हरेक शनिबार हुने पानी र संगीतको प्रदर्शनले पर्यटकको बसाइ लम्ब्याउँदै स्थानीय होटल, रेस्टुरेन्ट र व्यवसायको कारोबार बढाउने अपेक्षा गरिएको छ।
भैरहवा — रुपन्देहीको तिलोत्तमा–६ स्थित कुञ्ज पार्कमा म्युजिकल वाटर फाउन्टेन जडान गरिएको छ। रात्रीकालीन समयमा सञ्चालन हुने फाउन्टेनले पार्कको आकर्षण थपेको छ। स्थानीयले १६ वर्षदेखि विकास र विस्तार गर्दै आएको पार्कमा तिलोत्तमा नगरपालिकाले १ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरी फाउन्टेन निर्माण गरेको हो।
कुञ्ज पार्क विकास समितिका अध्यक्ष लोक पुनका अनुसार बुटवल र भैरहवाको बीच भागमा रहेको पार्क सात बिघा क्षेत्रफलमा फैलिएको छ। त्यसमध्ये एक बिघामा पोखरी छ। यसअघि पोखरीमा बोटिङलगायत सुविधा थिए। नगरपालिकाले पोखरीको पश्चिम किनारमा म्युजिकल वाटर फाउन्टेन निर्माण गरेको हो।
नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको फाउन्टेनको नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका थिए। ‘भिजिट लुम्बिनी, स्टे तिलोत्तमा’ नारालाई सार्थक बनाउन फाउन्टेन निर्माण गरिएको खाँणले बताए। उनका अनुसार नगरभित्र कुञ्ज पार्कसँगै शंकरनगरमा वनवाटिका पनि छ। दातृ निकायको सहयोगमा तिलोत्तमा–१७ मा पाँच बिघा जमिनमा नयाँ पार्क निर्माण थालिएको छ।
‘नगरको पर्यटन प्रवर्द्धन र सामाजिक विकासमा यस्ता पार्कको महत्व रहेको छ,’ उनले भने, ‘पार्कले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मानसिक शान्ति दिने गरेका छन्।’ तिलोत्तमा बसोबासका लागि मात्र नभई प्रकृति, संस्कृति र सम्भावनाको संगम रहेको उनले बताए। भवन र सडकजस्ता भौतिक संरचना निर्माण मात्र विकास नभएको भन्दै उनले मानव विकासलाई पनि नगरपालिकाले सँगसँगै अगाडि बढाइरहेको बताए।
तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले १६ वर्षअघि झाडी रहेको क्षेत्रमा स्थानीय छत्रबहादुर दर्लामीको पहलमा कुञ्ज पार्क निर्माण सुरु भएको बताए। स्थानीयको सक्रियताले पार्क अहिलेको अवस्थामा आइपुगेको उनको भनाइ थियो। ‘सम्भवतः नेपालमा म्युजिकल वाटर फाउन्टेन भएको यो नै पहिलो पार्क हो,’ उनले भने, ‘त्यसैले नगरपालिकाले अन्य आवश्यकता छाडेर पर्यटन प्रवर्द्धनका लागि लगानी गरेको हो।’
हरेक शनिबार पार्कमा वाटर फाउन्टेन प्रदर्शन गरिनेछ। फाउन्टेन अवलोकनका लागि आउने पर्यटकले तिलोत्तमामा एक रात बसाइ लम्ब्याउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए। ‘पार्कका कारण तिलोत्तमामा रहेका होटल, व्यवसाय र रेस्टुरेन्टको कारोबार बढ्नेछ,’ उनले भने, ‘स्थानीयको प्रयास र मिहिनेतका कारण कुञ्ज पार्क रुपन्देहीकै आकर्षण बनेको छ।’
नगरपालिकाका अनुसार म्युजिकल वाटर फाउन्टेन निर्माणका लागि अहिलेसम्म १ करोड २४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। कुञ्ज पार्कमा वनभोज स्थलसँगै हरियाली चौर छन्। पार्कभित्र खानपिन र घुमफिरमा आउनेका लागि बस्ने व्यवस्था पनि छ।