नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने - 'गिरफ्तार पत्रकारको बिनाशर्त रिहाइको माग गर्दै सञ्चारमाध्यम माथिको राज्य आतंक बन्द गर्न खबरदारी गर्दछौं ।'
काठमाडौँ — सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको विषयमा नेपाली कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले स्वतन्त्र पत्रकारितामाथिको राज्य आतंक बन्द गर्न माग गरेका छन् ।
नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणप सुवेदीलाई नियन्त्रणमा लिइएको छ भने नयाँ पत्रिका लगायतका सञ्चारगृहमा शुक्रबार साँझ सादा पोसाकका प्रहरी प्रवेश गरेका थिए ।
नेकपाका प्रमुख सचेतक दुलालले राज्य पक्षबाट भएको यो गतिविधिको विरोध गरेका छन् । 'नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई समाचार लेखेकै आधारमा कार्यकक्षबाट गरिएको पक्राउ र पत्रिकाका कार्यालयहरूमा सादा पोसाकमा गरिएको प्रहरीको छापा निन्दनीय छ । स्वतन्त्र पत्रकारितामाथिको यो राज्य आतंक तत्काल बन्द गरियोस्,' दुलालले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, 'सरकार र अन्य सराकारी निकायका उच्च पदस्थका काला कर्तूत बाहिर ल्याएका कारण यो राज्य-आतंक सिर्जना गरिएकोमा नेपाली नागरिकमा कुनै भ्रम छैन ।'
प्रहरी नियन्त्रणमा रहेका पत्रकारलाई तत्काल रिहाइ गर्न प्रमुख सचेतक दुलालले माग गरेका छन् । 'गिरफ्तार पत्रकारको बिनाशर्त रिहाइको माग गर्दै सञ्चारमाध्यम माथिको राज्य-आतंक बन्द गर्न खबरदारी गर्दछौं,' उनले भनेका छन् ।
स्वतन्त्र, निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्दा सरकारको रवैयाबाट विचलित नहुन पनि सञ्चार क्षेत्रलाई प्रमुख सचेतक दुलालले आग्रह गरेका छन् ।
सरकारको यो रवैयाबाट किन्चित बिचलित नभइ उच्च मनोवलकासाथ स्वतन्त्र, निस्पक्ष र तथ्यपरक समाचार प्रशारण गर्दै अघि बढ्न आमसन्चार माध्यमलाई आग्रह गर्दछौं ।