निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए ।
पाल्पा — तानसेन नगरपालिका–९ का किसान बुद्धिराज बस्यालको धानखेत बाढीले पूरै डुबायो । अघिल्लो वर्ष धान स्याहारिसकेपछि पानी परेको थियो । यसपटक धानको बाला लाग्ने बेलामा ठूलो पानी परेर माडीफाँट नै डुबानमा पर्दा आफ्नो खेतसमेत डुबेको बस्यालले बताए । उनका अनुसार खेतमा लगाएको सबै धान बाढीले डुबायो । अहिले धान स्याहार्दा टाउको समाउनुपरेको छ । ‘थ्रेसर लगाउँदा धुलो उडेर वायु प्रदूषण नै बढाउने अवस्था आएको छ,’ उनले भने, ‘माटोले पुरेको भएर धान र परालबाट उडेको धुलोले आकाश नै धुलाम्मे बनाएको छ ।’
तानसेन नगरपालिका–९ कै चिन्तामणि पंगेनीको पनि अवस्था उस्तै छ । यसपटक ३० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएको उनले बताए । गत असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षाले पाल्पाको अन्नको भण्डार माडीफाँटका किसानको धानबाली डुबानमा परेको उनले बताए । फूल खेल्न लागेका, पाक्न लागेका र कतिपयको काट्ने तयारी गरेका धान डुबाएपछि फूल झरेको थियो । पाक्न लागेको धान डुबानमा पर्दा उत्पादनमा कमी आएको पंगेनीले बताए ।
निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए । कृषि ज्ञान केन्द्र, स्थानीय तहलगायतले डुबानमा परेको धानबालीको अनुगमन गरेर क्षतिको विवरण संकलन गरेका थिए । माडीफाँटमा तानसेन नगरपालिका, बगनासकाली, माथागढी र रम्भा गाउँपालिकाका किसानको खेत रहेको छ । यहाँ खोलाले खेत पुरेको छ । खेत नै बगरमा परिणत गरेको छ ।
अविरल वर्षा र बाढीपहिरोले धानबालीमा ठूलो क्षति पुर्याएको एक महिनापछि बल्ल कृषि ज्ञान केन्द्र पाल्पाले क्षतिको विवरण सार्वजनिक गरेको छ । स्थानीय तहले भने कुनै निर्णय सार्वजनिक गरेका छैनन् । धान पाकेर भित्र्याउने समयमा आएको बाढी र हावाहुरीले किसानको बालीमा क्षति पुर्याए पनि प्रभावित किसानले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । ‘किसानको खेत बगरमा परिणत भएको छ,’ रुप्से घर भएर माडीफाँटमा खेत भएका रामचन्द्र नेपालले भने, ‘क्षति भएको छ तर राहत कहिले आउने हो वा होइन, थाहा छैन ।’
कृषि ज्ञान केन्द्रले तयार पारेको विवरणअनुसार गत असोज दोस्रो साता परेको अविरल वर्षा, बाढीपहिरो र हावाहुरीका कारण जिल्लामा ९० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ । धानबालीमा मात्रै १ करोड ४३ लाख रुपैयाँ बराबरको नोक्सानी भएको केन्द्रकी प्रमुख अमिता पाण्डेयले बताइन् । धानबाहेक तरकारी, सुन्तला, कोदो, टमाटर, फापर र मकैबालीमा समेत क्षति पुगेको छ । यी सबै बालीमा गरी ९७ दशमलव ४५ हेक्टर क्षेत्रफल प्रभावित भएको उनले बताइन् । जिल्लामा कुल १ करोड ७१ लाख १ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण रहेको प्रमुख पाण्डेयले बताइन् ।
सबैभन्दा बढी क्षति धानबालीमा भएको छ । किसानले वर्षभरि मेहनत गरेर उत्पादन गरेको धान पाक्ने र भित्र्याउने समयमा वर्षा र बाढीले खेतमै क्षति पुर्याएको कसेनीका मानबहादुर रानाले बताए । कतिपय स्थानमा धान ढलेको, डुबेको तथा बाढीपहिरोले बगाएको उनले बताए । बालीमा क्षति पुगेको लामो समय बितिसक्दा पनि प्रभावित किसानले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । क्षतिको विवरण संकलन र सार्वजनिक गर्नै एक महिना लागेको भन्दै किसानले राहत वितरणमा समेत ढिलाइ हुने चिन्ता गरेका छन् । बाढीबाट प्रभावित किसानले कहिले र कुन प्रक्रियाबाट राहत पाउने भन्ने स्पष्ट नभएको उनले बताइन् । उत्पादन भित्र्याउने बेलामै बाली गुमाएका किसानलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेश कुमार अर्यालले बताए ।
माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।