प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएको अदालत सेटिङसम्बन्धी समाचारपछि पत्रकारमाथि कारबाही भएको उनले आरोप लगाएका छन्।
काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकारलाई तर्साउने कार्य प्रेस स्वतन्त्रतामाथिको ठाडो हमला भएको बताएका छन् ।
शनिबार जारी प्रेस विज्ञप्तिमा उनले सञ्चारमाध्यमका कार्यालयमा प्रहरीका गाडी तेर्स्याउने, समाचार कक्षमै प्रहरी प्रवेश गराउने र कार्यस्थलमा रहेका कर्मचारीलाई धरपकड गर्ने कार्यलाई राज्यशक्तिको नग्न दुरुपयोगको संज्ञा दिएका छन् ।
अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरणमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश र सत्तापक्षीय सांसदको नाम जोडिएर समाचार सार्वजनिक भएपछि सरकारले समाचार लेख्ने पत्रकारमाथि धरपकड गरेको उनको आरोप छ । पक्राउ पुर्जीबिनै पत्रकारलाई नियन्त्रणमा लिने र कतिपयलाई साइबर ब्युरोमा बोलाउने कार्यले नेपालमा समाचार लेख्ने वातावरण संकुचित हुँदै गएको उनले बताएका छन् ।
'सरकारले गरिरहेका काममा कमजोरी औंल्याउने पत्रकारलाई धरपकड गरिनुले सरकार प्रश्नभन्दा माथि रहेको देखिएको छ,' उनले विज्ञप्तिमा भनेका छन् ।
पत्रकार पक्राउ प्रधानमन्त्री कार्यालयकै दबाबमा भएको प्रहरी अधिकारीले बताएको दाबी गर्दै उनले प्रधानमन्त्रीको निर्देशन र सरकारका प्रत्येक काम कानुनसम्मत हुनुपर्ने बताएका छन् । अनियमितता र छानबिनका विषयमा स्थापित निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने उनको भनाइ छ ।