राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्रले पछिल्लो समय देशमा भइरहेका पक्राउ, खानतलास र विभिन्न गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले पत्रकार पक्राउदेखि पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी र व्यापारीका घरमा गरिएको खानतलाससम्मका घटनालाई जोड्दै यस्ता गतिविधिले सत्ताकब्जाको संकेत गरिरहेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले पत्रकार पक्राउ परेपछि रिहा हुनु स्वाभाविक भए पनि त्यससँग जोडिएका अन्य घटनालाई बेवास्ता गर्न नहुने बताएका छन्।
उनले समाचार कक्षबाटै बिना पुर्जी पत्रकार पक्राउ गरिएको, मध्यरातमा पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको तथा व्यापारीको घरमा खानतलासी गरिएको विषय उठाएका छन्। त्यस्तै, दिनदहाडै व्यापारीहरू पक्राउ परेको र विभिन्न सञ्चारगृह तथा राजनीतिक नेताहरूको घरअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको घटनाप्रति पनि उनले प्रश्न गरेका छन्।
मिश्रले अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै तर्साइएको आरोपसमेत लगाएका छन्। उनले आफ्ना निकटस्थलाई संरक्षण गर्ने र अरूलाई दबाब दिने प्रवृत्तिमाथि टिप्पणी गर्दै पछिल्ला गतिविधिलाई सामान्य रूपमा लिन नहुने बताएका छन्।
सत्तारुढ पक्षका केही व्यक्तिले सञ्चारमाध्यममा संसद्को तल्लो सदन मात्रै आफ्नो नियन्त्रणमा रहेको र राष्ट्रिय सभा, स्थानीय तह, कर्मचारीतन्त्र, न्यायालय तथा प्रहरी पुरानै संरचनाअन्तर्गत रहेको बताउने गरेको प्रसंग पनि उनले उठाएका छन्। मिश्रका अनुसार यस्तो अभिव्यक्तिले सत्ता अझै पूर्ण रूपमा आफ्नो नियन्त्रणमा नरहेको सन्देश दिन्छ।