खाडी मुलुकमा वर्षौं श्रम गरेका युवाहरूले आफ्नै गाउँमा कृषि र पशुपालनमार्फत रोजगारी, आम्दानी र आत्मनिर्भरता खोजिरहेका छन्।
अर्घाखाँची — वैदेशिक रोजगारीबाट फर्किएका सात युवासहित नौ जना मिलेर बाँझो पाखोबारीमा अकबरे खुर्सानी र बेसार खेती गरिरहेका छन्। आठ महिनाअघि सन्धिखर्क नगरपालिका–८ किमडाँडामा १४ रोपनी जग्गा सम्याएर उनीहरूले सामूहिक खेती सुरु गरेका हुन्। त्यसमध्ये सात रोपनीमा अकबरे खुर्सानी र बाँकी सात रोपनीमा बेसार लगाएका छन्।
स्थानीय बासिन्दाले प्रति रोपनी वार्षिक २ हजार रुपैयाँ भाडा तिर्ने सर्तमा जग्गा लिएर खेती थालेका हुन्। पहिलो चरणमा लगाएको सात रोपनी अकबरे खुर्सानी उत्पादन हुन थालेको छ। अहिले सन्धिखर्क र चुत्रावेशी बजारमा रातो खुर्सानी प्रतिकिलो १ सय ८० र हरियो १ सय ३० रुपैयाँमा बिक्री भइरहेको उनीहरूले बताए। पहिलो वर्षमै एक लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री भएको छ।
एक पटक रोपेको खुर्सानीको बोटले तीन वर्षसम्म फल दिने भएकाले उनीहरू खेती विस्तार गर्ने योजनामा छन्। सात रोपनीमा बेसार खेती पनि गरेका छन्। यसअघि घरमै तरकारी खेती र गाईभैंसी पालन गर्दै आएका उनीहरूले त्यसलाई सामूहिक उद्यमका रूपमा अघि बढाएका हुन्।
समूहमा आबद्ध कृष्णप्रसाद पराजुलीले केही समय भारत, चार वर्ष मलेसिया, दुई वर्ष कतार र ६ महिना साउदी अरबमा बिताए। विदेशको दुःख र कठिनाइले उनलाई स्वदेश फर्किने निर्णयमा पुर्यायो। अरूको देशमा श्रम गरेर जीवन बिताउनुभन्दा आफ्नै गाउँमा केही गर्ने अठोट लिएर उनी फर्किए। ‘विदेशमा धेरै दुःख पाइयो। आफ्नै देशमा श्रम गर्छु भनेर फर्किएँ,’ उनले भने । जन्मथलो किमडाँडा फर्किएपछि उनले कृषि र पशुपालनलाई मुख्य पेसा बनाए। कृषि उद्यममा लागेको ११ वर्ष भइसकेको छ। उनको गोठमा १५ गाईभैंसी छन्। दैनिक करिब १ सय २० लिटर दूध उत्पादन हुन्छ। गाईको दूध प्रतिलिटर ७० र भैंसीको ८० रुपैयाँमा सन्धिखर्कका डेरी पसलमा बिक्री हुन्छ। सबै खर्च कटाएर मासिक एक लाख रुपैयाँ बचत हुने उनले बताए।
उनी दैनिक मोटरसाइकलमा दूध र तरकारी बजार पुर्याउँछन्। सन्धिखर्कमा शुक्रबार र मंगलबार लाग्ने हाटबजारमा बोरामा तरकारी बोकेर आफैं बिक्री गर्छन्। उनी कृषि उद्यमी मात्रै होइनन्, सन्धिखर्क नगरपालिका–८ का वडा सदस्यसमेत हुन्।
सामूहिक खेतीमा जोडिएका नौ जनामध्ये सात जना वैदेशिक रोजगारीबाट फर्किएका हुन्। उनीहरूले खाडी मुलुकमा वर्षौं बिताएका छन्। समूहमा रहेका खिमप्रसाद भुसालले दुबईमा १० वर्ष बिताए। विदेशमा कमाइ राम्रो भए पनि जन्मभूमिमै उद्यम गर्ने सोच बनाएर फर्किएको उनले सुनाए। अहिले उनी शान्तिनारायण कृषि पशुपन्छी तथा तरकारी फार्म सञ्चालन गर्छन्। उनका चार गाई र एउटा भैंसी छन्। दैनिक करिब ३० लिटर दूध बिक्री गर्छन्। आफ्नै जग्गाको चार रोपनीमा तरकारी खेती पनि गरेका छन्। दूध र तरकारी बिक्रीबाट वर्षमा करिब पाँच लाख रुपैयाँ बचत हुने उनी बताउँछन्। घरको काम र सामूहिक खेतीमा समय मिलाएर सबै मिलेरै काम गर्ने गरेको उनले बताए।
