शुक्रबार जारी विज्ञप्तिमा घिसिङले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहभित्रै प्रवेश गरेर नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मर्मविपरीत भएको बताएका छन् ।
काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समाचार लेखेकै आधारमा सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको धरपकड तथा प्रहरी हस्तक्षेपको निन्दा गरेका छन् । उनले प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार भएको बताएका छन् ।
शुक्रबार जारी विज्ञप्तिमा घिसिङले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहभित्रै प्रवेश गरेर नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मर्मविपरीत भएको बताएका छन् ।
‘सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु, सत्ताको निगरानी गर्नु, सत्यतथ्य उजागर गर्नु र जनतालाई सुसूचित गर्नु पत्रकारिताको धर्म हो, अपराध होइन,’ उनले भनेका छन् । उनले आलोचनालाई शत्रु ठान्ने, असहमतिलाई निषेध गर्ने र प्रश्न उठाउने आवाज दबाउने प्रवृत्तिले लोकतन्त्रलाई बलियो नबनाउने उल्लेख गरेका छन् । ‘सरकार जतिसुकै शक्तिशाली भए पनि संविधानभन्दा माथि हुन सक्दैन । बहुमतले शासन गर्ने अधिकार दिन्छ, नागरिकका मौलिक अधिकार कुण्ठित गर्ने छुट दिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
घिसिङले प्रेस स्वतन्त्रतामाथिका सबै प्रकारका हस्तक्षेप, धरपकड र दमन तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् । पक्राउ परेका पत्रकारहरूको कानुनी अवस्था सार्वजनिक गर्न, उनीहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न र स्वतन्त्र पत्रकारिताका लागि सुरक्षित वातावरण निर्माण गर्न पनि उनले आग्रह गरेका छन् ।
गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।