको राष्ट्रिय ढाँचा निर्माण गर्नुपर्छ । स्थानीय प्रशासन ऐन, २०२८ लगायतका कानुन पुनरावलोकन गर्दै प्रदर्शनपूर्व जोखिम मूल्यांकन, संवाद, एकीकृत कमान्ड, बल प्रयोगको अभिलेखीकरण र स्वतन्त्र छानबिनलाई संस्थागत गर्नुपर्छ । विगतका आयोगका सिफारिसलाई व्यक्तिमाथिको कारबाहीमा मात्र सीमित नगरी कानुन, तालिम र प्रहरी परिचालन प्रणाली सुधार्ने आधार बनाउनुपर्छ ।

असहमति व्यक्त गर्ने अधिकार लोकतन्त्रको अभिन्न हिस्सा हो । राज्यको सुरक्षा क्षमता सुरक्षाकर्मीको संख्या वा बल प्रयोगको शक्तिबाट मात्र होइन, बल प्रयोग नगरी उसले कति ठूलो संकट टार्न सक्छ भन्नेबाट मापन हुनुपर्छ । अबको आवश्यकता ‘भीड नियन्त्रण’ होइन, ‘प्रदर्शन सहजीकरण’को लोकतान्त्रिक प्रहरी संस्कृति हो । सडक मुठभेडको स्थल होइन, नागरिकको आवाज सुनिने र संवादमार्फत समाधान खोजिने खुला मञ्च बन्नुपर्छ ।

कमलसिंह नेपाल प्रहरीका अवकाश प्राप्त एआईजी बम हाल ‘सुरक्षा र न्याय अध्ययन केन्द्र’ मा आबद्ध छन्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

उनको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो २:५० बजे बराहक्षेत्र नगरपालिका-२ चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

#क्रम #आन्दोलन
Compare →
Hamro Patro News
5d ago
जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय पाएका इन...

#क्रम #आन्दोलन
Compare →
Onlinekhabar
5d ago
जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार …

#क्रम #आन्दोलन
Compare →

Related Stories

Opinion & Editorial
Build #2611