विराटनगरले पाँच ओभरमा १०५ रन बनाएपछि सुदूरपश्चिमलाई ७० रनमा रोक्दै प्रतियोगिताको तेस्रो खेलमा पहिलो जित दर्ता गर्यो।
काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति ९:२० बजे सुरु भएको खेलमा टस हारेर ब्याटिङमा आएको विराटनगरले ५ ओभरमा २ विकेट गुमाई १ सय ५ रन बनाएको थियो ।
सुदूरपश्चिम रोयल्सका थारिन्दु रत्नायकेको पहिलो ओभरमा विराटनगर किंग्सले ३५ रन प्रहार गरेको थियो, जसमा सेहन जयसूर्याले ५ छक्का प्रहार गरेका थिए भने एउटा बाई चौका रहेको थियो । जयसूर्या ११ बलमा ३९ रन बनाई आउट भए । सो क्रममा उनले ५ छक्का र २ चौका प्रहार गरे । उनलाई अविनाश बोहराले एलबीडब्लू आउट गरे ।
अर्का ओपनर लोकेश बम १० बलमा १ चौका र ३ छक्का प्रहार गरी २५ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भए । अविजित रहेका एन्ड्रे रसेलले १० बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाए । सुदूरपश्चिमबाट दुवै विकेट अविनाशले लिए ।
जवाफमा आएको सुदूरपश्चिमले ३ विकेट गुमाई ७० रनमात्र बनाउन सक्यो । आरिफ शेख ८ बल खेली २ छक्का प्रहार गरी १७ र स्कट कुग्लेन ६ बल खेली १ चौका र ४ छक्का प्रहार गरी २८ रनमा अविजित रहे ।
सेरफन रदरफोर्ड पहिलो बलमै रसेलद्वारा इनसाइड एज लागेर बोल्ड भए । कप्तान दीपेन्द्रसिंह ऐरी ५ बलमा १ रन बनाई आउट भए । सैफ जैबले १७ रन जोडे । रुपेश सिंहको बलमा उनी रसेलबाट रनिङ क्याच हुनुअघि १० बल खेलेर २ छक्का प्रहार गरेका थिए । विराटनगरबाट रसेल, एन्जेलो म्याथ्युज र रुपेश सिंहले १–१ विकेट लिए ।
विराटनगरले तेस्रो खेलमा पहिलो विजय हात पारेको हो । पछिल्ला दुई सिजनको उपविजेता सुदूरपश्चिमको पनि ३ खेलमा २ हार र १ जित रहेको छ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।