Trending
Prev Story
Next Story

मौसमको पूर्वसूचना बेवास्ता गर्दा खेतमै भिज्यो काटेको धान

Ekantipur •
October 31, 2026 • 09:31 AM
1
1 reads 0 reactions

पूर्वी नवलपरासीमा अझै ४० प्रतिशत किसानले धान काट्न बाँकी छ भने सयौँ बिघामा काटेको धान भिजेको छ।

मौसमको पूर्वसूचना बेवास्ता गर्दा खेतमै भिज्यो काटेको धान

पूर्वी नवलपरासीमा अझै ४० प्रतिशत किसानले धान काट्न बाँकी छ भने सयौँ बिघामा काटेको धान भिजेको छ।

नवलपुर — 'अर्णव' चक्रवातको प्रभावका कारण शुक्रबारदेखि भइरहेको वर्षाले पूर्वी र पश्चिम नवलपरासीका किसानले काटेको धान भिजेको छ । मौसमबारे सार्वजनिक भएको पूर्वसूचनालाई बेवास्ता गर्दै केही किसानले कात्तिक १० र ११ गते पनि धान काटेका थिए । अहिले काटेर खेतमै राखिएको धान वर्षाले भिजेपछि किसान चिन्तित छन् ।

बिहीबार साँझदेखि परेको वर्षाका कारण खेतमा काटेर राखिएको धान डुबेको छ । यसरी डुबेको धान खेतमै उम्रिने चिन्ता रहेको देवचुलीका पतिराम थारुले बताए । ‘यसअघि पनि असोजमा दुई/तीन दिन पानी आउने भनेर सामाजिक सञ्जालभरि भरिएको थियो । तर, अहिले पनि सूचनाको विश्वास लागेन,’ उनले भने, ‘सामान्य वर्षा होला भनेर काटियो । हतारहतार मेसिन लगाएर धान भित्र्याउन खोजेको समयमा मेसिन पनि पाइएन ।’

पूर्वी नवलपरासीमा अझै ४० प्रतिशत किसानले धान काटेका छैनन् । काट्न ठिक्क परेको धान दुई/तीन दिनसम्म वर्षा भएमा पछि सुकाउन समय लाग्ने र काट्न ढिलो हुँदा खेतमै ढल्ने समस्या हुने किसानको गुनासो छ । हतारहतार धान काटेका किसानको पनि खेतमा राखिएको धान भिजेको छ ।

चक्रवातको असर पर्ने भन्दै किसानलाई कात्तिक १२ देखि १४ गतेसम्म धान नकाट्न तथा काटिसकेको भए तत्कालै व्यवस्थापन गर्न सूचना प्रवाह गरिएको कृषि ज्ञान केन्द्र, नवलपुरका सूचना अधिकारी विश्वास ढकालले बताए । तर, केही किसानले धान काट्दा भिजेको उनले जानकारी दिए । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीलगायत धान खेती हुने क्षेत्रमा सयौँ बिघामा काटेको धान भिजेको छ । यद्यपि, क्षतिको यकिन विवरण भने आइसकेको छैन । पूर्वी नवलपरासीमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । बिहीबारसम्म ६० प्रतिशतभन्दा बढी किसानले धान भित्र्याइसकेका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Prev Swipe Story Next

Related Stories

Science & Climate
Build #2612