खिम श्रेष्ठले पनि मलेसिया, साउदीलगायत देशमा १३ वर्ष बिताए। सात वर्षदेखि कृषि उद्यममा लागेका उनले तीन गाई र एउटा भैंसी पालेका छन्। दैनिक ३५ लिटर दूध बिक्री गर्छन्। तरकारी खेतीबाट पनि आम्दानी भइरहेको छ। ‘विदेशमा कमाएको पैसा यहीँ कृषि गरेर कमाउन सकिने रहेछ। घरखर्च राम्ररी चलेको छ। परिवारसँगै बसेर काम गर्न पाउँदा सन्तोष लागेको छ,’ उनले भने।
किमडाँडाकै छविलाल भुसालले कतारमा १५ वर्ष बिताए। चार वर्षदेखि कृषि उद्यममा लागेका उनले सातवटा गाईभैंसी पालेका छन्। तीमध्ये चारवटा दुहुना छन्। दैनिक ५० लिटर दूध बिक्री गर्छन्। उनले घाँस उत्पादनलाई पनि प्राथमिकता दिएका छन्। उनको बारीमा ३२ जातका घाँस छन्। ‘परिवारसँग बसेर आफ्नै जमिनमा काम गर्नुको बेग्लै आनन्द छ,’ उनले भने, ‘गाउँका युवालाई कृषि उद्यममा जोड्नुपर्छ। सबैले आ–आफ्नै ठाउँबाट काम गर्दै सामूहिक रूपमा अघि बढ्यौं भने गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिन्छ।’
यहाँका दोर्ण पराजुलीले मलेसिया, कतार र कुवेतमा १३ वर्ष बिताए। त्यहाँको श्रम र संघर्ष नजिकबाट अनुभव गरेका उनले कृषि उद्यम थालेको १० वर्ष भयो। सामूहिक खेतीमार्फत सिंगो किमडाँडालाई तरकारी र दूध उत्पादनको केन्द्र बनाउने लक्ष्यसहित युवाहरूले सामूहिक खेती प्रणाली अपनाएको उनले बताए।
उनको पाँच रोपनी जग्गामा वर्षभरि विभिन्न प्रकारका तरकारी उत्पादन हुन्छन्। पाँचवटा गाई पालेका उनले दैनिक करिब ५० लिटर दूध बजारमा बिक्री गर्छन्। कृषि तथा पशुपालनबाट प्राप्त आम्दानीले घरखर्च चलाएर वार्षिक करिब पाँच लाख रुपैयाँ बचत हुने उनी बताउँछन्। ‘वैदेशिक रोजगारी भनेजस्तो सहज रहेनछ। धेरै दुःख गर्नुपर्यो,’ उनले भने, ‘अहिले परिवारसँगै बसेर पशुपालन र खेतीपाती गर्दा छुट्टै आनन्द छ।’
समूहमा आबद्ध हरि मरासिनी पनि दुई वर्ष ओमानमा रोजगारी गरेर फर्किएका हुन्। छ वर्षदेखि पशुपालन र तरकारी खेतीमा सक्रिय उनीसँग तीन गाई र एउटा भैंसी छन्। दैनिक करिब ३५ लिटर दूध बिक्री गर्छन्। परिवारसँगै बसेर कृषि कर्म गर्दा बढी सन्तुष्टि मिलेको उनको अनुभव छ। ‘सामूहिक खेतीले सिंगो गाउँ बदल्छ भन्ने सोचले हामी सल्लाह गरेर १४ रोपनीबाट सुरुवात गरेका हौं,’ उनले भने।
सामूहिक खेतीमा संलग्न सबैजना वैदेशिक रोजगारीबाट फर्किएका भने होइनन्। स्थानीय लालमणि श्रेष्ठ र कृषि प्राविधिकबाट अवकाशप्राप्त नारायण भुसालले गाउँमै बसेर कृषि तथा पशुपालन गर्दै आएका छन्। नारायणले खुर्सानी र बेसार खेती गर्ने तथा रोगकिराबाट जोगाउने तरिकाबारे अगुवाइ गर्छन्। लालमणि श्रेष्ठले व्यक्तिगत रूपमा चारवटा गाईभैंसी पालेका छन्। दैनिक करिब ४० लिटर दूध बिक्री गर्छन्। आठवटा बाख्रा र एक सयवटा स्थानीय जातका कुखुरा पनि पालेका छन्।
सन्धिखर्क सदरमुकामबाट करिब दुई किलोमिटर दूरीमा रहेको किमडाँडामा लामो समयदेखि दूध र तरकारी उत्पादन हुँदै आएको छ। यहाँबाट दैनिक एक हजार लिटर दूध सन्धिखर्क र चुत्रावेशीका डेरी उद्योगमा पुग्छ। स्थानीय किसानले उत्पादन गरेका कृषि उपजको बजार पनि नजिकै छ। यही सम्भावनालाई उपयोग गर्दै युवाहरूले सामूहिक खेती विस्तार गर्ने योजना बनाएका छन्।
वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।