Trending
Prev Story
Next Story

४० वर्ष बगर बनेको खेतमा लहलह धान

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, चितवन । फाँटै पहेँलपुर बनाइरहेका धान । त्यही फाँटमा खेतको डिलमा उभिएर पाक्दै गरेको धान हेर्ने दैनिकी बनेको छ, पवित्रा गुरुङको । धानका बाला झुल्दा उनलाई खेत छोड्नै मन लाग्दैन । धान हेर्न खेतमै …

४० वर्ष बगर बनेको खेतमा लहलह धान

१४ कात्तिक, चितवन । फाँटै पहेँलपुर बनाइरहेका धान । त्यही फाँटमा खेतको डिलमा उभिएर पाक्दै गरेको धान हेर्ने दैनिकी बनेको छ, पवित्रा गुरुङको ।

धानका बाला झुल्दा उनलाई खेत छोड्नै मन लाग्दैन । धान हेर्न खेतमै आइपुग्ने पवित्रा एक्ली भने होइनन् । उनका छिमेकीहरू कोही धानका बाला सुम्सुम्यारहेका भेटिन्छन् त कोही खेतको अवस्थाबारे कुरा गर्छन् ।

यो चितवनको इच्छाकामना गाउँपालिका–७, सिमलढापको कथा हो । चार दशक पहिले पनि यहाँ चैते धान र वर्षे धान फल्थ्यो । मलिलो खेतमा लहलहाएको धान हेरेर परिवारले वर्षभरि खान पुग्ने अन्नको हिसाब गर्थे ।

किसानको त्यो सपना २०४१ साल असोज १ गते बिहान आएको एउटा भीषण बाढीले क्षणभरमै बगाइदियो । धान भित्राउने तरखरमा रहेका स्थानीयको ३३ बिघा खेतमा हेर्दाहेर्दै ढुंगा, गिट्टी र बालुवा थुप्रियो ।

खगेरी खोलाको माथिल्लो तटीय क्षेत्रमा रहेको खहरे खोलामा आएको बाढीले खेत मात्रै बगाएन, ३२ घर समेत बगायो । घरखेतसँगै अन्नपात, भाँडाकुँडा र पशुचौपाया पनि बगे ।

चार दशकपछि त्यही बगरमा फेरि धान झुलेको छ । बाढीले बगरमा परिणत गरिसकेको खेतबाट कसरी किसानका भकारीमा धान भित्रिए ? त्यो चर्चा गर्नुभन्दा पहिला त्यही विनासकारी बाढीकै चर्चा गरौं ।

असोज महिनाको पहिलो दिन आएको बाढी प्रत्यक्ष देखेका स्थानीय कृष्णप्रसाद श्रेष्ठ अझै पनि घटना सम्झँदा भावुक हुन्छन् । बाढीमा बगेका मानिसलाई बचाउन उनी आफैँ खटिएका थिए । तर, सबैलाई बचाउन नसकेको पीडाले अहिले पनि उनको गला अवरुद्ध हुन्छ ।

‘शिकारी कुना छेउमा पाँचवटा घर थिए । बाढीले ती घरलाई पल्टाउँदै बगायो । घरभित्र मान्छे थिए । तर, अर्को घरका बालबालिकालाई तार्ने काम हुँदै थियो, उता श्रीमान्–श्रीमती दुई जनालाई नै बगायो,’ उनी सम्झन्छन्, ‘आँखै अगाडि बगाउँदा हेर्न मात्रै सकियो ।’

बाढीको पानी विस्तारै घट्दै गयो । तर, त्यसले छाडेको क्षति घटेन । घरहरू सबै बगे । घरसँगै पशुचौपाया, अन्नपात र भाँडाकुँडा केही रहेन् ।

बाढी आउनुअघि स्थानीयले यही खेतमा वर्षमा दुई खेती गर्थे—चैते धान र वर्षे धान । जग्गाको मूल्य पनि राम्रो थियो ।

खेत बगर बनेपछि स्थानीयको जीविकोपार्जनको आधार नै सकियो । नम्बरी जग्गा भएर पनि उत्पादन लिन नपाउने अवस्था आयो । परिवार पाल्न गाह्रो भयो । कोही बसाइँ सरेर गए । कोही काम खोज्दै बजार पुगे ।

