सवारी साधनको दर्ता तथा नामसारी प्रक्रियामा सेवाग्राहीले भोग्दै आएको झन्झट कम गर्ने उद्देश्यले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि दर्ता, नामसारी तथा बीमा र बीमा नवीकरणसम्बन्धी काम गर्न सकिनेछ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले सवारी साधन खरिदबिक्रीसँग सम्बन्धित प्रशासनिक प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि सवारी धनी स्वयं कार्यालयमा उपस्थित हुनुपर्ने अवस्थाले समय र प्रक्रियागत झन्झट बढाउने गरेकोमा संशोधनपछि प्रतिनिधिमार्फत सेवा लिन सकिने भएको हो।
नयाँ व्यवस्थाअनुसार सवारी खरिदकर्ताले वारेसनामा दिएर तोकेको व्यक्तिमार्फत सवारी दर्ता तथा नामसारीको काम गर्न सक्नेछन्। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, सवारी खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्नेछ।
त्यस्तै, सवारी साधन डिलरबाट जाँच भइसकेको अवस्थामा पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन। डिलरबाट गरिएको जाँचलाई नै अन्तिम मान्यता दिने व्यवस्था गरिएको छ। यसले सवारी खरिद गरेपछि दर्ता प्रक्रियामा लाग्ने अतिरिक्त समय र झन्झट घटाउने अपेक्षा गरिएको छ।
सवारी साधन नामसारीका क्रममा आवश्यक बायोमेट्रिक विवरण लिन सकिने व्यवस्था पनि संशोधित निर्देशिकामा समेटिएको छ। यसका लागि यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ।