छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्।
सल्यान — सल्यानमा केशर खेतीको परीक्षण सफल भएको छ। कुमाख गाउँपालिका–३ चिनालीमा गरिएको परीक्षणबाट केशर उत्पादन भएपछि स्थानीय किसान व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन्।
वनस्पति अनुसन्धान केन्द्र, मूलपानी कपुरकोटले दुई वर्षअघि परीक्षणका रूपमा स्थानीय किसान शेरबहादुर पुनको खेतमा केशर खेती सुरु गरेको थियो। परीक्षण सफल भएपछि पुनले यस वर्ष खेती विस्तार गरी करिब आधा रोपनी क्षेत्रफलमा केशर लगाएका छन्।
पुनका अनुसार यस वर्ष उत्पादित १६ ग्राम केशर बिक्री भइसकेको छ। उनले प्रतिग्राम एक हजार रुपैयाँका दरले केशर बिक्री गरेका हुन्। थोरै क्षेत्रफलमा गरिएको खेतीबाटै राम्रो मूल्य पाउन थालेपछि आफू उत्साहित भएको उनले बताए। उत्पादन र आम्दानीको सम्भावना हेरेर आगामी वर्ष खेती थप विस्तार गर्ने उनको योजना छ।
परम्परागत खेतीबाट उत्पादन लिन ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने भए पनि केशरबाट तुलनात्मक रूपमा छोटो समयमै आम्दानी लिन सकिने पुनको भनाइ छ। ‘अन्य बाली लगाएर उत्पादन लिन लामो समय कुर्नुपर्छ। केशर खेतीबाट भने रोपेको करिब एक महिनामै आम्दानी लिन सकिने रहेछ,’ उनले भने।
सल्यानको हावापानीमा केशर खेतीको सम्भावना देखिएपछि परीक्षण सुरु गरिएको वनस्पति अनुसन्धान केन्द्र, मूलपानी कपुरकोटका प्रमुख डा. मित्र पाठकले बताए। उनका अनुसार परीक्षणबाट उत्पादनसमेत प्राप्त भएपछि जिल्लामा यसको व्यावसायिक खेती विस्तार गर्न सकिने सम्भावना देखिएको छ। परीक्षणका क्रममा किसानलाई आर्थिक तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको उनले जानकारी दिए।
केशर बहुमूल्य मसला तथा औषधीय प्रयोजनमा प्रयोग हुने वनस्पति हो। उच्च बजार मूल्यका कारण यसको व्यावसायिक खेती किसानका लागि आम्दानीको वैकल्पिक स्रोत बन्न सक्ने पाठकको भनाइ छ। तर व्यावसायिक उत्पादनका लागि उपयुक्त हावापानी, खेती प्रविधि, गुणस्तरीय रोपण सामग्री र बजारको सुनिश्चितता आवश्यक रहेको उनले बताए।
वनस्पति अनुसन्धान केन्द्र प्रमुख डा. पाठकका अनुसार केसरको गानो भदौ/असोज महिनाभित्र रोपिसक्नुपर्छ। रोपिएको केसरमा कात्तिकमा फूल फुल्ने गर्छ। फूलमा टुसा पलाएपछि त्यसलाई संकलन गरी बिक्री गर्न सकिन्छ। फूल संकलन गरेपछि गानो भने अर्को वर्षको उत्पादनका लागि सुरक्षित राखिन्छ। त्यसबाट नयाँ गाना उत्पादन गरी खेती विस्तार गर्नसमेत सकिन्छ। केसरको गानो पानीबाट जोगाउनुपर्ने भएकाले निकालिसकेपछि ओभानो स्थानमा राख्नुपर्ने डा. पाठकले बताए। सल्यानमा परीक्षणका लागि रोपिएका केसरका गाना जुम्ला र डोल्पाबाट ल्याइएको उनले जानकारी दिए।
सल्यानमा गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि केशर खेतीलाई अन्य क्षेत्रमा समेत विस्तार गर्ने सम्भावना खुलेको उनले बताए । उत्पादन र बजारको अवस्था अध्ययन गर्दै खेती विस्तार गर्न सके परम्परागत कृषि प्रणालीमा निर्भर किसानलाई उच्च मूल्यका कृषि उपज उत्पादनतर्फ आकर्षित गर्न सकिने अपेक्षा गरिएको डा. पाठकको भनाइ छ।
सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।