अर्णव चक्रवातको प्रभावका कारण धनकुटासहित कोशी प्रदेशका पहाडी जिल्लामा वर्षा हुने क्रम र परिमाण बढेको छ। बिहीबार बिहानदेखि सिमसिम पानी पर्न सुरु भएको धनकुटामा शुक्रबार वर्षा थप बढेको हो।
धनकुटा — अर्णव चक्रवातको प्रभावका कारण धनकुटासहित कोशी प्रदेशका पहाडी जिल्लामा वर्षा हुने क्रम र परिमाण बढेको छ। बिहीबार बिहानदेखि सिमसिम पानी पर्न सुरु भएको धनकुटामा शुक्रबार वर्षा थप बढेको हो।
विगत २४ घण्टादेखि निरन्तर वर्षा भइरहेको र हावाहुरी तथा चट्याङसहित वर्षा थप तीव्र हुन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले टाढाको यात्रा नगर्न तथा खेतबारीको काम, घाँसदाउरा र हाटबजार जाँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिए। जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालयबाट जारी हुने मौसमसम्बन्धी पूर्वसूचना पालना गर्न पनि प्रशासनले सचेत गराएको छ।
सम्भावित हावाहुरी, चट्याङ, बाढी र पहिरोका कारण उद्धार तथा प्रतिकार्य गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सबै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै, तमोर करिडोर, भेडेटार–रवि–राँके–धनकुटा–धरान सडक, मध्यपहाडी लोकमार्ग तथा जिल्लाका भित्री सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन सवारी चालक, यातायात व्यवसायी र यात्रुलाई प्रशासनले आग्रह गरेको छ।
विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।