स्थानीय पार्वती गुरुङ आफू २०६० सालमा भरतपुरबाट विवाह भएर आउँदा खेत भनिएको ठाउँमा बालुवा र ढुंगा बाहेक केही नभएको सम्झन्छिन् । उनी भन्छिन्, ‘कतै कतै काँस पलाएको थियो । त्यही बाख्रा चराउन लग्थे ।’

पानी सम्झदा पनि तसिर्ने यहाँका स्थानियले बिस्तारै पानीको महत्त्व बुझ्न थाले । पानीको मुहान र सञ्चित गर्ने ठाउँ बनाउने, खोलाको बहाव व्यवस्थापन गर्ने र खेतसम्म सिँचाइ पु‍र्याउने विषयमा छलफल गर्न थाले । स्थानीय प्रेमबहादुर श्रेष्ठ त्यही प्रयासको एउटा महत्वपूर्ण संरचना—जैविक पोखरी वा रिचार्ज पोखरी—देखाउँदै पानी सञ्चित गर्ने काम गरेको बताउँछन् ।

‘यो पोखरीको नाम रिचार्ज पोखरी दिएका छौं । यो पोखरीले वरपर भएका बोटबिरुवालाई रिचार्ज गर्ने, सुख्खा जमिन हुन नदिने र बोट बिरुवा उमार्ने हुर्काउन सहयोग गर्यो,’ प्रेमबहादुर भन्छन् ।

बोट बिरुवा हुर्कदै गएपछि सामुदायिक वनको अवधारणा आएको उनी बताउँछन् । उनका अनुसार पोखरीमा सञ्चित भएको पानीलाई कसरी खेतसम्म पुर्याउने भन्ने विषयमा स्थानीयले सल्लाह गरे ।

सामुदायिक वनको अगुवाइमा विश्व वन्यजन्तु कोषको सहकार्यमा खगेरी जलाधार क्षेत्रमा प्रकृतिमा आधारित समस्या समाधान कार्यक्रमले सिंचाइको लागि कुलो बनाउन सहयोग गरेको छ । बगरमा परिणत भएको जमिनलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यसहित पानी सञ्चित गर्ने पोखरी, कुलो र खोलाको बहाव व्यवस्थापनमा काम भइरहेको छ।

प्रेमबहादुरका अनुसार दुई वर्षदेखि कुलो निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ । तर, सबै ठाउँमा सिँचाइ सुविधा भने पुगिसकेको छैन । कतिपय जमिन अझै खेतीयोग्य बनाउन बाँकी छ ।

खेतमा आवश्यकताअनुसार पानी लैजाने र आवश्यक नपरे खोलामा फर्काउने व्यवस्था गरिएको छ । खोलाको बहाव व्यवस्थित गर्न ड्याम बनाइएको छ । कुलोबाट खेतखेतमा पानी पु‍र्याउने र पानीको आवश्यकता नहुँदा खोलामै पठाउने अभ्यासले खेतीलाई सहज बनाएको पार्वतीको भनाइ छ ।

कुलोको नियमित मर्मतसम्भार पनि स्थानीयकै जिम्मेवारी बनेको छ । वर्षमा तीनपटक कुलो सफा गर्ने गरिएको छ ।

पानी सञ्चित गर्ने पोखरी बनेपछि र कुलोमार्फत खेतसम्म पानी पुर्याउन थालिएपछि भने परिस्थिति बदलिन थाल्यो ।

स्थानीय पार्वती श्रेष्ठले दुई परिवारले दुई बाली धान लगाएर भित्र्याएको बताइन् । उनी भन्छिन्, ‘४१ वर्षसम्म बगर बनेको खेतमा धान फलेको देखेपछि स्थानीयले धान मुसार्न थालेका हुन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4h ago
नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

चितवनको रत्ननगर नगरपालिका–९ स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वनका स्थानीय उपभोक्ताले लामो समयदेखि दलदलका रूपमा रहेको क्षेत्रलाई आकर्षक जलाधारमा रूपान्तरण गरेका छन्। प्राकृतिक जैविक बाँध निर्माण ...

#बने #चितवन
Compare →

Related Stories

Business & Economy
Build #2612