नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको वितरण प्रणाली नियमित बनेको दाबी गरेको छ। सङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै उपभोक्तासम्म ग्यास सहज रूपमा पुर्याउने प्रक्रिया पुनः सञ्चालनमा आएको जनाएको हो।
सङ्घले उपभोक्ता तथा सरोकारवालालाई आफू नजिकको आधिकारिक विक्रेताकहाँ गएर नियमित रूपमा ग्यास खरिद गर्न आग्रह गरेको छ।
यसअघि उपभोक्तालाई सहज बनाउन असोज २५ गतेदेखि असोज ३० गतेसम्म विभिन्न ब्रान्डका ग्यास सिलिन्डर एकअर्कासँग साटेर बिक्री गर्न सकिने व्यवस्था गरिएको थियो। उक्त व्यवस्थाअनुसार उपभोक्ताले आफूले प्रयोग गरिरहेको ब्रान्डभन्दा फरक ब्रान्डको भरिएको सिलिन्डरसमेत खरिद गर्न सक्ने व्यवस्था मिलाइएको थियो । तर, बिहीबार र शुक्रबारदेखि विक्रेतामार्फत नियमित रूपमा ग्यास वितरण गर्नुपर्ने भएकाले संयुक्त बिक्री व्यवस्था असोज २८ गते बुधबारसम्म मात्र कायम रहने सङ्घले जनाएको छ।
सङ्घले आपूर्ति सहज बनेको दाबी गरे पनि उपभोक्ताले भने ग्यास खरिदमा अझै कठिनाइ भोगिरहेको अवस्था छ। आपूर्ति नियमित भएको दाबी र उपभोक्ताले प्रत्यक्ष रूपमा अनुभव गरिरहेको अवस्थाबीचको अन्तरले वितरण प्रणाली पूर्ण रूपमा सहज भइसकेको छ वा छैन भन्ने प्रश्नसमेत उठाएको छ।