कुमारी बैंक लिमिटेडले नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा सामान्य बढेको हो ।
विवरण अनुसार बैंकले चालू आवको ३ महीनामा १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा गत आवको यसै अवधिको तुलनामा १.७० प्रतिशत बढी हो । बैंकले गत आवको असोज मसान्तसम्म १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले गत आवको पहिलो ३ महीनामा २ अर्ब ९१ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा २८.१९ प्रतिशतले घटेर २ अर्ब ९ करोड १२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँबाट घटेर ३ अर्ब ६७ करोड २० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १ अर्ब ४२ करोड ४० लयाख रुपैयाँबाट बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको प्रतिसेयर आम्दानी १६.११ रुपैयाँबाट बढेर १६.३९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७२.३१ रुपैयाँ रहेको छ । खराब कर्जा ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९१ करोड ९९ लाख ऋणात्मकबाट १४ करोड ७१ लाख रुपैयाँ धनात्मक भएको छ ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको रिटेन्ड अर्निङमा १४ करोड ७१ लाख रुपैयाँ र रिजर्भमा १८ अर्ब ८१ करोड ६० लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले २ खर्ब ९३ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरी ४ खर्ब २८ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।