Trending
Prev Story
Next Story

बाह्रसिंगाको बथान हेर्न शुक्लाफाँटामा भीड

Ekantipur •
October 31, 2026 • 11:01 AM
1
1 reads 0 reactions

आन्तरिक पर्यटकको बढ्दो आगमनले शुक्लाफाँटामा अहिले सफारी साधन र पर्यटकको चाप बढाएको छ।

बाह्रसिंगाको बथान हेर्न शुक्लाफाँटामा भीड

आन्तरिक पर्यटकको बढ्दो आगमनले शुक्लाफाँटामा अहिले सफारी साधन र पर्यटकको चाप बढाएको छ।

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पथप्रदर्शक कुम ठाकुरलाई यतिबेला पर्यटक घुमाउन भ्याइनभ्याई छ। पर्यटक लिएर उनी दैनिक दुई पटक निकुञ्ज प्रवेश गरिरहेका छन्। बिहानदेखि दिउँसोसम्म एउटा समूह र त्यसपछि साँझसम्म अर्को समूहलाई घुमाउने उनको दैनिकी बनेको छ।

‘दसैंपछि पर्यटकको संख्या बढेको छ, दैनिक एक सय बढीले सफारी गरिरहेका छन्,’ ठाकुरले भने, ‘कुनै दिन त सफारीका लागि पर्यटकले पालो कुर्नुपर्ने हुन्छ।’ उनका अनुसार अहिले जंगल सफारीका लागि सीमित साधन मात्रै छन्। त्यसैले पर्यटकको संख्या बढ्दा पालो कुर्नुपर्ने अवस्था छ।

दसैं–तिहारका बेला शुक्लाफाँटामा चहलपहल बढ्ने गरेको छ। दसैं मनाउन देश–विदेशबाट घर फर्किएकाहरू परिवारसहित घुम्न आउने भएकाले पनि अहिले निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्या बढेको हो। घुम्न आउनेमध्ये अधिकांश आन्तरिक पर्यटक छन्। त्यसमा पनि धेरैजसो महेन्द्रनगर र धनगढी क्षेत्रका छन्। ‘विदेशी पर्यटकको संख्या त निकै कम छ,’ ठाकुरले भने, ‘यो सिजनमा अहिलेसम्म विदेशी पर्यटकका एउटा–दुईवटा समूह मात्रै आएका छन्।’

निकुञ्ज प्रशासनले बर्खायाममा बन्द रहेको जंगल सफारी दसैं–तिहारलाई लक्षित गरेर खुला गरेको हो। बर्खायाममा बिग्रिएका बाटो मर्मतदेखि निकुञ्जको विशाल घाँसे मैदानमा घाँस व्यवस्थापनसम्मका काम भइरहेका छन्। निकुञ्जले मझगाउँ प्रवेशद्वारबाट रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदान भएर बर्कौला हुँदै मझगाउँसम्मको सफारी मार्ग तयार गरेको छ।

‘सबै रुट सफा नभएकाले पर्यटकलाई सबै क्षेत्रमा पुर्‍याउन सकिएको छैन,’ ठाकुरले भने, ‘सबै रुटको मर्मत र घाँसे मैदान व्यवस्थापन राम्रो हुन सके वन्यजन्तु सहजै देख्न सकिन्छ।’ निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको प्रमुख बासस्थान हो। ५४ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको घाँसे मैदान व्यवस्थापनका लागि वर्षे घाँस काट्नेदेखि नियन्त्रित रूपमा आगो लगाउनेसम्मका गतिविधि गरिँदै आएका छन्।

‘अब छिट्टै सबै रुट मर्मत गरेर सफारीका लागि खुला गरिनेछ,’ निकुञ्जका रेन्जर प्रयास केसीले भने, ‘बाटो किनारको घाँस काट्नेदेखि अन्य सरसफाइको काम भइरहेको छ।’ उनका अनुसार दसैं–तिहारमा पर्यटकको संख्या बढ्ने अनुमानकै आधारमा मुख्य रुट मर्मत गरेर सफारी खुला गरिएको हो।

‘अहिले दैनिक एक–डेढ सय हाराहारी पर्यटक निकुञ्जभित्र प्रवेश गरिरहेका छन्,’ रेन्जर केसीले भने, ‘विगतको तुलनामा यस वर्ष पर्यटकको चाप राम्रो देखिएको छ।’ उनका अनुसार विगतका वर्षमा पनि दसैं–तिहारको अवधिमा निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्ने गरेको थियो। तर यस पटक अझ बढी भएको उनी बताउँछन्। दसैंपछि मात्रै ७ सयभन्दा बढी पर्यटक निकुञ्ज प्रवेश गरेको उनले जानकारी दिए।

सानो क्षेत्रफलमा बढी बाघ भएको, बाह्रसिंगाका बथान सहजै हेर्न सकिने र अन्य वन्यजन्तुसँगै प्राकृतिक तालतलैया तथा विशाल घाँसे मैदान रहेका कारण शुक्लाफाँटा पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना छ। तर यहाँ प्रायः पर्यटकको संख्या न्यून हुने गरेको छ। पछिल्लो समय घुमफिरको संस्कृति बढेसँगै आन्तरिक पर्यटकको संख्याले केही आशालाग्दा संकेत देखाउन थालेको छ। यसले संरक्षणकर्मीदेखि पर्यटन व्यवसायीसम्मलाई उत्साहित बनाएको छ। निकुञ्जको प्रचारप्रसारसँगै पर्यटकीय पूर्वाधार विकासमा जोड दिन सके पर्यटकको संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार ५० वयस्क बाघ, २३ सयभन्दा बढी बाह्रसिंगा, २३ गैँडा र ३ सयभन्दा बढी कृष्णसार छन्। यसका साथै हात्ती, चित्तल र चरा अवलोकनका लागि पनि निकुञ्ज आकर्षणको केन्द्र रहेको छ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
15h ago
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घु...

#पर्यटक #आन्तरिक
Compare →

Related Stories

World News
Build #2611