उपाधिको दाबेदार विराटनगर लगातार दुई हारपछि दबाबमा छ भने सुदूरपश्चिम एक जितसहित आत्मविश्वास बढाउने लक्ष्यमा मैदान उत्रिँदैछ।
काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको दोस्रो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको पृष्ठभूमिमा यो खेल हुन लागेको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ । वर्षा रोकिएपछि मैदान ढाकिएका कभरहरू निकालिएका छन् । मैदानमा जमेको पानी निकालिँदै छ । मैदान सुकाउने कार्य भइरहेको छ । यसअघिका दुई एनपीएलमा वर्षाका कारण कुनै खेल रोकिएका थिएनन् ।
ओभर घटाएर पनि खेल सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक एवं नेपाल क्रिकेट संघका सदस्य धीरेन्द्र साउदले जनाए ।
उपाधिका लागि बलियो दावेदार मानिएको विराटनगर पहिलो दुवै खेलमा पराजित भएको थियो । विराटनगरलाई पहिलो खेलमा चितवनले ८ रनले र दोस्रो खेलमा कर्णाली याक्सले ४ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमै लुम्बिनीसँग ७ विकेटको पराजय भोगेर रन्थनिएको सुदूरपश्चिमले अर्को खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।