Trending
Prev Story
Next Story

शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध

Ekantipur •
November 12, 2026 • 01:32 PM
1
1 reads 0 reactions

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस जडान गरिएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् ।

शुक्लाफाँटाबाट ६०० किलोमिटर उडेर भारतमा गुँड बनाउँदै डंगर गिद्ध

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस जडान गरिएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् ।

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ महिनाअघि ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) जडान गरेको एउटा गिद्ध ६०० किलोमिटर दुरी पार गर्दै भारतको हिमाञ्चाल प्रदेशमा गुँड बनाउन थालेको अवस्थामा फेला परेको छ । उक्त गिद्ध हिमाञ्चल प्रदेशको पोंग सागर (पांग ताल) क्षेत्रमा गुँड बनाइरहेको अवस्थामा हालै भेटिएको हो ।

मार्च २०२६ मा शुक्लाफाँटाको राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा १५ वटा डंगर गिद्धमा जीपीएस जडान गरिएको थियो । तिनैमध्येको एउटा गिद्ध अहिले पोंग ताल क्षेत्रमा सल्लाको रुखमा गुँड बनाइरहेको देखिएको हो ।

हिमाञ्चलकी जीव विज्ञ माल्यश्री भट्टाचार्यले ४ नोभेम्बरमा उक्त गिद्धलाई सल्लाको रुखमा गुँड बनाइरहेको अवस्थामा देखेकी हुन् । उनले नै गुँड बनाइरहेको फोटो समेत खिचेकी छन् ।

उक्त गिद्ध जीपीएस जडान गरेको एक साता जति शुक्लाफाँटा क्षेत्रमा बसेको थियो । त्यसपछि भारतको जिम कार्बेट नेशनल पार्क हुँदै पोंग क्षेत्रमा पुगेको हो । मार्च २०२६ मा ट्याग लगाइएकामध्ये सबैभन्दा टाढा पुगेको गिद्ध यहि हो ।

‘अहिले गिद्धको प्रजनन्‌को समय पनि हो, यतिबेला गुँड बनाउने र ओथारो बस्ने गर्छ,’ नेपाल पन्छी संरक्षण संघका परियोजना फिल्ड अधिकृत हिरुलाल डगौंराले भने, ‘कति जोडी खोजेर ओथारो बसिसके, कतिपय जोडी खोज्न भौँतारिएका छन् ।’ उनका अनुसार असोजदेखि जेठसम्म गिद्धको प्रजनन् समय हो ।

‘सामान्यतया डंगर गिद्ध आहाराको खोजीमा एक दुई सय किलोमिटर टाढासम्म पुग्ने गर्छ,’ नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम प्रबन्धक अंकितविलाश जोशीले भने, ‘अहिले ६०० किलोमिटर हाराहारी दुरी पार गरेर गिद्ध पोंग क्षेत्रमा गुँड बनाइरहेको छ ।’ उनका अनुसार यसअघि सन् २०१७ मा कावासोतीमा ट्याग लगाइएको एउटा गिद्ध ११०० किलोमिटर दुरी पार गरेर भारत पाकिस्तानको सीमासम्मै पुगेको थियो ।

पन्छी संरक्षण संघले मार्च २०२६ मा शुक्लाफाँटाको तारापुर क्षेत्रमा १५ वटा र २०२५ सेप्टेम्बरमा शुक्लाफाँटाकै हिरापुर क्षेत्रमा ५ वटा डंगर गिद्धमा जीपीएस जडान  गरिएको थियो । ति सबै गिद्धको अहिले अनुगमन भइरहेको संघले जनाएको छ । यसअघि सन् २०२३ मा शुक्लाफाँटामै १० वटा डंगर गिद्ध र ४ वटा सानो खैरो गिद्धमा पनि जीपीएस जडान गरी अनुगमन गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमै जीपीएस लगाइएका गिद्धहरू आहाराको खोजीमा डोटी, डडेलधुरा, बैतडी र भारततर्फ उत्तराखण्डको पिथौरागढ चम्पावत तथा उत्तर प्रदेशको पिलिभित, लख्खिमपुर खिरीलगायत क्षेत्रमा पुग्ने गरेका छन् । तर ति गिद्धहरू केही दिनमै फर्किने गरेका थिए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

World News
Build #2611