डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार नेपाली सेनाको हेलिकोप्टर केही समयमै पर्यटकहरूको उद्धारका लागि पुग्दैछ।
काठमाडौँ — डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८, दानिगाड क्षेत्रमा हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न लागिएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार नेपाली सेनाको हेलिकोप्टर केही समयमै पर्यटकहरूको उद्धारका लागि पुग्दैछ। उद्धारमा लाग्ने खर्च विपद् व्यवस्थापन कोषबाट व्यहोर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताइन्।
हिमपातका कारण अलपत्र परेका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंहा, दिप्लिना विश्वास र राजेश डे रहेका छन्।
जिल्लामा केही दिनदेखि लगातार भइरहेको हिमपातका कारण उच्च हिमाली क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै पर्यटकलाई समेत जोखिम बढेको छ।
प्रतिकूल मौसमका कारण थप जोखिम निम्तिन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले स्थानीय बासिन्दा तथा पर्यटकलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।